पश्चिम नवलपरासीका उम्मेदवार मत माग्दै घरदैलोमा


परासी– पश्चिम नवलपरासीका दुबै निर्वाचन क्षेत्रका उम्मेदवार भोट माग्दैं घरदैलोमा पुग्न थालेका छन् । जिल्लाका समस्या सामाधानका वाचा दोहोर्याउँदैं घरघरमा पुगिरहेका छन् । मतदाता समक्ष पुग्दा अधुरा वाचाले भने पिरोलिरहेका छन् । मतदाताले प्रश्न गर्न थालेपछि सजग बनेका छन् ।
यसरी आउने उम्मेदवार सामु आफूले भोग्नु परेका समस्या व्यक्त गरिरहेका छन् । साथै सिघ्र समाधानको माग गरिरहेका छन् । जिल्लाका युवादेखि बृद्धबृद्धाले मुलुकमा बढ्दै गइरहेको बेरोजगारी र अस्थिर वातावरणबाट निकास दिने योजना के छन भनेर प्रश्न गरिरहेका छन् ।
जिल्लाको दक्षिणी भेगका बासिन्दाको मुख्य पेशा कृषि हो । उनीहरु उखु र केरा खेती गर्दै आएका छन् । भारतीय भित्रिँदा नेपाली किसानको केरा बिक्री नभएर बगानमै कुहिने अवस्था छ । उखु किसानको समस्या उस्तै छ । चिनि मिलले समयमा भुक्तानी नदिने र सरकारले नगदे बाली भनेर घोषणा गरेपनि उचित मूल्य र अनुदान नदिँदा किसान समस्यामा परेका छन् । आश्वासन मात्र दिने भन्दा उत्पादित बस्तुको बजार ग्यारेन्टी गरिदिने जनप्रतिनिधि चाहिएको उनीहरु बताउँछन् ।
‘हाम्रो आम्दानीको स्रोत उखु खेती हो । समयमै मूल्य तोक्दिने, मल, बीउमा अनुदान दिने र चिनी मिलले नगदमा उखु खरिद गर्ने व्यवस्था मिलाउने उम्मेदवारलाई मतदान गर्ने हो,’ प्रतापपुर–६, का राकेश यादवले भने, ‘हामी पार्टी भन्दा पनि जनताको काम गर्न सक्ने उम्मेदवार चुन्छौं ।’
पश्चिम नवलपरासी–१, मा काग्रेसबाट केन्द्रीय सदस्य बिनोद चौधरी, जनता समाजवादी पार्टीबाट हृदयेस त्रिपाठी, एमालेबाट रामप्रसाद पाण्डे, रास्वपाबाट बिक्रम खनाल, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा उम्मेदवार छन् ।
यस अगाडि विजयी चौधरी दोस्रो जित निकाल्ने रणनितिमा छन् । त्रिपाठी विरासत फर्काउने दाउमा छन् । पाण्डे, जलेसा र खनाल पहिलो जितको पर्खाइमा छन् । पश्चिम नवलपरासी–२, मा राप्रपाबाट धु्रबबहादुर प्रधान, कांग्रेसबाट भीमबहादुर थापा, एमालेबाट लेखनाथ खरेल, नेपाली कम्युनिष्ट पाटीबाट देवेन्द्र पौडेल, रास्वपाबाट नरेन्द्र गुप्ता, जसपाबाट देवेन्द्र यादव प्रतिस्पर्धामा छन् ।








प्रतिकृया दिनुहोस्