August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

डुबेर पाल्पामा दुई किशोरकाे मृत्यु, बर्दियामा एक बेपत्ता

Advertisement

भैरहवा–दुई दिन अघि कालिगण्डकीमा डुबेका पाल्पाका दुईजना किशोर मृत अवस्थामा फेला परेका छन् भने बर्दियामा एकजना किशोर डुबेर बेपत्ता भएका छन् ।

Advertisement

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बिहीबार बेलुकी पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडा घरभएका दुईजना किशोर डुबेर बेपत्ता भएका थिए । स्थानीय २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहा नामका किशोर मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईले बताए । बगनासकाली–७ दैलातुङमा यसअघि नयाँ वर्ष मनाउन गएका दुई युवाकोसमेत डुबेर मृत्यु भएको थियो ।

बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् । नहरमा पानी ल्याउन बाँध बाध्न गएका राजापुर नगरपालिका वडा नं. ४ शान्तीपुरका १६ वर्षीय नारायण चौधरी पानीमा डुबेर बेपत्ता भएका हुन् ।

उनको खोजीको लागि स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको उद्धार टोलीको परिचालन भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकीले बताएका छन् । कर्णाली नदीमा बर्षेनी अस्थायी बाँध बाध्नका लागि किसानहरू जोखिमपुर्ण रुपमा जाने गर्दछन् ।