लुम्बिनीमा जसपाभित्र स्पष्टिकरण आतंक


भैरहवा— जनता समाजवादी पार्टी (जसपा) नेपालमा स्पष्टिकरण शिलशिला चलेको छ । यसले लुम्बिनी प्रदेशसभा सदस्यहरु एकअर्कामा आतंकति भएका छन् । भदौ १ गते लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिएका छन् । त्यसदिन विश्वासको मतको विपक्षमा मतदान गर्न भन्दै पार्टी केन्द्रीय महासचिव डा.सुरेन्द्रकुमार झाले प्रदेशसभा सदस्यहरुलाई पत्र पठाएका थिए ।
तर, पार्टी निर्देशन अवज्ञा गर्दै जसपा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्रीलाई विश्वासको मत दिए । मत मात्रै होइन्, उनी प्रदेश सरकारमा समाजिक विकास मन्त्री समेत छन् । पार्टी निर्देशनविपरीत गएको भन्दै महासचिव डा.झाले पुनः मंगलबार मन्त्री पाण्डेयलाई ७ दिने स्पष्टीकरण सोधेका छन् ।
यता संसदीय दलका तर्फबाट पाण्डेयले भने एमाले नेतृत्वको प्रदेश सरकारका पक्षमा किन मतदान नगरेको भन्दैं प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई स्पष्टीकरण सोधेका छन् । यसले जसपाभित्रको विवाद छरपष्ट भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य सरकारको पक्षमा मतदान गरेको भन्दै पार्टीले पाण्डेयलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
पार्टीको निर्णय, नीति तथा निर्देशनविपरीत मुख्यमन्त्री चेतनारायण आचार्यको पक्षमा मतदान गरेकोले त्यसको कारण स्पष्ट पार्न निर्देशन दिइएको जसपा नेपालका महासचिव डा.झाले बताए । यता संसदीय दलका नेता पाण्डेयले भने दलको निर्णय र ह्वीपविपरीत मुख्यमन्त्री आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान नगरेको भन्दै काफ्लेलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएका हुन् ।
संसदीय दलको स्पष्टिकरण सम्बन्धि पत्रमा गत भदौ १ गते प्रदेश सभामा भएको मुख्यमन्त्री आचार्यको विश्वासको मत सम्बन्धी प्रस्तावमा जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको र सोहीअनुसार ह्वीप जारी गरेको उल्लेख छ । दलको निर्णय र निर्देशन विपरीत कार्य गरेको भन्दै संसदीय दलले काफ्लेसँग तीन वटा प्रश्नको जबाफ मागेको छ ।
काफ्ले जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको सदस्य भए नभएको, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दलले जारी गरेको निर्देशन पालना नगर्नुको कारण र दलको निर्देशन पालना गर्नु आफ्नो दायित्व भए नभएकोबारे स्पष्टीकरण मागिएको छ ।
जसपा नेपालले लुम्बिनीमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको थियो । तर, पार्टीको उक्त निर्देशनविपरीत पाण्डेयले प्रदेश सरकारको पक्षमा मतदान गरेको देखिएको भन्दै जसपा नेपालले स्पष्टीकरण मागेको हो ।
जसपा नेपालले प्रदेश सरकारलाई विश्वासको मत दिने क्रममा पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गर्नुको कारण स्पष्ट पार्न भनिएको छ । यस्तै पार्टीको स्पष्ट निर्देशनविपरीत मतदान गरी पार्टी निर्णयको अवज्ञा गरेकाले पार्टी अनुशासन उल्लंघन भएको हो वा होइन, पार्टी विधानको धारा १२६ बमोजिम आफूलाई अनुशासनात्मक कारबाही किन नगर्ने भन्नेबारे समेत पाण्डेयसँग धारणा पेस गर्न भनिएको छ ।
लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच सदस्य छन् । पाण्डेय संसदीय दलका नेता हुन् । प्रदेशसभा सदस्यहरू हेमा बेल्बासे केसी, अम्बिका काफ्ले, आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर छन् । मुख्यमन्त्री आचार्यको पक्षमा ४५ र विपक्षमा २६ मत परेको थियो । काफ्ले मतदान प्रक्रियामा नै सहभागी भइनन् । अहिले एकले अर्कोलाई स्पष्टिकरण सोध्ने प्रक्रिया चलेपछि विवादसँगै कारबाहीमा परिने हो की भनेर सांसदहरु आतंकति भएका छन् ।








प्रतिकृया दिनुहोस्