घट्न थाले सामान किनमेल गर्न रुपैडिहा जाने नेपाली उपभोक्ता


नेपालगन्ज–भारतबाट सामान आयात गर्दा भन्सार महसुल लाग्ने नियमलाई नेपाल सरकारले कडाइ गरेपछि किनमेलका लागि नेपालगन्जको जमुनाह हुँदै सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने नेपाली उपभोक्ताको सँख्यामा एक्कासी कमी आएको छ ।
सरकारले भारतबाट ५ सय रुपैयाँ भन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई काडाइका साथ कार्यान्वयन गर्न लागेपछि सामान किनमेल सिमावर्ती भारतको रुपैडिहा जाने नेपाली घट्न थालेका हुन् । जसका कारण नेपालगन्जको जमुनाहा नाका र त्यसका सहायक नाकाहरू आजभोली सुनसान देखिन थालेका छन् ।
नेपालगन्जका स्थानीय व्यवसायीले पछिल्लो समयमा रुपैडिहा जाने नेपाली उपभोक्ताको संख्या ८० प्रतिशतले घट्न थालेको अनुमान गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार यसअघि १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्ने नियमको विरोध भएपछि त्यसलाई परिमार्जन गरी ५ सय रुपैयाँ बनाइएको थियो ।
उक्त नियम पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै जमुनाहा नाकामा सर्वसाधारणको भीड निकै पातलिएको छ । जमुनाहा नाकामा भारततिर ओहोरदोहोर गर्ने नेपाली उपभोक्ताको बिहानदेखि साँझसम्म हुने गरेको ठुलो भीडभाड पहिलाको तुलानामा अहिले अहिले ८० प्रतिशतभन्दा बढी घटेको उनले बताए ।
रुपैडिहा व्यापार मण्डल भारतका पूर्वअध्यक्ष जुबेर फारुकीले नेपाली उपभोक्ता नआउँदा व्यापार चौपट भएपछि भारतीय व्यापारीहरूले यो नियम परिवर्तन गराउन भारतको केन्द्रीय सरकारसँग गुहार मागेको जनाए । उनका अनुसार, व्यापार मण्डलले भारतको केन्द्रीय अर्थ मन्त्रालय र व्यापार मन्त्रालयलाई पत्र लेख्दै नेपाल सरकारसँग समन्वय गरेर यो नियम हटाउन ध्यानाकर्षण समेत गराएको छ ।
हिजोआज नेपालगन्ज, कोहलपुर तथा आसपासका स्थानीय बजारहरूमा व्यावसायिक गतिविधि र ग्राहकहरूको चहलपहल बढेको छ । नेपालगन्ज र कोहलपुरका स्थानीय मार्ट, किराना पसल तथा कपडा पसलहरूमा ग्राहकको चहलपहल र आकर्षण बढेको छ । भारतीय बजार जाने उपभोक्ता स्वदेशी बजारमै रोकिँदा स्थानीय व्यवसायीहरूको व्यवसायमा सुधार आएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली अधिकांश सर्वसाधारणले भारतीय बजार जान छोडेर स्थानीय बजारकै प्रयोग गर्न थालेकाले नेपालगन्ज र कोहलपुरको व्यापार व्यवसायले नयाँ गति लिएको बताउँछन् । नाकामा खटिएका सुरक्षाकर्मीहरूले पनि पछिल्ला दिनमा भारतीय बजारबाट सामान लिएर आउने नेपालीहरूको सँख्या सामान्य रहेको जनाएका छन् ।








प्रतिकृया दिनुहोस्