June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रुकुम पूर्वमा प्रचण्डलाई टक्कर दिँदै कुसुमदेवी

Advertisement

भैरहवा– नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो ‘आधार इलाका’ फर्किएपछि रुकुम पूर्व चर्चामा छ । पूर्वप्रधानमन्त्री दाहाल र नेपाली कांग्रेस महासमिति सदस्य कुसुमदेवी थापाबीच यसपटक निर्वाचनमा भिडन्त पक्का भएको छ ।

Advertisement

तत्कालीन माओवादी सशस्त्र युद्धको उद्गम थलोका रुपमा रुकुम पूर्व छ । यस पृष्ठभूमिमा चुनावी मैदानमा उत्रिएकी कुसुमदेवीका लागि प्रतिस्पर्धा सहज छैन । दाहालको राजनीतिक अनुभव, पार्टी संगठन र ऐतिहासिक सम्बन्धका कारण ‘हेभीवेट’ उम्मेदवारका रूपमा प्रस्तुत छन् । माओवादीको परम्परागत आधार क्षेत्रमा कांग्रेस उम्मेदवारका लागि चुनौती स्वाभाविक भएको कुसुमदेवी बताउँछिन् ।

उनी राजनीतिक रूपमा कमजोर उम्मेदवार भने होइनन् । उनी निवर्तमान सांसद हुन् । थापाले विकास, सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएकी छन् । दाहाललाई पूर्वप्रधानमन्त्री भएकै कारण र उनको विगत हेरेर आफूले ‘हेभीवेट’को रुपमा नहेरेको उनले बताइन् । ‘दाहाललाई म र मेरो पार्टी हेभीवेट मान्दैनौं,’ उनले भनिन्, ‘नाम, इतिहास वा पदको हिसाबले चुनावी नतिजामा फरक पार्दैन । जनताका लागि कसले कस्तो काम गर्यो भन्ने आधारमा हुन्छ ।’

रुकुम जिल्ला हराएको सूचना भन्दै आफूले संसदमा आवाज उठाएको उनले बताइन् । ‘रुकुम पूर्वको अस्तित्व खोज्दा दाहाल नै प्रधानमन्त्री हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यसबेला उहाँले वास्ता नै गर्नु भएन ।’ रुकुम पूर्व ८० प्रतिशतभन्दा बढी मगर समुदाय बसोबास छ । आफू पनि सोही समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले असहज नभएको उनले बताइन् । उनले दाहालकोे चुनावी शैलीमाथि पनि प्रश्न उठाएकी छन् ।

‘उहाँ चुनाव लड्न सधैं सुरक्षित ठाउँ खोज्नुहुन्छ । वाचा पूरा गर्न सक्नुहुन्न, अर्को चुनावमा फेरि अर्को सुरक्षित ठाउँमा जानुहुन्छ,’ उनले भनिन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, बहुमूल्य जडीबुटीको संरक्षण, सम्वद्र्धन र प्रशोधन मेरा आफ्नो प्रमुख एजेण्डा भएको उनले बताइन् । २०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिक प्रणालीमार्फत् सांसद बनेकी बनेकी थिइन् । ०५२ सालबाट नेविसंघबाट सक्रिय उनले राजनीति सुरु गरेकी थिइन् ।