July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

Advertisement

विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको अन्तिम खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा थप २ गोल गर्दै उपाधि रक्षा अभियानलाई अन्तिम ४ सम्म कायम राख्यो।

Advertisement

खेलमा अर्जेन्टिनाले १० औ मिनेटमै एलेक्सिस म्याक एलिस्टरले लियोनेल मेसीको कर्नरलाई आकर्षक हेड गर्दै टोलीलाइ अग्रता दिलाएका थिए। तर त्यसपछि बल पोसेसनमा राखेपनि अर्जेन्टिनाले उत्कृष्ट अवसर सिर्जना गर्न असफल भएको थियो। पहिलो हाफमा १-० को अग्रता जोगाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने अग्रता गुमाउन पुग्यो खेलको ६७ औं मिनेटमा स्विट्जरल्यान्डका ड्यान एनडोयले रिकार्डो ले रोड्रिगेजको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। तर त्यसपछि  स्विट्जरल्यान्ड ७२ औं मिनेटमा १० खेलाडीमा समेटियो। उसका लागि ब्रिल एम्बोलोले दोस्रो पंहेलो कार्ड खान पुग्दा टोली दबाबमा परेको थियो।

त्यसपछि पुरै समय अर्जेन्टिनाले खेल आफ्नो पकडमा राखेपनि गोल गर्न सकेन् र खेल अतिरिक्त समयमा धकेलियो। जहाँ १ सय १२ औं मिनेटमा जुलियन अल्भारेजले जुलियो लोपेजको पासलाई सदुपयोग गर्दै टिमलाइ २-१ अग्रता दिलाए। त्यसपछि पनि नियमित दबाब बनाएको अर्जेन्टिनाले तेस्रो गोल अतिरिक्त समयको इन्जुरी टाइममा सम्भव बनायो। जहाँ लौटारो मार्टिनेजले गोल गरेका थिए। जितसँगै अब अर्जेन्टिनाले इंग्ल्यान्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ।