सम्पादकीयः बेलहियाको दुर्दशामा कहिलेसम्म मुकदर्शक ?


भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै धेरै नागरिक मुलुक भित्रिने–बाहिरिने गर्छन् । दुई दशक भन्दा लामो समयदेखि हामीले मुलुकमा सबैभन्दा धेरै कामकाजी र पर्यटक भित्रिने नाकाका रुपमा प्रचार गरिरहेका छौं । हुन पनि बेलहिया भएर नेपाल घुम्न आउनेको घुइँचो लाग्छ । चालु वर्ष बेलहिया भएर हजारौं भारतीय नागरिक नेपाल घुम्न आए । पर्यटक बाहेक खरिददारी, अध्ययन, आफन्त भेटघाट र तिर्थ यात्राका लागि दुबै मुलुक आउनेजाने हजारौं हुने गरेका छन् । यहीँ नाका भएर बुद्ध धर्मावलम्बीदेखि युरोप–अमेरिकाका नागरिक मुलुक आउने र बाहिरिने गर्छन् ।
यहीँ नाका भएर मुलुकमा आवश्यक बस्तुको आयात र यहाँ उत्पादन भएका बस्तुको निर्यात गरिन्छ । बन्द व्यापारका लागि मुलुकका ठूला नाका मध्येको हो । रुपन्देही लगायत जिल्लामा रहेका उद्योग–कारखानाका लागि आवश्यक कर्चा पदार्थ पनि यहीँ नाकाबाट भित्र्याउने गरिन्छ । फेरि यो अहिले चम्किएको नाका होइन । परम्परादेखि भारत आउ–जाउ गर्ने प्रमुख नाका हो । यहीँ नाका भएर कति राज नेताले ओहोरदोहोर गरे होलान् । कलाकार–सेलिब्रेटीदेखि खेलाडी पनि आउजाउ गरे ।
उहिले पहाडबाट लाहुर जानेहरु यही नाका भएर नौतनवा पुगेर रेल चढे । भारतीय सैनिकमा भर्ति हुन गए । शिक्षा–दिक्षा, रोजी–रोटी, चेलिबेटीका लागि पनि यहीँ नाका प्रयोग भइरहेको छ । यस नाकाको महत्व थाहा नहुने कमैं छन् । यहाँबाट एक रातको बस र रेल यात्रामा भारतको राजधानी नयाँ दिल्ली पुगिन्छ । भारतका विभिन्न प्रान्त पुग्नका लागि रेल सेवा उपलब्ध हुने गोरखपुर रेल–वे स्टेशन बेलहियाबाट दुई–तीन घण्टाको दूरीमा छन् । गोरखपुरमा रहेको हवाई अड्डासम्म जहाजमा आउने पनि गोरखपुरबाट गाडीमा बेलहिया आइपुग्छन् । समग्रमा बेलहिया नेपालको राजश्व र पर्यटन क्षेत्रमा योगदान पुर्याउने नाका हो । बेलहिया हुँदैं भित्रिने पर्यटक बसालेर यहाँका होटल व्यवसायीले कमाइरहेका छन् ।
अन्तर्राष्ट्रिय नाकाको सहर भनेर पालिकाले पनि घमण्ड गर्न पाइरहेका छन् । धेरै गाडी मोटर ओहोरदोहोर गर्ने नाका भएकाले प्रहरी–प्रशासन पनि व्यस्त छन् । भन्सार राजश्व संकलन भइरहेको छ । यति महत्वपूर्ण नाकाको दुर्दशाबारे पनि धेरैजना विज्ञ नै छन् । अझ बेलहिया पुग्ने जो कोहीले समस्या झेलिनै रहेका छन् । बेलहिया नाकाको यस्तो दुर्दशा भएको धेरै भयो । जति नाकाको दुर्दशा भयो, त्यति स्थानीय, प्रदेश र संघीय सरकार मुकदर्शक बनिरहेका छन् । स्थानीय बासिन्दाले बेलहिया नाका व्यवस्थापनका लागि जति हारगुहार गरे पनि सुन्ने कोही होइनन् ।
एकछिन समस्या सुनेर बिर्सिने चाहिँ धेरै छन् । यो नाका अव्यवस्थित मात्र होइन, उपेक्षित पनि भइरहेको छ । धेरै मानिस नेपाल प्रवेश गर्ने नाका हो । तर, कोही पनि बिदेशी नागरिक मुलुक प्रवेश गर्ने वित्तिकैं नाक थुन्नु पर्ने अवस्था पक्कै सुखद होइन । सुखद होइन भनेर झकझकाउन थालेको पनि धेरै भयो । तर, सुन्नेले कानमा कपास कोचेर बसेको जस्तो भान हुन्छ ।
सर्वाधिक प्रयोग हुने र भारतसँगको व्यापारमा पहिलो ठूलो हिस्सा ओगट्ने यो अन्तर्राष्ट्रिय प्रवेशद्वार सरकारी निकायको उदासिनताका कारण कुरुप बनेको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भित्रिने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा पर्ने यो नाकामा अहिले जताततै फोहोर, खुला नाला, दुर्गन्ध, धुलो, धुवाँ र ध्वनी प्रदूषणको साम्राज्य छ ।
नेपाल प्रवेश गर्नेबित्तिकै पर्यटकले आकर्षक पूर्वाधारको साटो अव्यवस्थित पार्किङ र सडक अतिक्रमण गरेर राखिएका ठेलागाडा, यात्रु तानातान देख्नुपर्ने बाध्यता छ । पर्यटन सूचना केन्द्रका अनुसार गएको अप्रिल महिनामा मात्र यो नाकाबाट ४ हजार ७ सय ६१ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जसमा म्यानमारका २ हजार १ सय १२ र श्रीलङ्काका १ हजार ६९ जना पर्यटक छन् । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउने यी पर्यटकले नाका छिर्नेबित्तिकै सास्ती र कुरुप वातावरण झेल्नुपर्दा देशको अन्तर्राष्ट्रिय छविमाथि नै नकारात्मक असर परिरहेको छ ।
बेलहिया नाकाको सौन्दर्यीकरण र व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले बर्षेनि प्राथमिकतामा राख्ने गरेको बताउने गर्छन् । तर उनीहरुका के–कस्ता कार्यक्रम लागू भएका छन् ? नाकामा सधै देखिने बिद्यमान बेतिथिले प्रश्न सोध्ने गर्छ । बेलाबेलामा विभिन्न सङ्घ–संस्थाले नाकामा सरसफाइ गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरू पोष्ट हुने गरे पनि ती कार्यक्रमहरू सस्तो लोकप्रियता कमाउने माध्यम मात्र बनेका छन् । यसैले तीनै तहका सरकारले नाकाको दुर्दशा सुधार गरी व्यवस्थित, सफा र पर्यटनमैत्री बनाउन जरुरी देखिन्छ । मुलुकलाई दोस्रो स्थानमा रहेर भैरहवा भन्सारले राजस्व दिइरहेको छ । लाखौं भारतीय भित्रिएकै कारण पर्यटन लगायत समग्र क्षेत्र लाभान्वित छ । तर, न निजी क्षेत्र कस्सिएर नाका व्यवस्थापनमा लाग्छ, न सरकार नै । यसैले अब व्यवस्थापनमा ढिलाई नगरौं ।








प्रतिकृया दिनुहोस्