नेपाल र भारतका पत्रकारबीच आइतबार बिहान मैत्रीपूर्ण क्रिकेट


भैरहवा–दुई मुलुकबीच सञ्चारका माध्यामबाट सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आइतबार बिहान भैरहवाको सिद्धार्थ रंगशालामा नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । लुम्बिनी प्रेस क्लवले शनिवार बिहान पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।
लुम्बिनी प्रेस क्लवको आयोजना र रुपन्देहीको क्रिकेट संघको सह आयोजनामा नेपाल र भारतका सञ्चारकर्मीबीच आइतबार बिहान ७ बजेटबाट क्रिकेट खेल हुन लागेको हो । प्रतियोगितामा लुम्बिनी प्रेस क्लव र भारतको महाराजगञ्ज प्रेस क्लवबीच प्रतिस्पर्धा हुनेछ । लामो समयदेखि लुम्बिनी र महाराज प्रेस क्लवबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुँदैं आएका छन् । यसअघि महाराजगञ्ज प्रेस क्लवले खेल आयोजना गरेको थियो । भने लुम्बिनी प्रेस क्लवले दोस्रोपटक मैत्रीपूर्ण प्रतिस्पर्धा आयोजना गरेको हो ।
सिद्धार्थनगर–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना हुने दोस्रो संस्करणले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई जनस्तरमा थप मजबुत बनाउन सञ्चारकर्मीबीचको सहकार्य महत्वपूर्ण प्रवद्र्धन हुने विश्वास गरिएको छ । दुई देशका पत्रकारबीच मित्रता, भाइचारा र आपसी विश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा नेपाल र भारतका पत्रकारको सहभागिता रहनेछ । प्रतियोगितामा अतिथि तथा दर्शक गरी करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षण नेपाल र भारतका पत्रकारबीच हुने मैत्रीपूर्ण क्रिकेट खेल रहनेछ । प्रतियोगितामा उदघाटन समारोह, पुरस्कार तथा ट्रफी वितरण, पत्रकार तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम तथा नेपाल–भारत सम्बन्ध र सीमावर्ती क्षेत्रका साझा विषयमा सर्वपक्षीय अन्तरक्रिया आयोजना समेत गरिने छ ।
लुम्बिनी प्रेस क्लब र भारतको महराजगञ्ज प्रेस क्लबबीच विगतदेखि कायम रहँदै आएको मैत्रीपूर्ण तथा संस्थागत सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले दुई देशका पत्रकारबीच समाचार तथा सूचना आदानप्रदान, व्यावसायिक सहकार्य तथा सीमापार पत्रकारितालाई थप प्रभावकारी बनाउने लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले बताए । उनका अनुसार, सीमावर्ती क्षेत्रमा देखिने लागूऔषध ओसारपसार, अपराध, मानव बेचबिखन, अवैध व्यापार तथा सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीबीचको सहकार्य महत्वपूर्ण छ ।
यस प्रतियोगिताले सामाजिक सद्भाव, पर्यटन प्रवद्र्धन, व्यापारिक सम्बन्ध तथा नेपाल–भारतबीचको जनस्तरीय सम्बन्ध विस्तारमा समेत सकारात्मक योगदान पु¥याउने भारतको महराजनञ्ज प्रेस क्लवका अध्यक्ष अमित त्रिपाठीले बताए । प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख बजेट खर्च हुने आयोजक लुम्बिनी प्रेस क्लवका कार्यक्रम संयोजक भीम भण्डारीले बताए । लुम्बिनी प्रेस क्लब, नेपालले खेलकुदमार्फत नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पत्रकारबीचको सहकार्यलाई थप उचाइमा पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको हो ।
उक्त प्रतियोगिताको सहआयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले उक्त खेलले नेपाल र भारत देशको प्रतिनिधित्व हुने जनाउँदै दुवै मुलुकको क्रिकेट खेलमा नयाँ आयाम थपिने बताए ।








प्रतिकृया दिनुहोस्