May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

Advertisement

भैरहवा – दुई घण्टामै महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको यात्रा पूरा हुन थालेको छ । यसले लामो समयदेखि जाम र अवरोधका कारण झन्झटिलो यात्रा गर्न बाध्य यात्रुलाई सहज भएको छ । यस खण्डको बिस्तार सुरु भएको ७ वर्षपछि यात्रा सहज भएको छ ।

Advertisement

अहिले दाउन्ने पहाडको केही खण्डका बाँकी काम भइरहेका छन् । अहिले दाउन्ने पहाड खण्डमा धमाधम काम भइरहेको छ । दाउन्ने खण्डमा पनि ९१ प्रतिशत भन्दा बढी काम पूरा भइसकेको छ । वर्षात अगावैं बाँकी काम पूरा गर्नेगरि काम भइरहेको आयोजनाले जनाएको छ ।

दाउन्ने अन्तर्गतको १४ किलोमिटरमा ढलान र कालोपत्रे गरिएको आयोजनाले जनाएको छ । घन्टौँ जामपर्ने समस्याबाट आजित यात्रु र स्थानीयले अब सास्ती बेर्होन नपर्ने आयोजनाको दाबी छ । दाउन्ने खण्डमा कालोपत्रे र ढलानको काम जेठ १५ गते अगाडि पूरा गर्ने लक्ष्यसाथ काम भइरहेको बुटवल–नारायणगढ सडक बिस्तार आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । उनका अनुसार पूर्वी खण्डको ६५ किलोमिटरमा कालोपत्रे र ढलानको काम सकिएको छ ।

‘वर्षायाममा सहज यात्रा गर्न पाउनुहुनेछ,’ उनले भने, ‘सडक कालोपत्रे सँगै अहिले सडक सुरक्षा लगायतका काम गरिरहेका छौ । जेठ १५ गतेपछि दाउन्ने खण्डको यात्रा सहज हुनेछ ।’ पश्चिम खण्डतर्फ ८ सय मिटरमात्र ढलान हुन बाँकी रहेकोे पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताए ।

‘अबको १५ दिनमा हामी दाउन्ने खण्डमा गर्नुपर्ने कालोपत्रे र ढलान पूरा गरिसक्ने छौ,’ उनले भने, ‘वर्षा याममा यात्रा सहज हुने भएको छ ।’ यो सडक खण्डको काम पूरा नभएपछि चौथो पटक म्याद थप गरिएको थियो । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थप भएको छ । २०७५ चैतबाट काम सुरु भएर ४४ महिनामा सम्पन्न हुनुपर्ने आयोजनाको तेस्रो पटक म्याद थप गर्दा समेत ७० प्रतिशत मात्र काम भएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १७ अर्बमा दुई खण्डको १ सय १४ किलोमिटर सडक विस्तार ठेक्का लिएको थियो ।