July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

संघर्षशील दुर्गा

Advertisement

भैरहवा– बिहान सबेरै उठ्छिन्, ग्राहकका लागि खाजा तयार गर्छिन् । गर्मी महिनामा ६ बजे र जाडोमा ७ बजेबाट ग्राहक आउन सुरु गर्छन् । केही चिया तयार गर्न भन्छन् त कतिले विभिन्न थरिका खाजा । ग्राहकको रोजाई अनुसार खाजा तयार गर्छिन् । यो काम गर्दै आएको साढे दुई दशक भयो ।

Advertisement

सिद्धार्थनगर नगरपालिका–१३, शान्तिनगरकी ५३ वर्षीया दुर्गा भण्डारीको दैनिकी विगत २५ वर्षदेखि यस्तै चलिरहेको छ । होटल (खाजा) व्यवसायमा चलाउँदै आएकी भण्डारीले यहाँसम्मको व्यवसायिक यात्रामा कम्ता मिहिनत गरेकी छैनन् । उनको यही परिश्रमले संचालित खाजा घरले दुई छोरा, छोरीको जीजनको गुजारा चलेको छ ।

छोराछोरीलाई राम्रो शिक्षा दिएकी छन् । निरन्तर संघर्षरत एक मिहिनती महिला उद्यमी हुन्, उनी । श्रीमान, दुई छोरा र एक छोरी सहितको परिवारलाई सम्हाल्दै उनले जीवनका अनेक उतारचढाव पार गर्दै आजसम्म आफ्नो पेशालाई जोगाइराखेकी छिन् ।

दुर्गाको व्यवसायिक यात्रा बुटवलको मिलनचोकबाट सुरु भएको हो । त्यतिबेला उनले ‘मदिरासहितको होटल’ सञ्चालन गर्थिन्, जहाँ विभिन्न प्रकारका ग्राहकहरू आउने गर्थे । केही ग्राहकले शान्तिपूर्वक सेवा लिएर जान्थे भने केहीलाई मदिराको मात चडे पछि झगडा गर्ने, वातावरण असहज बनाउने गर्थे । र, त्यसको भोलिपल्ट थानाचौकी धाउनु पथ्र्यो । यही अवस्थाले दिक्क भएर उनले अन्ततः बुटवल छाड्ने निर्णय गरिन् ।

वि.सं. २०४९ सालमा भैरहवा आएकी भण्डारीले भीम अस्पतालमा कार्यरत कर्मचारी श्रीराम भण्डारीको सहयोगमा कालिका पथमा सानो चिया पसल सुरु गरिन् । त्यहाँ व्यवसाय राम्रो चले पनि ठाउँ साँघुरो भएकाले उनले पछि अस्पतालकै सटर भाडामा ल्याएर पुनः आफ्नो पेशालाई निरन्तरता दिइन् । लामो समयसम्म उनले बैंक रोड क्षेत्रमा खाजा पसल सञ्चालन गर्दै आइन् ।

आर्थिक अवस्था सामान्य हुँदाहुँदै पनि उनले आफ्ना सन्तानको शिक्षामा कुनै सम्झौता गरिनन् । ‘आफ्नो एक गाँस काटेर भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ’ भन्ने सोचका साथ उनले निजी विद्यालयमा पढाइन् । जेठो छोरा अमृत भण्डारीले स्नातक पूरा गरी एनएमबी बैंक, परासी शाखामा काम गर्दै आएका छन् ।

कान्छो छोरा भीम भण्डारीले स्नातकोत्तर सकेर भैरहवामै पत्रकारिता पेशामा संलग्न छन् । उनले भैरहवा बहुमुखी क्याम्पसमा अध्यापन पनि गराउँछन् । छोरी लक्ष्मी भण्डारी हाल भानु माध्यमिक विद्यालयमा कक्षा ११ मा कानून विषय अध्ययनरत छन् ।

युवावस्थामा उनले विभिन्न प्रकारका मिठाई–लड्डु, पेड़ा, रसबरी, गुलाबजामुन, बर्फी बनाउने सीप सिकेकी थिइन् । तर उमेर ५० नाघेपछि विभिन्न रोगले शक्ति हराए जस्तो हुने उनी बताउँछिन् । अहिले उनी सानो चिया पसलमै सीमित भइन् । बिहान सेलरोटी, चना र चिया बनाउने र दिउँसो श्रीमानको सहयोगमा मःमः, चाउमिन र समोसामटर बेच्ने उनको दैनिक दिनचर्या बनेको छ । ‘घर आफ्नै भएकाले भाडा तिर्नु पर्दैन । दैनिक करिब ३ हजार बढी रुपैयाँसम्मको कारोबार हुने गरेको छ’, उनले भनिन्, ‘आजभोलि छोराहरुको आम्दानी पनि हुने भएकाले जीवन पहिला भन्दा निकै सहज भएको छ ।’

पाल्पाको बगनास गाउँपालिका–५ माइती भएकी भण्डारीले सेलरोटी बनाउने सीप त्यहीँबाट सिकेकी हुन् । १५ वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा बिवहा हुँदा आफू अचेत जस्तै भएर रुँदै रुँदै माइती छाडेको आज पनि सम्झिने गरेको बताइन । त्यही सीपले उनलाई दैनिक ५० भन्दा बढी सेलरोटी बेच्न सक्षम बनाएको छ ।

‘कहिलेकाहीँ अर्डर आएमा फिनी र अर्साजस्ता परिकार पनि तयार पार्ने गर्छु’, उनले भनिन्, ‘फुर्सदको समयमा छोराछोरी र श्रीमानले सहयोग गर्नुहुन्छ ।’ कुनैबेला ठाउँ सारीसारी व्यवसाय गरी जिविका चलाउने उनी आजभोलि छोराहरुको लगनशीलताले खुशी छन् । ‘धेरै संघर्ष गरें, सानो लगानीबाट परिवार यहाँसम्म उठायौं’, उनले भनिन्, ‘श्रीमान नरेन्द्रराज भण्डारीको साथले मेरो संघर्षको पाइला लम्किरह्यो ।’

उनले शान्तिनगरको खाजा घरमा आजभोलि दैनिक ग्राहकको भीड हुन्छ । उनले दसैं, तिहार र अन्य पर्वमा सेलरोटी, फिनी लगायतका परिकार बनाएर धेरै मात्रामा बेच्छिन् । विबाह, व्रतबन्ध लगायतमा पनि धेरै अर्डर आउने गर्छ । ‘टाढाटाढाबाट अर्डर आउँछ, यस्तोबेला परिवारका सबै सदस्य सहयोग गर्नुहुन्छ र हामीले रोटी तयार गर्छौं’, उनले भनिन्, ‘परान रहुन्जेल यही पेसालाई निरन्तरता दिन्छु भनेकी छु ।’

जीवनभर संघर्ष गर्दै परिवारलाई अघि बढाएकी दुर्गाको अब एउटा मात्र चाहना बाँकी छ– दुवै छोराको विवाह गरिदिने । तर, छोराहरूले अझै सहमति नजनाउँदा उनलाई बेला–बेला चिन्ता र पीडा हुने गरेको छ । ‘उमेर पुग्यो, अब विवाह गर भन्छु तर मान्दैनन्’, उनले भनिन्, ‘छोराहरुको विवाह गरिदिन पाए केही थप सहारा हुन्थ्यो की ।’