May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

आस्कोट

Advertisement

आस्कोट
साइन्टिफिक कन्फरेन्स सकेर तीन दिनपछि घर फर्किएका राजीवलाई श्रीमती र छोराछोरीले घेरे ।

Advertisement

केटाकेटी ‘खै त, हामीलाई के ल्याइदिनुभो ?’ भन्दै उफ्रिन थाले ।

राजीवले लगेज खोल्यो । सुन्तला र एभोकाडोको पोको श्रीमतीलाई दियो ।

छोरीलाई स्वीमिङ सुट ल्याइदिएको रहेछ । छोरोलाई कमिज, ज्याकेट र जुत्ता ।

श्रीमतीलाई आउटर र आमालाई स्वेटर, सबैलाई एक/एक गरी दियो ।

सबै खुसी भए, तर आमाले भने निन्याउरो मुख लगाइन् ।

‘किन आमा ?’ भन्नासाथ आमाले भनिन्, “खै त, तँलाई के किनिस् ? १० वर्षअघि किनेको आस्कोट अझै भिर्दै छस् ! एउटा आफूलाई पनि किनेको भए हुन्थ्यो, मलाई बरु पर्‍याथेन ।”

० ० ०

संस्कार 
अमेरिका गएको १५ वर्षपछि एक्ली इन्द्रमायाको छोरो बिहे गर्ने गरी नेपाल फर्केको थियो ।

धर्मकर्ममा अति विश्वास गर्ने इन्द्रमाया हरेक बिहान घण्टौँ पूजापाठमा बिताउँथिन् ।

२/३ दिन त छोरो दिनभर सुत्ने अनि राति ल्यापटपमा भुल्ने गर्थ्यो । त्यसपछि भने राति सुत्ने र दिउँसो उठ्ने क्रम सुरु भयो ।

सखारै इन्द्रमाया नुहाएर घरभित्र छिर्दै थिइन्, छोरो उठेर ब्रेकफास्ट तयार पारिसकेछ ।

‘बाबु !’ मात्र भन्न भ्याएकी थिइन्, छोरो हुर्रिंदै आएर गालामा किस गर्‍यो अनि उसिनेको अन्डा खुवाउन थाल्यो ।

‘ए, पख पख ! बल्ल त नुहाएँ’ भन्दै इन्द्रमाया बोल्दै थिइन्, छोरोले ‘ह्या मम्मी, मैले बनाएको ब्रेकफास्ट नखाने ?’ भन्दै अन्डा मुखमा कोच्याइदियो ।

“हे ईश्वर, माफ गर !” तुरुक्क आँसु चुहाएर इन्द्रमायाले पूजाकोठातिर हेरिन् ।

० ० ०

दृष्टिकोण
दसैँमा ससुराली जान घरको चाबी लगाएर बाहिर निस्कनेबित्तिकै पोस्टम्यानले एउटा खाम हरिहरलाई थमायो ।

“के रहिछ बुढा ?” गाडीमा सामान राख्दै गरेकी सरस्वती परैबाट चिच्याइन् ।

“लौ, तिमी नै हेर, वार्षिक शारीरिक स्वास्थ्य परीक्षणको नतिजा रहेछ,” बुढाले बुढीलाई खाम थमाए ।

“ओहो, मत यो वर्ष नौ पाउण्ड पो बढेछु ! बिचरा बुढा त चार पाउण्ड घटेछन्,” सरस्वतीले नतिजा सुनाइन् ।

भनिन्, “कठै, मेरा बुढालाई कति टेन्सन छ !”

ससुरालीमा टीकाटालो र खानपान सकिएपछि सासूआमा बोलिन्, “कठै, सरु त कस्तो दुब्लाइछ ! ज्वाईं बरु जनैपूर्णिमामा आउँदाभन्दा मोटाउनुभएछ ।”

‘खानपानमा अलि ध्यान दे है, सरस्वती !’ भन्दै सबै लाखापाखा लागे ।

हरिहरले सरस्वतीको मुखमा पुलुक्क हेर्‍यो । –baahrakhari