मानव बेचबिखनको जोखिम बढ्दो, शुभ अवसर ग्राम नेपालद्वारा एक वर्षमा ७४२ जनाको उद्धार


भैरहवा–मानव बेचबिखन बिरुद्ध कार्यरत सँस्था शुभ अवसर ग्राम नेपाल, भैरहवा शाखाले गत आर्थिक वर्ष २०८२–८३ मा बेचबिखनमा परेका तथा जोखिममा रहेका ७४२ जनाको उद्धार गरेको छ ।
उद्धार गरिएकामध्ये ५५७ जना भारतका विभिन्न स्थानबाट स्वदेश फर्काइएका हुन् । बेचबिखन, शारीरिक श्रम शोषण, ठगी तथा अलपत्र अवस्थामा रहेका उनीहरूलाई शुभ अवसर ग्राम नेपालको भारतस्थित साझेदार संस्था किन इन्डिया, नेपाली राजदूतावास तथा भारतीय प्रहरीको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको शाखाले जनाएको छ ।
शाखाले आर्थिक वर्ष २०८२–८३ मा मानव बेचबिखनविरुद्ध २० वटा अभियान तथा कार्यक्रम सञ्चालन गरेको छ। वार्षिक कार्यक्रमको समीक्षा गर्दै शाखा प्रमुख सत्यनारायण यादवले पछिल्ला वर्षमा मानव बेचबिखन तथा जोखिममा पर्ने व्यक्तिको संख्या बढ्दै गएको बताए । ‘मानव बेचबिखनविरुद्ध सरकारी तथा गैरसरकारी क्षेत्रका गतिविधि बढेसँगै जोखिममा पर्ने र उद्धार हुनेको संख्या पनि बढेको देखिन्छ’ यादवले भने, ‘पछिल्लो समय सूचनामा पहुँच सहज हुनु र बेचबिखनविरुद्धका गतिविधि बढ्नुका कारण पनि घटना बढी पहिचान भएको हुन सक्छ ।’
तथ्यांकअनुसार शुभ अवसर ग्राम नेपाल, भैरहवा शाखाले आर्थिक वर्ष २०८१–८२ मा ३४२ जना र आर्थिक वर्ष २०८०–८१ मा २८७ जनाको उद्धार गरेको थियो ।
शाखाका अनुसार भैरहवासहित मेचीदेखि महाकालीसम्मका सीमावर्ती तथा पर्यटकीय गतिविधि बढिरहेका नेपाली सहरमा मानव बेचबिखन र शारीरिक श्रम शोषणको जोखिम बढ्दो छ ।
विशेषगरी चिया, खाजा तथा नास्ता पसलमा समेत मानव बेचबिखन र यौन शोषणका घटना हुने गरेको यादवले बताए। रोजगार, राम्रो आम्दानी तथा आकर्षक अवसरको प्रलोभन देखाएर महिला तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने घटना चुनौतीका रूपमा देखिएको उनको भनाइ छ ।
जोखिम न्यूनीकरणका लागि संस्थाले भारतको महाराजगन्ज जिल्लाका सरोकारवाला निकायसँग दुई पटक नेपाल–भारत अन्तरसीमा समन्वयात्मक बैठक गरेको थियो। त्यस्तै बिहार र कुशिनगरमा मानव बेचबिखनको अवस्थाबारे स्थलगत अध्ययन गरी केही व्यक्तिको उद्धारसमेत गरिएको संस्थाले जनाएको छ ।
उद्धार गरिएका ७४२ जनामध्ये २१३ जनालाई प्रत्यक्ष रूपमा घरमै पु¥याएर अभिभावकको जिम्मा लगाइएको छ । त्यस्तै १५६ जनालाई सुरक्षित आवास गृहमा राखेर स्वास्थ्य उपचार, शिक्षा, सीपमूलक तालिम, शैक्षिक छात्रवृत्ति तथा कानुनी सहायताजस्ता सेवा प्रदान गरिएको शाखाले जनाएको छ ।
लुम्बिनी नजिकै रुपन्देहीको कक्रहवा–कालीदह सीमा नाकामा दुई कर्मचारी परिचालन गरी सीमा निगरानी कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । नेपालबाट भारततर्फ जाने र भारतबाट नेपालतर्फ आउने महिला तथा बालबालिकामाथि निगरानी राख्दै आवश्यकताअनुसार सोधपुछ गर्ने गरिएको छ ।
बेचबिखनमा पर्न सक्ने वा जोखिममा रहेको आशंका भएमा उनीहरूलाई सुरक्षित बनाउने, साथमा रहेका व्यक्ति वा समूहबारे जानकारी लिने तथा आवश्यक परे सुरक्षित आवास गृहमा राख्ने गरिएको संस्थाले जनाएको छ । त्यसपछि आफन्तको खोजी गरी पारिवारिक पुनर्मिलन गराउने प्रक्रिया अघि बढाइन्छ ।
उद्धार गरिएकामध्ये ४१ प्रतिशत १८ वर्षमुनिका र ५१ प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहका रहेको संस्थाको तथ्यांक छ । यसले बालबालिका मात्र नभई युवा महिलासमेत बेचबिखनको उच्च जोखिममा रहेको देखाएको छ ।
संस्थाका अनुसार भारतको पटना लगायत बिहार क्षेत्रमा नेपालको कोशी र मधेश प्रदेशका महिला तथा बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका नागरिक र दिल्ली, मुम्बई, कोलकातालगायतका क्षेत्रमा मध्य नेपालको भूभागका महिला तथा बालबालिका जोखिममा पर्ने गरेको पाइएको छ ।
मानव बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्दा विभिन्न चुनौती सामना गर्नुपरेको शाखा प्रमुख यादवले बताए । उनका अनुसार पीडितको निवेदन तथा जाहेरी सहज रूपमा दर्ता नहुनेदेखि उद्धारमा खटिएका कर्मचारीमाथि कुटपिटसम्मका घटना हुने गरेका छन् । जाहेरी दर्ता भएपछि पीडितलाई मुद्दा मिलाउन दबाब दिने र पछि बयान परिवर्तन गराउन खोज्ने प्रवृत्तिसमेत चुनौतीका रूपमा रहेको उनले बताए ।
‘जाहेरी तथा निवेदन दर्ता भएपछि मिल्नुपर्छ भन्दै पीडितलाई दबाब दिएर होस्टाइल बनाउन खोजिन्छ’ यादवले भने, ‘यस्तो दबाब दिनेमा जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता तथा उच्च तहका व्यक्तिसमेत हुने गरेका छन् ।’








लेखकको सम्वन्धमा