July 1, 2026, Wednesday
२०८३ असार १७ बुधबार

भीम अस्पतालमा चिकित्सकको कमीले बिरामी समस्यामा

Advertisement

भैरहवा– दरबन्दीमा रहेर सेवा दिँदै आएका चिकित्सकको सरुवा हुने र करारमा रहेका चिकित्सकले राजीनामा दिन थालेपछि भैरहवास्थित भीम अस्पतालमा चिकित्सकको अभाव हुन थालेको छ । बिभिन्न बिशेषज्ञ सेवासहितको चिकित्सकिय उपचार दिँदै आएको अस्पतालमा चिकित्सकको अभावले उपचारका लागि आउने बिरामी प्रभावित हुन थालेका छन् ।

Advertisement

जिल्ला अस्पतालसमेत रहेको यहाँ पछिल्लो समयमा छाला रोग र सर्जनबिहीन अवस्थामा छ । महिनौं दिनदेखि सर्जन नहुनुले अस्पतालमा सामान्य चिरफारका उपचार समेत हुन सकेको छैन । छाला रोगको उपचार र सामान्य सर्जरीका लागि विरामीलाई अन्यत्र रिफर गर्ने गरिएको छ । बिरामीले निजी अस्पताल वा क्लिनिकमा पुगेर महँगो शुल्क तिर्नुपर्छ ।

अस्पतालकी मेडिकल सुपररिटेन्डेन्ट डा.वर्षा थापाले बिरामीको अनुपातमा चिकित्सकको संख्या कम भएकाले उपचार सेवामा केही असहजता भएको बताउँछिन् । अस्पतालमा खाली रहेका चिकित्सकको पदपूर्तीका लागि चैतमैं मन्त्रालय र विभागमा जानकारी सहित पत्राचार गरिएकोमा बिभागले उपलब्ध गराउन नसकेको उनले जनाइन् । ‘दरबन्दी बाहेक अस्पतालले करारमा राख्नका लागि आवश्यक चिकित्सकको खोजी गर्दा चिकित्सक उपलब्ध हुन सकेका छैनन्’, थापाले भनिन् ।

अल्ट्रासाउण्ड गर्नकालागि पनि भीम अस्पतालमा रेडियोलोजिष्टको कमीले उस्तै समस्या छ । यस अघि दुईजना रोडियोलोजिस्टलाई अल्ट्रासाउण्ड र सिटी स्क्यान गर्न भ्याइनभ्याइ हुने गरेकोमा हाल एकजनामात्र रेडियोलोजिष्ट उलब्ध रहेकाले अल्ट्रासाउण्ड गर्न आउने बिरामीको चापलाई अस्पतालले थेग्न सक्ने अवस्थामा छैन ।

रेडियोलोजिष्ट त्रिलोचन पन्थीले झण्डै तीन महिना अघि राजीनामा दिएपछि अहिले एकजनामात्रै रेडियोलोजिष्ट खुर्सीद अलम खान कार्यरत छन् । अल्ट्रासाउण्ड गर्ने बिरामीको चाप दैनिक बढ्दै जान थालेपछि अल्ट्रासाउण्ड गर्ने बिरामी संख्यालाई दैनिक ३५ जनाको कोटामा झारिएको छ । अल्ट्रासाउण्ड गर्न बिरामीले केही दिन पालो पर्खेर बस्नुपर्छ ।

उपलब्ध रहेका एकमात्र रेडियोलोजिष्ट खानले पनि केही दिन अघि राजीनामा पेस गरिसकेका छन् । उनको राजीनामा स्वीकृत भएमा वा उनी नआएमा भीम अस्पताल अल्ट्रासाउण्ड र सिटी स्क्यानबाट पनि सेवा बिहीन अवस्थामा पुग्ने छ । अल्ट्रासाउण्ड गर्नका लागि बिहानैदेखि बिरामीको भिड लाग्ने गर्छ । दुई–तीन दिनदेखि पालो नपाएका बिरामी भेटिन्छन् । दैनिक ३५ जनासम्मको अल्ट्रासाउण्डको कोटामा आपतकालीन अवस्थाका बिरामीलाई प्राथमिकता दिने गरिएको छ ।

कपिलबस्तुको तौलिहवास्थित आनन्दबागबाट उपचारका लागि श्रीमतीसहित आएका कृष्णबहादुर चौधरी एक हप्तासम्म भीम अस्पतालमा धाउँदा पनि श्रीमतीको अल्ट्रासाउण्ड गर्न नसकेको बताए । ‘पत्थरीको बिरामी श्रीमतीको अल्ट्रासाउण्ड गर्न दैनिक ३५ वटा अल्ट्रासाउण्ड गर्ने कोटामा केही दिनसम्म पनि पर्न नसकेपछि बिना उपचार घर फर्किएँ’, चौधरीले भने ।

अस्पतालमा काम गरे अनुरुपको सेवा सुविधा र भत्ता उपलब्ध गराएर चिकित्सकलाई काममा प्रेरित गर्ने बातावरण नभएको एक चिकित्सकले बताए । ती चिकित्सकका अनुसार, बिगत एक बर्षदेखि अस्पतालाका नर्स तथा प्यारामेडिक्सले रात्री भत्ता पाएका छैनन् ।

अस्पताल विकास समितका अध्यक्ष डा.अनन्त शर्मा खाली रहेको चिकित्सकको स्थानमा पदपूर्ती करारमा राख्न चिकित्सक नपाइएको र यस वारेमा प्रदेश मन्त्रालयमा जानकारी गराइएको बताए । ‘चिकित्सकलाई सेवा सुविधा कम भएको यतार्थ हो’, उनले भने, ‘सेवा सुविधा थप्नकाम लागि मन्त्रालयबाट स्वीकृत लिनु पर्ने प्रावधान भएकाले यसका लागि लागेको छु ।’

न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमैं दोस्रो स्थानमा परेको यो अस्पतालमा उपचारका लागि इमर्जेन्सी बाहेक दैनिक सरदर ६ सय जना बिरामी आउने गर्छन् । बिरामीले निःशुल्क पाउनु पर्ने सिटामोल औषधि समेत गत असोज महिनादेखि उपलब्ध छैन ।