‘सहयात्राको एक्लो यात्री’ पढेपछि


२०८१ तिहारमा टिका नभएका कारणले पारिवारिक घुमघाम गर्ने सोंच बनाउँदा बनाउँदै कार्तिक २२ गते ठुलो आमा सीता आचार्यको देहावसान भएको एक वर्षको वार्षिकी हो भन्ने थाहा पाएपछि तत्काल भाइ समिरलाई फोन गरेँ । उसले हो दादा, त्यो दिन ड्याडीले मामुको स्मृतिमा लेखेको किताब बिमोचन गर्ने योजना पनि छ भन्ने सुनाए । त्यसपछि तत्काल मेरो पारिवरिक यात्रालाई थाँती राख्दै बाबु मेरोतर्फबाट केही गर्नु पर्ने भए सम्झिनु है भन्दै सम्बादलाई बिश्राम दिएँ । वार्षिकीको कार्यक्रम फर्म हाउस भलवारीमै गर्ने भएपछि धेरै हामीले गर्नु पर्ने केही हुँदैन भन्नेमा म बिश्वस्त थिएँ, किनकी बुवाको स्वभाव तथा कार्यगर्ने शैलीले ८० प्रतिशत काम पहिल्यै फत्ते गर्दिसक्नुहुन्छ ।
वार्षिकीको दिन आउँदै गर्दा धेरै मेरा नजिकका साथीभाइ आफन्तले कार्तिक २२ गते आ.सी.सरकोमा किताब बिमोचनको निम्ता छ, ११ः१५ मा पुग्नु पर्दछ भन्ने खबर सुनाए । यो आफैमा अहिलेसम्मकै पृथक र बिशेष कार्यक्रम हुने छ भन्ने आँकलन गर्दै म आफै पनि परिवारसहित बिहान ८ः३० मा पुग्दा वार्षिकीको सम्पूर्ण कार्य सकिएर “सीता स्मृति तथा कृति बिमोचन कार्यक्रम” को तयारी सुरु भइसकेको थियो । कार्यक्रम भनेको समयमै शुरु भइ समयमै सम्पन्न पनि भयो । कार्यक्रममा ठुलोममीको बारेमा र किताबका बारेमा बुवा स्वयम् सँगै समालोचक तथा परिवारजनका मुखारबाट निस्केका बाणी सुन्दा सबैका आँखा रसाएका थिए ।
म आफूलाई त्यो किताब कतिखेर हात पारुँ र पढेर सिध्याँउ भन्ने हुटहुटि थियो, मैले धेरै पटक धेरै पुस्तक एउटै बसाइँमा पढेर सक्काएको छु, त्यसमध्ये यो पुस्तक पनि उक्त दर्जामा समाहित भयो ।
सहयात्राको एक्लो यात्रीले मलाई, मेरो जन्मथलो, मेरा बाल्यकाल, मेरो कर्मथलो र मैले थाहा नपाएको मेरो पुस्ताका कयौं कुराहरुको जानकारी दिने दुस्साहस गर्यो । सँगसँगै जति पानाहरु पल्टाउँदै जान्छु उति नै भावुक बनाउँदै लैजान्छ, पुस्तकमा ‘पुस्तक भित्र’ भन्ने शीर्षकमा के र कहाँको संयोजन अझै प्रभाबकारी लाग्यो जसले गर्दा किताब पढ्न बस्दा निराशा तुल्याउँदैन । किताबमा भएका ३८ वटा अध्याय सबै नपढी कृतिको बारेमा ब्याख्या गर्न उचित पनि हुँदैन तर पनि म आफूलाई बिशेष लागेको अध्यायसँग मेरा मानसपटलमा भएका मेरा स्मृतिहरू पनि जोडिएको हुनाले केही अध्यायसँगका मेरो आफ्नो स्वयंको अनुभूतिहरु प्रकट गर्न चाहन्छु ।
जन्मस्थान, बाल्यकाल र अक्षरारम्भ
मेरो जन्मस्थान रुप्से, ३ कक्षासम्म मेहलधारा बसी सेन माध्यमिक विद्यालयमा पढी अक्षरारम्भ गरेँ र बाल्यकाल ८ बर्षसम्म तानसेनमा बित्यो ।
बसाइँ सराई र पढाई
२०४३ मा तानसेनबाट भैरहवामा बसाइँ सराई भीम अस्पतालको स्टाफ क्र्वाटरमा अनि पढाई हाल लीलाराम स्कूल साबिक कन्या स्कूलमा । हाल भैरहवा बहुमुखी साबिक सिद्र्धाथ कलेज, किताबमा धेरै पटक भगदरीको बारेमा उल्लेख छ । भगदरीमा म पनि छुट्टिको बेला भैरहवाबाट साइकल कुदाएर भाइबहिनी समा, समिर र सन्जिबसँग खेल्न कुद्न जान्थेँ, उनीहरुको अगाध, अकाट्य प्रेम, स्नेह र सम्मानले आज पनि आफूलाई गौरवान्वित महशुस गराउँछ ।
मावली घरको प्रेम
मेरो मामाघर पाल्पा पोखराथोक, लामो बिदा भयो भने कुदेर मामाघर, त्यँहाको आतिथ्यता अहिले पनि सम्झना योग्य छ ।
मातृ तथा पितृ वियोग
एकदम नै सम्झनायोग्य घटना भगदरी हजुरबुवाको उपचारक्रममा एभरेष्ट फार्मेसी, भीम अस्पताल, मिशन अस्पतालमा उपचार असफल पश्चात देहासानको १३आंै पुण्य तिथि झल्झली याद आयो । यो अध्यायमा मेरो ड्याडीको पनी नाम पनि उल्लेख थियो, पढ्दा गला अबरुद्ध भयो एकछिन ।
बालविज्ञान बुझेकी सीता
मैले पनि घरमा परिवार र केटाकेटी साथै अफिसमा कर्मचारीलाई पनि बेलाबखत नीति कथा सुनाउँदै संघर्षका उदाहरण दिँदै उनीहरुलाई उत्प्रेरणा जगाउन काम अहिले पनि गर्दछु ।
कोरोनाको कहर
म आफै पनि स्वास्थ्यकर्मी, औषधि ब्यवसायी भएको हिसाबले म र मेरो परिवार पनि कोरोनाबाट अछुतो रहन सकेनम । उता समिर पनि कोरोनाको उपचारमा हुँदा घर गई बाहिरबाट भेटघाट गरि हामी फर्किएका थियौं ।
क्यान्सरको पहिचान र संत्राश
मैले यो समाचार समिरबाट नै प्राप्त गरेको थिएँ, साथै ठुलो ममीको हरेक अवस्थाको जानकारीको बारेमा भाइसँग भलाकुसारी हुन्थ्यो, शुरुको अवस्थामा शायद एकदुई पटक ममिलाई भेट्न गए पनि । पछिल्लो अवस्थामा धेरै भेटघाटले स्वयम् बिरामीलाई नै गाह्रो पर्ने अनुमान गरेर पनि गइएन । म आफैले पनि अस्पतालमा काम गर्दा एकदम प्रत्यक्ष रुपमा क्यान्सरको बिरामीको पीडा, रोदन र क्रन्दन महसुश धेरै पटक गरेको छु र किताबमा पनि बुवाले ममिको सहनशिलताको ब्याख्या पूर्ण रुपमा गर्नुभएको छ ।
खुशी मेटिएको दिन
२०८० कार्तिक २७ गते लोमाङ्गथाङ्ग जाने सम्पूर्ण तयारी सम्पन्न गरि बसेको थिएँ । २५ गते राति ठुलो ममी लाई गाह्रो भएर मुटुबाट पानी निकाल्न गौतमबुद्ध मुटु अस्पताल लगेको खबर आयो । तत्काल हामी पनि पुग्दा धेरै आफन्त साथीभाइ पुगिसक्नु भएको रहेछ । त्यँहाबाट पुनः प्रादेशिक अस्पताल लिएर गई आईसीयूमा सिफ्ट गरि भेन्टिलेटरमा राख्ने योजना भएछ । हामी प्रादेशिक अस्पताल पुग्दा सबैजना स्तब्ध देखिनु हुन्थ्यो, मैले समिरसँग कुरा गरेँ । ऊ आफू एनेस्थेसियाको डाक्टर साथै बुहारी प्रतिक्षा पनि स्वास्थ्यकर्मी, र म लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको मेरो अनुभव । उसको र मेरो सम्बन्धित विषयमा बेलाबखत गफगाफ हुन्थ्यो, उसले ठुलो ममिको सबै वृतान्त बताइसकेपछि म पनि एक पटक बेन्चमा थचक्क बसेँ ।
ममिको अनुहार र अपर मुस्तांङ्ग मस्तिष्कमा नाच्न थाल्यो, भोलि पल्ट बिहान साथीहरुलाई कल गरि ममीको अवस्थाले म जान सक्दिनँ हजुरहरु जानुस् त् भन्दा साथीहरु मान्नु भएन । अनि मैले सम्पूर्ण बूकिङ रद्द गरि म दैनिक प्रादेशिक अस्पतालको आईसीयू अगाडि बस्न थालेँ । मंसिर १ गते अमेरिकाबाट बहिनी समा, न्यूजिल्याण्डबाट भाइ संजिव र बुहारी प्रतिक्षा आएपछि बुवा र समिरलाई केही ढाडस मिलेको अनुभूति भएको थियो । तर, त्यो ढाडस २ दिन पनि टिकेन । २०८० मंसिर ३ गते ठुलो ममीले सम्पूर्ण परिवार, आफन्त, साथीभाइ सबैलाई रुवाएर भौतिक शरीरबाट बिदा लिनुभयो ।
समय अनुपालनमा सीता
बास्तबमा अहिले पनि हाम्रो परिवारमा रामचन्द्र आचार्य भने पछि एक पटक ठुलाबडा, साना, दाजुभाइ, छोराबुहारी, भान्जाभान्जी सबैको कान ठाडो हुन्छ । जसले सम्पूर्णलाई समयको महत्वको बोध गराउनु भयो । यस्तो व्यक्तित्वको श्रीमती भनेपछि सबैले सजिलै अनुमान लगाउन सकिन्छ कि ममिमा पनि ५२ बर्षको सहयात्रामा समय अनुपलानमा प्रखर भइसक्नु भएको थियो । र, म आफू पनि समय व्यवस्थापनमा कठोर छु । सायद यो संस्कार पुस्तान्तरितको प्रभाव हो कि जस्तो लाग्दछ ।
बैबाहिक सम्बध
यो अध्याय सम्पूर्णले एकदमै पढ्न जरुरि ठान्दछु म । बास्तबमा एउटा १४ बर्षमा बिबाह भएर आउनु भएको ममीले परिवारमा सासुससुरा, श्रीमान, छोराछोरी, आफन्त, इष्टमित्रप्रति देखाउनु भएको बिबेक, अनुशासन, सहनशिलताको ब्याख्या गरि सकिँदैन, हुन त मैले आफ्नै श्रीमतीको बखान गरे जस्तो होला थाहा छैन । सायद मेरो पूर्ब जन्मको राम्रै प्रतिफल स्वरुप एउटा असल सर्बगुण सम्पन्न श्रीमतीको रुपमा पवित्रालाई प्राप्त गरेको छु । जुन किसिमको स्वभाव उसको छ उस्तै ममीको चित्रण किताब पढ्दा धेरै ठाउँमा पाएको छु ।
बैबाहिक जीवनलाई परिपूर्ण बनाउन दुवैजनाको बराबर उत्तरदायित्व हुने गर्दछ । तर पनि परिवार भित्रका हरेक एकएक सदस्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुुनुपर्दछ भन्ने कुरामा बिश्वास गर्दछु । मृत्यु शास्वत हो । तर आज ममीलाई क्यान्सरले हामी बीच रहन दिएन । सायद हामी त्यस्ता भाग्यमानी मा पथ्र्यो कि जसको परिवारले सायद बिक्रम सम्बत २०९७ फाल्गुन २२ गते बुधवार बुुुवा र ममीको ६९औं बैबाहिक बर्षगाँठ संगै चौरासी पुजा पनि सम्पन्न गथ्र्यो होला ।
सीताबाट पुस्तान्तरित संस्कार
ठुलो ममीमा भएको संस्कार र उहाँको पुस्तान्तरित संस्कार जो अहिले पनि म ति भाइबहिनी, बुहारिहरुमा देख्दछु । सबैजना उत्तिकै उत्कृष्ट र संस्कारित छन् ।
सीता बिना बिक्षप्त म र बिछोडपछिको पहिलो पत्र
यो दुवै अध्याय सारै मार्मिक र गर्विलो छ । पढ्दा पढ्दै भक्कानिएर रुन मन लाग्छ । यो भन्दा धेरै केही लेख्न आएन । यो अध्यायको शारांसमा, यो अध्याय लेख्न बस्दाखेरी बुवाको अवस्था कल्पना गर्ने हो भने मन कति बिरक्तिएर आयो होला ???
छोराछोरीको सम्झनामा आमा
कसरि सके होला भाइबहिनीले यो बिषयमा कलम चलाउन जस्तो लाग्दछ । म आफै पनि यही लेख्न बस्दा गाह्रो अनुभूतिको आभाष भैरहेको थियो । आफ्नै आमा जसले भौतिक शरीर छोडी परमात्मासँग एकाकार भएको मितिको हिसाबले पनि ३६५ दिन पुगेको छैन । त्यस अवधि भित्रै सम्झनामा कलम चलाउन त्यति सजिलो होइन । यस कार्यप्रति र तिमीहरु सम्पूर्णमा म नतमस्तक छु, सँगै बुवा जसको एउटा आँटले आज हामीलाई ममीको अर्को रुपमा कृति पस्किनु भयो । आजबाट अझै सीता ठुलो ममी हामीबीच अझै सुरक्षित रुपले रहनु हुने छ भन्ने बिश्वास लिएको छु । राष्ट्रको किताब खानामा थप एउटा सम्पत्तिको रुपमा यो कृतिलाई संरक्षित गरी राखिने छ भन्ने आशा ब्यक्त गर्दछु ।
र, अन्त्यमा यो सहयात्राको एक्लो यात्रीलाई एउटा “साहसको सम्पूर्णको यात्रा” भनी भन्न मन लाग्न थाल्यो पढदै जाँदा । साँच्चै हो त नी है जीवनमा हरेकले हरेकलाई छोडेर जानु पर्दछ । कोही अगाडि कोही पछाडि, म आफैले पनि मेरो बुवालाई म आफै २५ वर्षको उमेर हुँदा गुमाउनु पर्यो, त्यसमाथि मैले उहाँको भौतिक शरीर पनि देख्न पाएन । बुवाको देहावसान पश्चात् धेरै कुरामा आर.सी बुवाले साथ् सहयोग र हौसला प्रदान गर्नुभयो ।
यो समाजमा मैले पनि कहिलेकाहीं आर.सी बुवाको भतिज हो भनी आफूलाई बेच्दछु, उहाँको संगतले पनि साथै रोटरी मार्फत् समाज र राष्ट्रलाई पनि केही दिन सकेको छु जस्तो लाग्दछ । अस्ति बर्खी भन्दा २ दिन अगाडि समीर र संजिव दाई भाई भएर मेरो घर आएका थिए । भेटघाटलाई, त्यसबखत समीरले मलाई बुटवल राख्ने मध्ये एउटा उमेश दादा पनि हो भन्थ्यो । मैले पनि कमसेकम दाइभाइसँगै छम नी त भनेर हाँसे, तर जब सहयात्रीको एक्लो यात्री पढ्दै गएँ आफूलाई गर्व लाग्दै गयो कि समीरलाई बुटवल बसाल्न मेरो पनि भूमिका रह्यो ।
समीर बुटवलमा नै न बसेको भए ममिको अवस्था कति दयनीय र कारुणिक हुन्थ्यो होला । हुनत आज यो मानेमा पनि खुसी छु कि प्रत्क्षय रूपले भाइबुहारीले ममीको सेवा गर्ने सुअवसर प्राप्त गरे, यस्ता अवसर धेरै कम भाग्यमानी ले पाउँदछन् । यसो भन्दै गर्दा समा र ज्वाइँ, संजिव र बुहारी, साथै सम्पूर्ण आफन्तजनहरु, इष्टमित्रहरु र सम्पूर्ण नर्सिङ्ग स्टाफ तथा चिकित्सकहरुको पनि उत्तिकै योगदान ममिको उपचारमा रहेको पाएको छु । प्रत्यक्ष अप्रत्यक्षरुपमा हामीप्रति अनुग्रहित रहनु हुने सम्पूर्णलाई साधुबाद ।
सायद मैले यति लामो र यसरी लेखन सकुला जस्तो लागेको थिएन । जानी नजानी कलम चलाउने रहर जागृत भयो र लेखे पनि, कहीँकतै त्रुटि हुन पुगेमा माफ गरिदिनु हुनेछ भन्ने आशा गर्दै यो लेखनीय कार्य अहिलेलाई बन्द गर्दछु ।
सिद्धार्थनगर–७, जनकपथ, भैरहवा (मिति २०८१ कार्तिक २७ गते मगंलवार, हरिबोधनी एकादशी, तुलसी विवाह)








लेखकको सम्वन्धमा