June 5, 2026, Friday
२०८३ जेष्ठ २२ शुक्रबार

हरि थापाद्वारा रूपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

Advertisement

भैरहवा– रुपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा हरिबहादुर थापाले उमेदवारीको घोषणा गरेका छन् । शुक्रवार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै थापाले यही जेठ २५ गते हुन गैरहेको संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

Advertisement

उनी रुपन्देही क्रिकेट संघको वर्तमान अध्यक्ष समेत हुन् । संघको अध्यक्षमा उनले पुनः एक कार्यकालको नेतृत्व लिन खोजेका हुन् । थापा, चार वर्ष अघि संघको अध्यक्षमा क्रिकेटका राष्ट्रिय खेलाडी शक्ति गौचनलाई पराजित गर्दै अध्यक्ष बनेका थिए ।

रुपन्देही क्रिकेट संघको अवको निर्बाचनमा अध्यक्ष पदका लागि पुनः हरिबहादुर थापा र शक्ति गौचन बिच नै प्रतिष्पर्धा हुने भएको छ । गौचनले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी दिने कुरा विभिन्न सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका छन् ।

संघको आगामी एक कार्यकालको नेतृत्व लिनका लागि संघका अन्य पदाधिकारी, क्रिकेट खेल प्रेमी लगायतले आग्रह गरेकाले आफूले एक कार्यकालका लागि पुनः अध्यक्ष बन्न लागेको थापाले बताए । अवको कार्यकालमा आफूले सिद्धार्थ क्रिकेट रंगशालामा गर्नु पर्ने अधुरा कार्य सम्पन्न गर्ने योजना रहेको थापाले जनाए ।

‘रुपन्देही क्रिकेट संघको अहिलेको नेतृत्व सम्हालेपछि संघलाई गतिशिलताका साथ अगाडि बढाउँदै अन्तर्राष्ट्रिय स्तरको खेल गराउन सकिने अवस्थामा सिद्धार्थ रंगशालालाई बनाइएको छ’, दाबी गर्दै थापाले भने, ‘क्रिकेट खेलाडी उत्पादन गर्न विभिन्न प्रशिक्षण दिने गरिएको छ ।’

संघको नयाँ नेतृत्वमा सर्वसम्मत जुटाउन अध्यक्ष बाहेकको अन्य पद दिएर शक्ति गौचनसँग पनि सहमती गर्न खोजिएको जनाउँदै थापाले गौचनलाई कम्तीमा एक पटकको कार्यकाल अध्यक्ष भन्दा तलको पदमा रहेर अनुभव लिन जरुरी रहेको बताए ।

उनले आफ्नो कार्यकालमा खेलाडीहरुलाई मासिक पारिश्रमिकको व्वस्था मिलाएको, टेग निर्माण, मैदान संरक्षण व्यवस्थापन गरेको, रुपन्देही क्रिकेट एकेडेमी संचालन गरी नियमित रुपमा प्रशिक्षण कार्यक्रम संचालन गरेको, कार्यालय सचिव राखेर कार्यालय व्यवस्थापन गरेको, मैदान संरक्षण गरिएको, तारजाली गरिएको, महिला खेलाडीहरुलाई घरबाट आउजाउ गर्ने भाडा, खाना, र निःशुल्क प्रशिक्षणको व्यवस्था गरेको, नियमित विद्यालय, प्लस टु, कलेज, क्लब र सुपर लिग प्रतियोगिता संचालन गरेको सुनाए ।