June 11, 2026, Thursday
२०८३ जेष्ठ २९ शुक्रबार

तीन गन्तव्य जोड्ने ‘सिल्भर’ सपना

Advertisement

भैरहवा– सपना नदेख्ने हो भने हामी कुनै पनि गन्तव्यमा पुग्न सक्दैंनौं । अनि गन्तव्य बिना यात्रा गर्दा हामी कतै पुग्दैनौं, कहीँ न कहीँ रुमल्लिरहेका हुन्छौं । सपना, कल्पना र चाहनाबाटै नयाँ कामको सुरुवात हुने हो । लामो समयदेखिको मुलुकका प्रमुख तीन पर्यटकीय गन्तव्य जोड्ने सपनाले बाटो तय गर्न लागेको छ । त्यसको सुरुवात तीनदिन अघि मुलुकको पर्यटकीय राजधानी पोखराबाट भइसकेको छ ।

Advertisement

लुम्बिनी सांस्कृतिक नगरपालिका, पोखरा र भरतपुर महानगरपालिकाको अगुवाईमा सुरुवात भएको यो ‘सिल्भर’ सपना हो । यानी सेतो सपना हो । अझ भन्नुपर्दा प्रष्ट सपना हो । यसको उद्देश्य तीन फरक विशेषता भएका गन्तव्यलाई एकैसाथ अगाडि बढाउने हो । शाहस, संस्कृति र प्रकृतिबीच तालमेल गराएर पर्यटकलाई तिनैं गन्तव्य घुमाउने हो । नेपाल पर्यटन बोर्डको गन्तव्य प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार अहिले लुम्बिनी घुम्न आउने पर्यटक मुश्किलले एक–दुई बिताउँछन् । अधिकांश पर्यटक आधा घण्टा घुमेपछि फर्किन्छन् । बसाइँ लामो हुँदैन ।

चितवन आउने पर्यटकको बसाइँ अवधि पनि लामो छैन । मुश्किलले दुई–तीन बस्ने गरेका छन् । पोखरामा ३–४ दिन बिताउने गरेको तथ्यांक देखिन्छ । यसरी हेर्दा वर्षौदेखि पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिएको छैन । तीन गन्तव्यका विशेषता जोडेर एउटै प्याकेज तयार गर्न सकेमा पर्यटकको बसाइँ अवधि ८ देखि १० दिनसम्म लम्ब्याउँन सकिन्छ कि भन्ने विश्वास छ । त्यही विश्वासका साथ शाहसिक पर्यटकको सहर पोखरा, सम्पदा र संस्कृतिको सहर लुम्बिनीका साथैं वन्यजन्तु सफारीको मुख्य गन्तव्य चितवनबीच सहकार्य सम्झौंता गरिएको लामिछानेको भनाई छ ।

तीन सहरबीच सहज आवागमन सम्भव छ । बुटवल–नारायणगढ खण्ड बिस्तार लगभग सकिएको छ । नारायणगढ–मुग्लिन खण्ड सहज छ । मुग्लिनदेखि पोखरासम्म चार लेन सडक पूर्ण भइसकेको छ । यसरी हेर्दा स्थलमार्गबाट यात्रामा अव कुनैं बाधा छैन । सिद्धार्थ राजमार्ग अरु सडकको तुलनामा सांघुरो भए पनि केही समयमै यसलाई द्रुत मार्गमा रुपान्तरण गर्न संघीय सरकारले बजेट विनियोजना गरिसकेको छ । यसको स्तरनोन्नतीसँगै रुपन्देही–पोखरा यात्राको समय घट्ने छ । जसले आवागमन बृद्धि हुनेछ । रुपन्देही हुँदै पोखरा जाने भारतीय पर्यटकलाई राहत मिल्नेछ ।

यस्तै,सम्भावनाका कारण पनि देशका तीन प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीबीच पर्यटन प्रवद्र्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी बनेको हो । तीन स्थानीय तहले संयुक्त रूपमा पर्यटन ब्रान्डिङ, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने सहमति गरेका छन् । यसमा पालिका मात्र आवद्ध छैनन । स्थानीय नीजि क्षेत्र र पर्यटन सरोकारवाला पनि जोडिएका छन् । जसले गर्दा अपनत्व ग्रहणका लागि सहज हुनेछ ।

गत मंगलबार पोखरा महानगरपालिका अन्तर्गत रहेको ‘पोखरा भ्रमण वर्ष’ को संयोजनमा लेकसाइडमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । समझदारी–पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार तीनै स्थानीय तहले आफ्नो वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्नेछन् । सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो रूपमा तीनै स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट)’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवद्र्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।

पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ । तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने सहमति भएको छ । प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि सम्झौतामा समेटिएको छ ।

पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समझदारीपत्रमा समावेश गरिएको छ । पोखरा महानगरपालिकाका प्रमख धनराज आचार्यले पर्यटनको राजधानीका रूपमा परिचित पोखरा, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भरतपुर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोडेर आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि र खर्च बढाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए । ‘विगतका कमी–कमजोरीबाट सिकेर लामो अनुसन्धानपछि यो अवधारणा ल्याइएको हो,’ उनले भने, ‘तीनवटै स्थानीय तहको सहकार्यमा प्रवद्र्धन हुनेछ ।’ हरेक वर्ष तीन स्थानीय तहले पालैपालो अध्यक्षता गर्ने गरी कार्ययोजना तयार गर्ने जानकारी पनि उनले दिए ।

तीन स्थानीय तहले यस सहकार्यलाई दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन् । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख अधिकारीले सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गर्ने बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख हरिजनले तीनवटै पालिकाले तीन गन्तव्य स्थललाई जोड्ने गरी आगामी नीति कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन् । सिल्भर ट्रयाङ्गललाई प्रवद्र्धन गर्न सके एक सातासम्म पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको भनाइ थियो । लुम्बिनीकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले तीन ऐतिहासिक पर्यटकीय स्थललाई जोड्दा देशकै अर्थतन्त्र धान्न उल्लेख्य सहयोग पुग्ने बताइन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख लामिछानेले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पर्यटकको बसाइ अवधि लम्बिने र पर्यटन क्षेत्रले थप लाभ लिन सक्ने बताए । उनले सिल्भर ट्रयाङ्गललाई सफल बनाउन बहुपक्षीय सरोकारवालाको सहभागितामा कार्यदल गठन गर्नुपर्ने, पर्यटनका आकर्षक गन्तव्य र गतिविधिलाई एकीकृत गरी पर्यटन प्याकेज विकास गर्नुपर्ने तथा डिजिटल माध्यमबाट प्रभावकारी प्रवद्र्धन र ब्रान्डिङमा जोड दिनुपर्ने बताए । ‘सार्वजनिक र निजी क्षेत्रबीच पूर्वाधार विकास तथा लगानीमा समन्वय र तालमेल आवश्यक छ,’ उनले भने, ‘पर्यटनमैत्री पूर्वाधार निर्माण, सेवा विस्तार तथा गन्तव्यहरूको एकीकृत विकासमार्फत सिल्भर ट्रयाङ्गललाई बलियो पर्यटन सञ्जालका रूपमा स्थापित गर्न सकिन्छ ।’

चितवनको भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्वराज सुवेदीले पोखरा–चितवन–लुम्बिनी जोड्ने गरी ७ देखि १० दिनको प्याकेज बनाउन सकिने बताए । पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले गन्तव्यहरूलाई जोड्ने, अवसरहरूलाई विस्तार गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई सक्रिय बनाउने, राष्ट्रिय वेलनेस वर्षलाई सार्थक बनाउने र नेपालको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले सिल्भर ट्रयाङ्गलको अवधारणा अघि सारेको बताए ।

‘आजको विश्व पर्यटन बजारले एकल गन्तव्यभन्दा बहुआयामिक अनुभव खोजिरहेको छ । यही आवश्यकतालाई सम्बोधन गर्दै पोखरा, लुम्बिनी र भरतपुरलाई एउटै पर्यटन परिपथका रूपमा विकास गर्ने ‘सिल्भर ट्रायाङ्गल’ अवधारणा अगाडि ल्याइएको हो,’ उनले भने, ‘यी गन्तव्यलाई एउटै पर्यटन यात्रामा जोड्न सकियो भने नेपालले पर्यटकलाई प्रकृति, संस्कृति, अध्यात्म, वन्यजन्तु र जीवनशैलीको पूर्ण अनुभव प्रदान गर्न सक्छ । सिल्भर ट्रायाङ्गलको मूल दर्शन हो ।’

पोखरा, लुम्बिनी र भरतपुरले एकअर्काका प्रतिस्पर्धी नभइ परिपूरक साझेदारका रूपमा आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले चीन र भारतका पर्यटक आकर्षित गर्न सिल्भर ट्रयाङ्गल अवधारणा कोशेढुंगा साबित हुने बताए ।