June 11, 2026, Thursday
२०८३ जेष्ठ २८ बिहीबार

यस वर्ष वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु

Advertisement

बर्दिया– एक बर्षमा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु भएको छ । १५ जना आक्रमणबाट घाइते भएका छन् ।

Advertisement

गत साउनयता चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो । डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले चालु आवको अहिलेसम्म चितुवाको आक्रमणमा परी १७ र पाटे बाघको आक्रमणमा १ गरि १८ जना घाइते भएको जनाकारी दिए ।

उनका अनुसार, गत आर्थिक वर्ष ०८१/०८२ मा ४ जना चितुवा, एक गैंडा र एक जना हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले ६ वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको थियो ।

समस्याग्रस्त चितुवा नियन्त्रणमा लिए पनि अझै त्रास कम भएको छैन । गुलरिया, राजापुर, मधुवन, बारबर्दिया लगायत पालिकामा बेला बेलामा चितुवा गाउँबस्तीमा पस्ने गरेको छ । बर्दियासँग जोडिएको भारतीय सीमाना कतरनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि सामुदायिक वन हुदै चितुवा गाउँबस्तीमा पस्ने गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले वनभन्दा बाहिर चितुवा सहजै आहारा पाउने आशामा गाउँबस्ती पस्ने गरेको बताए ।

निकुञ्जमा बाघको डरले चितुवा मध्यवर्ती क्षेत्र हुँदै बस्तीमा पसेर गाउँबस्तीमा पालिएका बाख्रा लगायत वस्तु भाउ खाने र ती आहारा नपाएपछि मानिस माथि आक्रमण गर्ने गरेको भनाइ उनको छ । बर्दियामा चितुवाको गणना भएको छैन । भने, पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।