कस्तो छ काँंग्रेस महाधिवेशन कार्यतालिका ?


नेपाली कांग्रेसले २२ दिनेमा सक्ने गरी १५ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ। कांग्रेसको निर्वाचन समितिले आगामी असोज १६–१९ का लागि निर्धारित महाधिवेशनको तल्लो तहका कार्यतालिका हेरफेर गरेको हो।
निर्वाचन समितिका संयोजक प्रेम खड्काले काठमाडौँ उपत्यका र बाहिर भदौ २ देखि १० सम्म निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिने बताए। उनका अनुसार भदौ ११ मा निर्वाचन अधिकृतलाई जिल्ला खटाउने, भदौ १५ मा वडामा निर्वाचन प्रतिनिधि पठाउने र भदौ १६–२० सम्म वडामा अभिमुखीकरण तालिम दिइने छ। भदौ मसान्तभित्र विदेशस्थित जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। भदौ २४ मा गाउँ–नगर वडा अधिवेशन, भदौ २७ मा गाउँ–नगरपालिका अधिवेशन गर्ने कार्यतालिका छ।
यस्तै भदौ ३१ मा प्रदेश निर्वाचन क्षेत्र, असोज ३ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन समितिको कार्यतालिकामा उल्लेख छ। असोज ७ मा जिल्ला, असोज १० मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशनको कार्यतालिका भने असोज १६, १७, १८ र १९ गते हुनेछ।
यसअघि कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार भदौ २ मा गाउँ–नगर वडा अधिवेशनका साथै क्षेत्रीय प्रतिनिधि चयन गर्ने भनिएको थियो। यस्तै भदौ ७ मा गाउँ–नगरपालिका अधिवेशन भदौ १७ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, भदौ २४ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका थियो। जसमा यस्तै असोज २ र ३ मा जिल्ला अधिवेशन असोज ७ र ८ मा प्रदेश अधिवेशन गरी असोज १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका थियो।
करिब ३५ दिनमा महाधिवेशन सक्ने कार्यतालिकालाई छोट्याएर कांग्रेसले २२ दिनमा झारेको छ। कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले साउन २१ मा निस्सा दिएको छ।
साउन २४ देखि भदौ १ गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन गर्न विधानको धारा ३५ (२) ‘घ’ व्यवस्था नै निलम्बन गरेको छ। विधानको उक्त धारामा लेखिएको थियो, ‘नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तीमा एक वर्षअगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमितिहरू गठन गरिने छन्। स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला निर्वाचित गरिनेछन्।’
विधानको यो व्यवस्था कायमै राखेर असोजमा १६– १९ मा महाधिवेशन गर्नु विधान विपरीत हुने भएपछि बाधा अड्काउ फुकाउको निर्णय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। गत पुसमा कांग्रेसले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वमा १५३ सदस्यीय केन्द्रीय कार्यसमिति छ। विशेष महाधिवेशनमा सहभागी नरहेका तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका गरी १९ जनालाई थापाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्थाका कारण पनि कांग्रेसले पुसभित्र १५औँ महाधिवेशन गर्नुपर्ने हुन्छ। तर, अदालतको आदेशमा उल्लेख भए अनुसार पनि असोजभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने समय चापमा आफूहरू रहेको सभापति गगन थापाले बताए। सभापति थापाले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने बताएका थिए।
‘हामीसँग अब समयको सुविधा छैन। हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले तय गरेको र अदालतले पनि भनेको समयमा बाँधिएका छौं। अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ। त्यसले पनि हामी बाँधिएका छौँ। थोरै समयमा काम गर्नुपर्नेछ,’ उनले भने।
तोकिएको समयमा जिल्ला वा क्षेत्रीय अधिवेशन गराउँदिनँ भनेर कसैले भनेमा उक्त नेताको जिम्मेवारी खोसिने सभापति थापाको चेतावनी छ। यता केन्द्रीय समिति बैठकले सभापति थापाको नेतृत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति पनि गठन गरेको छ। सभापति थापाको नेतृत्वमा रहेको व्यवस्थापन समितिमा आवश्यक सदस्य रहने जनाइएको छ। यससँगै महाविधेशनका लागि गठित मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्ने प्रवक्ता देवराज चालिसेले जनाएका छन्। उपसमितिका संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने भएको छ।
त्यस्तै, महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेस गर्ने निर्णय भएको छ। जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिइने जनाइएको छ। यससँगै ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेस गर्ने तय भएको छ। त्यस्तै प्रदेश निर्वाचन विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले पेस गर्ने भएकी छन्।
संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले पेस गर्नेछन्। कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशन प्रचारप्रसार समिति प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठन गरेको छ।








प्रतिकृया दिनुहोस्