लुम्बिनीका तराईका जिल्लामा जेइ संक्रमणको उच्च जोखिम, दाङमा एकजनाको मृत्यु


भैरहवा– लुम्बिनी प्रदेशका जिल्लाहरु जापानिज इन्सेफलाइटिस (जेइ) संक्रमणको उच्च जोखिममा छ । प्रदेशका कतिपय जिल्लाहरुमा संक्रमण फैलिसकेको छ । केही जिल्लामा यो रोगबाट मृत्यु समेत भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म देशका २२ जिल्लाका ५० स्थानीय तहमा ६३ जनामा जेइ संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ । देशभर ८ सय ७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) देखिएकामा प्रयोगशाला परीक्षणबाट ६३ जनामा जेइ पुष्टि भएको हो ।
संक्रमणबाट दाङमा एकजनाको मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेका छन् । मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा उक्त रोगको जोखिम उच्च छ । यी जिल्लामा धानखेती, सुँगुर पालन तथा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण भएकाले संक्रमणको जोखिम बढी हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर जेइका अधिकांश बिरामी १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन्, किनकि उनीहरूमा भाइरसविरुद्ध प्राकृतिक प्रतिरक्षा विकास भएको हुँदैन । नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन भएपछि बालबालिकामा संक्रमण घटेको भए पनि खोप नलगाएका बालबालिका अझै जोखिममा छन् । पछिल्ला वर्षमा भने वयस्कमा पनि संक्रमण बढ्दै गएको देखिएको छ ।
जापानिज इन्सेफलाइटिस डब्लुएचओको दक्षिण–पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रका २४ देशमा फैलिएको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, चीन, जापान, दक्षिण कोरिया, भियतनाम, लाओस, कम्बोडिया, थाइल्यान्ड, म्यानमार, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, पपुवा न्यु गिनीलगायतका देशमा यो रोग देखिन्छ । विश्वभर हरेक वर्ष करिब एक लाख क्लिनिकल संक्रमण र करिब २५ हजार मृत्यु हुने अनुमान गरिएको छ ।
नेपालमा जेइ सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलोपटक पुष्टि भएको थियो । त्यसपछि यो तराईबाट पहाड र हिमाली जिल्लासम्म फैलिएको छ । सन् २००४ देखि राष्ट्रिय निगरानी प्रणाली सुरु गरिएको र त्यसपछि खोप अभियान सञ्चालन गरिँदा संक्रमण उल्लेखनीय रूपमा घटेको थियो ।
जेइ भाइरस क्युलेक्स जातको लामखुट्टेबाट सर्छ । संक्रमित सुँगुर वा पानीमा बस्ने चराचुरुङ्गीलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा संक्रमण फैलिन्छ । मानिसबाट मानिसमा भने यो रोग सर्दैन । धानबारी, दलदली क्षेत्र र सुँगुर फार्म नजिक बस्ने व्यक्तिमा जोखिम बढी हुन्छ ।
धेरैजसो संक्रमितमा कुनै लक्षण नदेखिए पनि गम्भीर अवस्थामा उच्च ज्वरो, टाउको दुख्ने, बान्ता, घाँटी कडा हुने, बेहोस हुने, हातखुट्टा चल्न छाड्ने र कोमासम्म पुग्ने अवस्था आउन सक्छ । गम्भीर बिरामीमध्ये करिब ३० प्रतिशतको मृत्यु हुन सक्छ भने बाँचेका धेरैमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या रहन सक्छ ।
जेइको विशेष औषधी वा भाइरस मार्ने उपचार उपलब्ध छैन । उपचार लक्षणअनुसार गरिन्छ, जसमा सघन उपचार, श्वासप्रश्वासको व्यवस्थापन, ज्वरो नियन्त्रण तथा शरीरका अंगहरूको सहयोगात्मक उपचार गरिन्छ । एकपटक संक्रमण भएर निको भएका व्यक्तिमा सामान्यतया दीर्घकालीन प्रतिरक्षा विकास हुने भएकाले उही भाइरसबाट पुनः संक्रमण हुने सम्भावना अत्यन्त कम मानिन्छ ।
स्वास्थ्य विज्ञहरूले नेपालमा जेइ संक्रमण विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने, पानी जम्न नदिने तथा उपलब्ध जेइ खोप अनिवार्य रूपमा लगाउन आग्रह गरेका छन् ।








प्रतिकृया दिनुहोस्