June 11, 2026, Thursday
२०८३ जेष्ठ २८ बिहीबार

गुणस्तर सुनिश्चितता तथा अनुसन्धान पद्धति सम्बन्धि तीनदिने कार्यशाला

Advertisement

भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितता एवं प्रत्यायन तथा अनुसन्धान पद्धति सम्बन्धी तीनदिने कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सहयोगमा बिहीबारदेखि सुरु कार्यशालामा लुम्बिनी प्रदेशका ६ आङ्गिक तथा १८ वटा सामुदायिक क्याम्पसका गरी ७५ जना शिक्षकको सहभागिता छ ।

Advertisement

भैरहवा क्याम्पस अन्तर्गत अनुसन्धान व्यवस्थापन सेल संयोजक डा. मुक्ति पौडेलले उच्च शिक्षामा गुणस्तर अभिवृद्धि गर्नुका साथै अनुसन्धान संस्कृतिको विकास गर्दै शिक्षकको क्षमता अभिवृद्धि गर्नु कार्यशालाको उद्देश्य रहेको बताए । यस्ता कार्यक्रमले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रमकी प्रमुख अतिथि प्रा.डा.संगीता राजभण्डारीले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको क्षमता र दक्षता बृद्धि सबैभन्दा महत्वपूर्ण हुने बताइन् । शिक्षकमा गुणस्तर र नवीन सोच भए मात्र विद्यार्थीले नयाँ ज्ञान र सीप हासिल गर्न सक्ने उनको भनाइ थियो । वर्तमान विश्व बजारमा सूचना प्रविधि (आईटी) लगायत नयाँ प्रविधिको ज्ञान अपरिहार्य बन्दै गएको उल्लेख गर्दै उनले समयननुकूल शिक्षण पद्धति अपनाउनुपर्नेमा जोड दिइन् । विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न शिक्षक स्वयं निरन्तर सिकाइमा सक्रिय रहनुपर्ने उनले बताए ।

कार्यक्रममा गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका केन्द्रीय निर्देशक डा. अच्युत अधिकारीले शैक्षिक गुणस्तर सुधारसँगै क्याम्पसले अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा राखे । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कक्षा शिक्षासँगै सिर्जनात्मक, अनुसन्धानमूलक तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो । क्याम्पस प्रशासनले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

भैरहवा बहुमुखी क्याम्पस व्यवस्थापन समिति निर्देशक डा. पिताम्बर तिवारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन एकपटक प्राप्त गरेर मात्र नपुग्ने उल्लेख गर्दै त्यसलाई निरन्तर कायम राख्न शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास, शिक्षकको क्षमता अभिवृद्धि तथा नियमित तालिम आवश्यक पर्ने बताए । गुणस्तरीय शिक्षाका लागि संस्थागत सुधारलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

भैरहवा क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले क्याम्पसले प्राप्त गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायनलाई जीवित र प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गर्दै अघि बढिरहेको बताए । क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाको सहयोगले शैक्षिक वातावरण सुधार हुँदै गएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए । कार्यशालामा गुणस्तर सुनिश्चितता, अनुसन्धान पद्धति, शैक्षिक व्यवस्थापन तथा उच्च शिक्षामा गुणस्तर अभिवृद्धिका विविध विषयमा विशेषज्ञहरूद्वारा प्रशिक्षण तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।