July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

सिद्धार्थनगरको छाडा चौपाया नियन्त्रण योजना अलपत्र

Advertisement

भैरहवा– सिद्धार्थनगर नगरपालिकाले एक वर्ष अघि सुरु गरेको छाडा चौपाया नियन्त्रण योजना अलपत्र परेको छ । नगरलाई छाडा चौपायाबिहीन तुल्याउन सुरु गरिएको योजना अहिले कार्यान्वयनमा छैन ।

Advertisement

छाडा चौपाया नियन्त्रणका लागि एक वर्षअघि नगरपालिकाले योजना अघि सारेको थियो । नगरपालिकाका प्रवक्ता एव वडा नम्बर–४ का अध्यक्ष मुक्तिनाथ यादवको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको थियो । उक्त समितिमा वडा नम्बर–६ का अध्यक्ष वीरेन्द्र श्रीवास्तव, १० का अध्यक्ष सर्जुमन यादव, १२ का अध्यक्ष कुमार गुरुङ र कार्यपालिकाका सदस्य केदारनाथ बरइ छन् ।

उक्त समितिले त्यसबेला ७३ गाई र ४२ गोरु नियन्त्रणमा लिएर कपिलवस्तुको वाणगंगा नगरपालिकामार्फत कान्जी हाउसमा बुझाएको थियो । नगरपालिकाले यस्ता पशु चौपाया नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको थियो । सडकमा पशु छाडेको आरोपमा नगरपालिकाले सिद्धार्थनगर–६ का १ जना किसानलाइ कारबाही गरी ५ हजार रुपैयाँ जरिवाना गरेको समिति संयोजक यादवले बताए ।

चौपाया व्यवस्थापन वापत सिद्धार्थनगरले वाणगंगा नगरपालिकालाई २० लाख रुपैयाँ भुक्तान गरेको थियो । उक्त रकम गोरुको रेखदेख र आहारका लागि दिइएको थियो । तर, चौपाया व्यवस्थापनको समस्या अहिलेसम्म हल हुन सकेको छैन ।

यतिबेला नगरमा छाडा चौपाया गाई, गोरु र कुकुरका कारणले गर्दा बजार अस्तव्यस्त बनेको छ । अहिले दिनहुँ जसो दुर्घटना हुने गरेको छ । नगरको निर्णयले निरन्तरता नपाउँदा समस्या भएको हो । भैरहवाका चोक, बजार क्षेत्र र भित्री गल्ली तथा बस्तीहरुमा छाडा पशु चौपायाको विगविगी बढेको छ । छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ । बटुवा र स्थानीय व्यापारी पनि तनाबमा छन् ।

भैरहवाको बुद्धचोक, देवकोटाचोक, बैंकरोड, गल्लामण्डी, मिलनचोक र अन्य ठाँउमा छाडा चौपायाका कारण बाटोमा हिंड्ने मानिस, सवारीसाधनलाई आवतजावत गर्न हैरानी भएको छ । पालिकाले यी क्षेत्रबाट छाडा चौपाया हटाउन पहल नगरेको स्थानीयको गुनासो छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या बढेको छ र फोहोरमैला पनि बढ्दै गएको छ ।

नगरका प्रवक्ता एवं संयोजक यादवले निर्वाचनका कारणले गर्दा काम गर्न असहज भएको बताए । ‘चैत २३ गते नगर सभा बस्दै छ, सभा पछि हामी छाडा चौपायाको व्यवस्थापन गर्नतर्फ व्यस्त हुन्छौ,’ उनले भने, ‘हामीले एउटा होल्डिङ सेन्टर बनाउने छौं र समातिएको गाई र गोरुलाई आहारको व्यवस्थापन गर्छौ ।’ होल्डिङ सेन्टरमा राखेपनि कुनै पलिकासँग समन्वय गरी छाडा चौपाया बुझाउने उनले बताए ।

कानूनले छाडा चौपाया व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । नेपालको संविधान स्थानीय सरकार संचालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरिएको छ । हुनतः नगरपालिकाले कुकुरको संख्या बृद्धि हुन नदिन बेलाबेला बन्ध्याकरण गर्दै आएको छ । तर, व्यवस्थापन हुन नसक्दा साँझ र रातिको समयमा गल्लीहरुमा हिंडडुल गर्दा लखेट्ने गरेको स्थानीय विनय कसौधन बताउँछन् ।

गाईगोरुले तरकारी तथा अन्य पसलहरुमा पुगेर तरकारी तथा अन्य सामान खाइदिने गरेका छन् । जहाँतही दिसापिसाब गर्दा सडक समेत दुर्गन्धित बन्ने गरेको छ । चौपायाकै कारण हुने जनधनको क्षति र सहरी सुन्दरीकरण जोगाई राख्न, गाईगोरु व्यवस्थापन गर्न कान्जी हाउसको निर्माण, नागरिकलाई सचेतना जगाउन स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने आवाज उठिरहेको छ । सिद्धार्थनगरले भने त्यसको दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन ।

यहाँ अन्य पालिका, खुल्ला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाईगोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । छाडा चौपायाले नगर सौन्दर्यकरणका लागि लगाइएका विरुवा, खेतबारीको बाली लगायतमा नोक्सानी गर्दै आएका छन् । भारतबाट छाडा गाईगोरुको प्रवेश नियन्त्रणका लागि पनि प्रभावकारी काम हुन सकेको छैन ।

स्थानीय ई–रिक्सा चालक निरज शाहीले छाडा चौपायाका कारणले गर्दा आफूहरुलाई सवारी चलाउन निकै समस्या हुने गरेको बताए । ‘कुन बेला कताबाट आउँछ थाहा नै हुँदैन’, उनले भने ‘रातको समयमा कता ठोकिन्छ र दुर्घटना हुन्छ भन्ने चिन्ता लाग्ने गरेको छ ।’ उनले कुनैबेला बीच सडकमै चौपाया बस्दा सडक नै जाम हुने गरेको बताए । स्थानीय सरकारले चौपाया व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।