June 11, 2026, Thursday
२०८३ जेष्ठ २८ बिहीबार

सडक यात्रालाई सुरक्षित बनाउन एम्बुलेन्स र विद्यालयका चालकलाई प्रशिक्षण

Advertisement

भैरहवा–बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न एम्बुलेन्स र विद्यालयका चालक तथा सहचालकलाई लक्षित गरी बिहीबार भैरहवामा सडक सुरक्षा सम्बन्धी छलफल सहितको प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा एम्बुलेन्स र विद्यालयका चालक तथा सहचालक गरी करिब ८० जनाको सहभागिता थियो ।

Advertisement

प्रशिक्षण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले चालकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने बताए । आँफूलेपनि सडकमा हिँड्दा कतिपय चालकले ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने गरेको देख्ने गरेको उल्लेख गर्दै उनले यस्ता लापरवाहीका कारण दुर्घटना बढ्ने गरेको बताए । ‘सबै नागरिक सचेत भएमात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रतिमा कार्कीले सडक दुर्घटनाका प्रमुख मुख्य चार कारणमा केन्द्रित रहदै प्रशिक्षण दिइन् । उनका अनुसार नेपालमा हुने अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको छ । करिब ७० प्रतिशत दुर्घटना मानवीय गल्ती, १० प्रतिशत यान्त्रिक समस्या, १० प्रतिशत सडकको अवस्था र १० प्रतिशत वातावरणीय कारणले हुने गरेको उनले बताइन् ।

औसतमा प्रत्येक तीन दिनमा एक जनाको सवारी दुर्घटनाबाट ज्यान जाने गरेको जनाउदै उनले चालकहरूलाई जिम्मेवार र अनुशासित भएर सवारी सञ्चालन गर्नमा जोड दिइन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख जनक शाहीले यस्ता जनचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सडक सुरक्षा सम्बन्धि विभिन्न सचेतनामूलक अभियानका कारण्पछिल्ले समय नेपालमा दुर्घटनाको दरमा कमी आउन थालेको उनले बताए । जिल्लामा कुनै पनि आपत्कालीन अवस्था सिर्जना भएमा प्रहरी संयन्त्र तत्काल परिचालन हुने गरी सधैँ तयारी अवस्थामा रहेको उनले जनाए ।