June 5, 2026, Friday
२०८३ जेष्ठ २२ शुक्रबार

रूपन्देहीको बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित ३२ करोड रुपैयाँ लगानीमा गौतमबुद्ध आइ केयर सेन्टर सञ्चालनमा आएको हो । अस्पतालमा युरोप र अमेरिकन मापदण्डका उपकरण छन् । अधिकांश सेवा अटोमेटिक मेसिनबाट दिने गरिएको छ ।

Advertisement

परिवारका आधा दर्जन भन्दा बढी सदस्य आँखा चिकित्सक रहेका अनादी खत्रीले यो अस्पताल सञ्चालनमा ल्याएका हुन् । योसँगै अस्पतालमा १३ वर्षदेखि आँखा उपचारमा संलग्न चिकित्सक श्वेतासिंह क्षेत्री र ४० वर्षदेखि आँखा उपचारमा संलग्न डा.बालकुमार खत्री पनि संचालक रहेका छन् ।

बिराटनगर घर भएका क्षेत्रीको मावली बुटवल हो । मावली हजुरबुवा–आमाको चाहना अनुसार भैरहवामा आँखा अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । परिवारमा आफू बाहेक बुवा, श्रीमती, बहिनी, मामाको छोरा र साढु भाइ–बहिनी पनि आँखा चिकित्सक रहेको उनले बताए । केही सदस्यले अझैं अध्ययन गरिरहेका छन् ।

‘आँखा चिकित्सक’को परिवार भएकाले धेरै लाभ कमाउने भन्दा नागरिकलाई स्तरीय र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गरिएको चिकित्सक खत्रीको भनाई छ । उनको परिवारले यसअघि झापाको काँकडभिट्टा र मोरङको बिराटनगरमा आँखा अस्पताल सञ्चालन गरिसकेका छन् ।

काठमाडौंस्थित शिक्षक अस्पतालबाट चिकित्सा अध्ययन गरेका खत्रीले भैरहवामा रहेको रण अम्बिका आँखा अस्पतालमा केही समय उपचार सेवा प्रदान गरेका थिए । त्यसपछि आफू अध्ययनका लागि अमेरिका गएको उनले बताए । त्यहाँबाट फर्किएपछि भैंरहवामा अस्पताल खोलेको उनले जनाए । श्रीमती डा.मुना अहिले पनि अमेरिकामै छन् । त्यहाँ आँखाको क्यान्सर उपचार सम्बन्धि अध्ययन गरिरहेकी छन् । उनी फर्किएपछि आँखाको क्यान्सर उपचार सम्बन्धि इन्ष्टिच्युट सञ्चालन गर्ने उनले बताए । त्यसका लागि अस्पतालसँगैं जमिन पनि छुट्टयाएका छन् । त्यससँगै बालबालिकाका लागि छुट्टैं अस्पताल सञ्चालन गर्ने योजना रहेको बताए । ‘दुई सयको टिकट काटेपछि सम्पूर्ण जाँच गरिन्छ,’ उनले भने, ‘हामीले अन्तको भन्दा १५–२० प्रतिशत सस्तो सेवा दिइरहेका छौं ।’

चिकित्सक खत्रीका अनुसार गत असोज २३ गतेबाट यो अस्पताल सञ्चालनमा आएको हो । अहिलेसम्म १० हजार भन्दा धेरैको आँखा जाँच गरिसकिएको उनले बताए । त्यसमध्ये एक हजार जनाको आँखाको शल्यक्रिया गरिसकिएको छ । आधुनिक तीन तले भवनमा अस्पताल छ । आगलागीका घटनाबाट बिरामीलाई बचाउन आपतकालीनद्वार र साइरनको व्यवस्था गरिएको छ । भवनमा सेन्ट्रल एसी र हिटिङ सिष्टम जडान गरिएको छ ।

उनका अनुसार पहिलो तलामा बिरामी दर्तादेखि रोग निदानका काम हुन्छन् । दोस्रो तला आँखाको पर्दा, नानी र जलविन्दुको उपचारका लागि छुट्टयाइएको छ । तेस्रो तलामा अपरेश कक्ष छ । त्यहाँ रहेका तीनमध्ये दुईवटा मोडुलर अपरेशन कक्ष हुन् । ती कक्षमा युरोप र अमेरिकन प्रविधि जडान गरिएको छ । ‘अस्पताल युरोप र अमेरिकन स्टान्टर्डको छ,’ उनले भने, ‘तर, नेपालीको खरिद क्षमतालाई ध्यान राखेर प्याकेजमा सेवा प्रदान गरिरहेका छौं ।’ राम्रो प्रविधि, सीप, टेक्नोलोजीसहित अस्पताल सञ्चालनमा आएको उनले जानकारी गराए ।