June 1, 2026, Monday
२०८३ जेष्ठ १८ सोमबार

अधिकारी र थापाले जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष खुला डबल्सतर्फको उपाधि टासु युनाइटेड गुल्मीका विवेक अधिकारी र डेविड थापा मगरको जोडीले जितेको छ। विजेता जोडीले नगद ४० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

Advertisement

प्रतियोगितामा जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीका विवेक न्यौपाने र सञ्जोग थापाको जोडी उपविजेता बन्दै २५ हजार रुपियाँ प्राप्त गर्न सफल भयो । मदन खड्का–अरविन श्रीपाली तथा रविन केसी–हिमान्सु कुँवरको जोडी संयुक्त तृतीय हुँदै १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका १२० टोलीका २२८ खेलाडीले विभिन्न छ विधामा प्रतिस्पर्धा गरेका थिए।

मास्टर्स पुरुष डबल्स (३५ वर्ष र ४५ वर्षमाथि) तर्फ जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीका महेश काउछा र राजन काउछाको जोडीले उपाधि जित्दै ३५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।

मास्टर्स पुरुष डबल्स (सुपर भेट्रान्स) तर्फ लुम्बिनी स्पोर्ट्स, बुटवलका खगेन्द्र रेगामी र निरबहादुर रानाको जोडी प्रथम हुँदै २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।

खुला भूपू सैनिक डबल्सतर्फ जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीका कृष्ण राना र विष्णुबहादुर थापाको जोडी प्रथम हुँदै २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।

खुला पुरुष डबल्स (लेभल)तर्फ सुमन बुचा र गुप्पा पाटाको जोडी प्रथम भएको छ भने खुला पुरुष सिंगल्सतर्फ टासु युनाइटेड गुल्मीका डेविड थापा मगर विजेता बने।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीको आयोजनामा तम्घासमा प्रतियोगिता भएको हो ।