July 7, 2026, Tuesday
२०८३ असार २३ मंगलवार

देशकै प्रमुख नाका बेलहियाको दुर्दशा

Advertisement

भैरहवा– आन्तरिक तथा विदेशी पर्यटकको आवागमन र वैदेशिक व्यापारका दृष्टिले मुलुककै प्रमुख तथा रणनीतिक महत्व बोकेको भैरहवा–बेलहिया नाका लामो समयदेखि अव्यवस्थित र उपेक्षित बन्दै गएको छ ।

Advertisement

स्थलमार्ग हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि सर्वाधिक प्रयोग हुने र भारतसँगको व्यापारमा पहिलो ठूलो हिस्सा ओगट्ने यो अन्तर्राष्ट्रिय प्रवेशद्वार सरकारी निकायको उदासीनताका कारण कुरुप बनेको छ ।

दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भित्रिने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा पर्ने यो नाकामा अहिले जताततै फोहोर, खुला नाला, दुर्गन्ध, धुलो, धुँवा र ध्वनी प्रदूषणको साम्राज्य छ । नेपाल प्रवेश गर्नेबित्तिकै पर्यटकले आकर्षक पूर्वाधारको साटो अव्यवस्थित पार्किङ र सडक अतिक्रमण गरेर राखिएका ठेलागाडा, यात्रु तानातान देख्नुपर्ने बाध्यता छ ।

पर्यटन सूचना केन्द्रका अनुसार गएको अप्रिल महिनामा मात्र यो नाकाबाट ४ हजार ७ सय ६१ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जसमा म्यानमारका २ हजार १ सय १२ र श्रीलङ्काका १ हजार ६९ जना पर्यटक छन् । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउने यी पर्यटकले नाका छिर्नेबित्तिकै सास्ती र कुरुप वातावरण झेल्नुपर्दा देशको अन्तर्राष्ट्रिय छविमाथि नै नकारात्मक असर परिरहेको छ ।

बेलहिया नाकाको सौन्दर्यीकरण र व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले वर्षेनि प्राथमिकतामा राख्ने गरेको बताउने गर्छन् । तर उनीहरुका के–कस्ता कार्यक्रम लागू भएका छन् ? नाकामा सधै देखिने बिद्यमान बेतिथिले प्रश्न सोध्ने गर्छ । बेलाबेलामा विभिन्न संघ–संस्थाले नाकामा सरसफाई गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरू पोष्ट हुने गरे पनि ती कार्यक्रमहरू सस्तो लोकप्रियता कमाउने माध्यम मात्र बनेका छन् ।

यहाँ मन्त्री, नेता, सांसददेखि सञ्चारकर्मी ऋषि धमलाको ‘हमला’ सम्मका कार्यक्रम सीमा व्यवस्थापनकै बिषयलाई केन्द्रित रहेर भए । तर, ती सबै कार्यक्रमको उपलब्धि नदेखिएको स्थानीय बताउँछन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान यही नाका नजिक र वडाका हुन् । तर, नाकालाई राम्ररी व्यवस्थापन गर्ने खालका योजना तथा कार्यक्रम उनको पनि देखिँदैन । न त वडा तहकै पहलकदमी ।

बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माका अनुसार स्थानीय स्तरबाट नियमित सरसफाई, पार्किङ व्यवस्थापन र हरियाली प्रवर्द्धनका लागि प्रयास भइरहे पनि नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा समस्या विकराल बनेको हो ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले नाकामा पर्यटकको झोला तान्ने र दुःख दिने प्रवृत्ति अझै नहटेको बताए । ‘यही अव्यवस्था र दुर्गन्धका कारण एक पटक आएको पर्यटक अर्को पटक यो नाका छाडेर कृष्णनगर वा नेपालगञ्ज नाका प्रयोग गर्न थालेका छन्’, अधिकारीले भने ।

पूर्वाधार मात्र होइन, प्रशासनिक प्रक्रिया पनि उत्तिकै झन्झटिलो छ । भारतबाट आफ्ना चार जना साथीहरूसँग बाइकमा अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शनका लागि आएका कैलाश जैसवालले सीमामा रुटपर्मिट लिन मात्रै दुई घण्टा कुर्नुपरेको गुनासो गरे । विगतमा २० मिनेटमा हुने काम अहिले दुई घण्टा लाग्नुले यहाँको फितलो व्यवस्थापनलाई स्पष्ट पार्ने गर्छ ।

बेलहिया नाकाबाट करिब एक किलोमिटरको दूरीमा रहेको डण्डा खोलाको पुल नजिक पर्यटकलाई स्वागत गर्न निर्माण गरिएको आकर्षक प्रवेशद्वार (गेट) समेत अहिले जीर्ण बनेको छ । उचित संरक्षण र मर्मत–सम्भारको अभावमा यसको रङ उडेको छ । पर्यटकलाई पहिलो हेराइमै सकारात्मक सन्देश दिने उद्देश्यले बनाइएको गेट अहिले आफैँमा राज्यको उपेक्षा सिकार बनेको हो ।

मुलुकको दोस्रो ठूलो अन्तर्राष्ट्रिय स्थलनाकाको यो हविगतले हाम्रो पर्यटन प्रवर्द्धनको नारालाई गिज्याइरहेको आभाष हुन्छ । बेलहिया नाकालाई तत्काल स्वच्छ, सुन्दर र प्रविधिमैत्री बनाउन तीनै तहका सरकारले ‘देखावटी’ कार्यक्रम भन्दा माथि उठेर दिगो गुरुयोजना सहितको कार्यक्रम लागू गर्न जरुरी रहेको स्थानीय व्यवसायी बताउँछन् ।

रुपन्देही–५ का प्रतिनिधि सभा सदस्य तौफिक अहमद खानले गत हप्ता संसदमै नाका व्यवस्थान राम्रो नभएको गुनासो गरेका थिए । हजारौं पर्यटक भित्रिने नाका व्यवस्थापनमा राज्यले तत्काल ध्यान दिनुपर्ने उनको माग थियो । खान बेलहिया निवासी नै हुन् ।

बेलहिया नाका व्यवस्थापनका लागि ट्राफिक व्यवस्थापन, मालवाहक सवारी सडक पार्किङ, अव्यवस्थित सडक, सिमा मिचिएको विषयमा बेलहिया गाँउ समाजले चिन्ता व्यक्त गरेको छ ।