June 11, 2026, Thursday
२०८३ जेष्ठ २८ बिहीबार

लुम्बिनीका ११ जिल्लामा रास्वपाको नयाँ नेतृत्व, प्रदेश अधिवेशनको तयारी तिव्र

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशका ११ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १२ जिल्लामध्ये पूर्वी रुकुम बाहेक ११ जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ ।

Advertisement

रास्वपा लुम्बिनी प्रदेशका उपसभापति सालिकराम घिमिरेका अनुसार पूर्वी रुकुममा केन्द्रले तय गरेको सङ्गठनात्मक मापदण्डअनुसार केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले त्यहाँको अधिवेशन केही समयपछि गरिनेछ। अन्य ११ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेकाले प्रदेश अधिवेशनको तयारी भइरहेको छ ।

रास्वपाका अनुसार पाल्पा, पश्चिम नवलपरासी र रोल्पामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । पश्चिम नवलपरासीमा रवि पाण्डे, पाल्पामा विष्णु भण्डारी र रोल्पामा बलराम थापा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका छन्।

अन्य ८ जिल्लामा भने मतदानमार्फत नेतृत्व चयन गरिएको हो । रुपन्देहीमा महेन्द्र उपाध्याय, अर्घाखाँचीमा सीता पराजुली, गुल्मीमा हरि श्रेष्ठ, कपिलवस्तुमा शिवकुमार सुवेदी, दाङमा किरण खनाल, बाँकेमा विवेककुमार श्रेष्ठ, बर्दियामा शान्ता बुढा क्षेत्री तथा प्युठानमा विकास पोखरेल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

जिल्लाहरूमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि सम्भव नभएका स्थानमा लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानबाट नेतृत्व चयन गरिएको हो ।अधिकांश जिल्लामा प्रतिस्पर्धात्मक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ।

रास्वपाले जिल्ला अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएपछि अब प्रदेश अधिवेशनमार्फत लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ । प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति खटिनेछ भने दुई जना केन्द्रीय प्रतिनिधिसमेत सहभागी हुनेछन्। पार्टीले अब जेठ ३० गते दाङमा हुने प्रदेश अधिवेशनको तयारीलाई तीव्र बनाएको जनाएको छ।