May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

Advertisement

दाङ– लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

Advertisement

मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नहरुको जवाफ दिँदै यसैको आधारमा सरकारले बजेट निर्माण गर्ने जनाएका थिए ।

विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा बोल्दै नीति तथा कार्यक्रमले सबै क्षेत्र समेट्न नसकेको जनाए । आजको बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राखेका थिए भने मन्त्री तिमिल्सिनाले जवाफ दिएका थिए । यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गरेका छन् । आगामी बैठक सूचनाद्वारा जानकारी गराइने बताइएको छ ।