October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

उपाध्यक्ष कलवारले आफ्नो नामा नराखिएको भन्दै फुटाइन् शिलालेख

मर्चवार (रुपन्देही)– अध्यक्ष उपाध्यक्षबीचको विवाद पुल उद्घाटनमा परेको छ । रुपपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँ र उपाध्यक्ष सुनिता कलवारबीच विवाद छ । उनीहरुको विवादका कारण उपाध्यक्ष कलवारले बिहीबार नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नराखिएको भन्दै शिलालेख नै तोडफोड गरेकी छन् ।

उद्घाटनका क्रममा पुल नजिकै राखिएको शिलालेखमा उनको नाम थिएन । उपाध्यक्ष कलवारले आफूलाई उपेक्षा गरेर शिलालेखमा नाम नराखेको भन्दै तोडफोड गरेर हातले नै आफ्नो नाम लेखेकी छन् । मर्चवारीको वा नम्बर ७ मा बनाइएको झोलुंगे पुल हिजो उद्घाटन गरिएको हो ।

शिलान्यास र उद्घाटन गर्दा प्रमुख बनियाँको मात्रै नाम राखिएकोमा उपप्रमुख कलवार असन्तुष्ट थिइन् । आफ्नो नाम शिलालेखमा नराखेर अपमान गरिएको कलवारले बताइन् । सरकारको लगानी, अध्यक्ष र उपाध्यक्षसहित जनप्रतिनिधिको सहयोगमा पुल बनाइएकाले शिलालेखमा आफ्नो पनि नाम लेखिनुपर्ने माग कलवारको छ । तर, अध्यक्षले यसलाई अस्वीकार गरे । त्यसपछि उपाध्यक्ष शिलालेख तोडफोडमै उत्रिन ।

यो पुल कूल ७२ लाखको लागतमा निर्माण गरिएको हो । २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष बनियाँले उक्त पुल शिलान्यास गरेका थिए । यो पुल लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो । मुख्यमन्त्री शंकर पोखरेलले नै यो पुल उद्घाटन गर्ने तयारी थियो । पछि भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले पुल उद्घाटन गर्ने भनिएको थियो । तर गाउँपालिका प्रमुख तथा उपप्रमुखका बीचमै बिबाद भएपछि मन्त्री गएनन् ।

अध्यक्ष बनियाँले पुल उद्घाटनको क्रममा भएको घटनालाई आफूले सामान्य रुपमा लिएको जनाए । ‘यसलाई सामान्य मान्नुपर्छ, यस्तो बिबाद अरु स्थानीय तहमा पनि भइरहन्छ । सामान्यतः जसले उद्घाटन गर्ने हो उसैको नाम शिलालेखमा राख्ने गरिन्छ । यहाँ त्यही भएको हो । त्यसैले उपाध्यक्षको नाम नराखिएको हो । उहाँ असन्तुष्ट हुनु कारण नै छैन’, उनले भने ।

उपाध्यक्ष कलवारले शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, सदस्य र उपभोक्ता समितिका अध्यक्षको नाम पनि राखिएको तर आफूलाई अपमान गर्न नाम नराखिएको बताइन् । उनले भनिन्, ‘महिला भनेर मलाई उपेक्षा गरिएको हो, महिलालाई सम्मान गर्नुपर्नेमा सधै कागजमा मात्रै सीमित गर्ने हरेक अवसरबाट बञ्चि गर्ने काम भएको छ ।’

उपाध्यक्ष हुँदासमेत आफूलाई पुल उद्घाटनमा पनि नबोलाएर अपमान गरेको उनको जिकिर छ । अध्यक्ष बनियाँले भने बिबाद समाधान गर्न हाल मार्करले उपाध्यक्षको नाम पनि शिलालेखमा लेखिएको र पछि अर्को शिलालेख बनाएर राखिने बताए । उपाध्यक्ष कलवारले शिलालेख तोडफोड गर्दै मार्करले शिलालेखमा नाम लेखेकी थिइन् ।

भारतसँग सीमा जोडिएको २० बिगाहभन्दा बढी नेपाली जमिन खोलापारी परेपछि यहाँ पुल बनाइएको हो । यहाँ पुल निर्माण पछि खोला वारपार गर्न स्थानीयलाई सहज भएको छ । गाउँपालिकाका अनुसार पुल निर्माणले यहाँका पाँच हजार जनसंख्या लाभान्वित भएका छन् । अध्यक्ष र उपाध्यक्षको विवादले पुलको औपचारिक उद्घाटन कार्यक्रम रोकिएको छ ।