July 9, 2026, Thursday
२०८३ असार २५ बिहीबार

लुम्बिनी र बनारस जोडेर पर्यटन प्रवर्द्धन गर्न पाँच बुँदे सम्झौता

Advertisement

लुम्बिनी–बुद्ध जन्मस्थल लुम्बिनी र भारतको बनारसलाई जोडेर एकीकृत रुपमा पर्यटन प्रवर्द्धनका लागि पाँच बुँदे सहमती गरिएको छ । विश्वस्तरीय गन्तव्य भएरपनि ओझेलमा परेको लुम्बिनीको प्रवर्द्धनका लागि आयोजित तीन दिने ट्राभल मार्टका क्रममा यस्तो सम्झौंता गरिएको हो ।

Advertisement

लुम्बिनी होटल व्यवसायी र बनारसका ट्राभल्स तथा टुर अपरेटर कम्पनीका प्रतिनिधिबीच मंगलबार राति दुई पक्षीय सम्झौंतामा हस्ताक्षर भएको हो । पछिल्लो समय भारतबाट नेपाल भ्रमणका लागि दैनिक सयौं नागरिक आएपनि उनीहरुको यात्रा सहजीकरणका लागि यस्तो सम्झौंता भएको पहिलोपटक हो । दुबै गन्तव्यका प्रतिनिधिले लुम्बिनीलाई आध्यात्मिक र बनारसलाई सांस्कृतिक गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने सहमती गरेका हुन् ।

सम्झौंतामा लुम्बिनीमा भारतीय पर्यटकको बसाइँ लम्ब्याउने कुरालाई जोड दिइएको छ । नेपाल भ्रमणमा आउने भारतीयलाई कम्तिमा एक रात भएपनि बसाउन पहल गर्न दुबै पक्ष सहमत भएका छन् । साथैं नेपालतर्फको कालीदह र भारतको कक्रहवा बजारलाई फ्रन्डेशिप सहर बनाउने सहमती पनि भएको छ । यसका साथैं दुबै गन्तव्यका व्यवसायबीच थप प्याकेज कार्यक्रम तयार गरेर अगाडि सहमति भएको छ ।

लुम्बिनी होटल संघकी महासचिव टिका कट्टेलका अनुसार दुबै गन्तव्यबीच सडक सन्जाल सुढृढ गर्ने विषयलाई जोडतोडले उठाउने सहमती भएको छ । दुबै मुलुकका गन्तव्यबीच यातायात कनेक्टिभिटी विकासका लागि पहल गर्ने, दुबै मुलुकका संचारकर्मी, कन्टेन्ट क्रियटर र ट्राभल एण्ड टुर अपरेटर र होटल व्यवसायले एक अर्काको अनुभव आदानप्रदानका लागि भ्रमण गर्ने सहमती गरिएको उनले बताइन ।

उनका अनुसार सम्झौंतामा लुम्बिनी होटल संघ अध्यक्ष लिलामणी शर्मा र बनारस टुरिजम गिल्डका अध्यक्ष सुभाष कपुरले हस्ताक्षर गरेका छन् । सोमबार सुरु भएको कार्यक्रम बुधबार सकिएको हो । कार्यक्रममा लुम्बिनी क्षेत्रमा रहेको होटल र ट्राभल एण्ड टुर कम्पनीले स्टल राखेर आफुले दिने सेवा सुविधा र आफ्ना होटल प्याकेजबारे जानकारी दिएका थिए ।