May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले भने- आर्थिक वृद्धि र पूर्वाधार विस्तारले संघीयताको औचित्य पुष्टि

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु नै सरकारको दायित्व भएको बताएका छन् । लुम्बिनी प्रदेश सभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने प्रतिबद्धता जनाए ।

Advertisement

‘सरकार अविछिन्न उत्तराधिकारी हो । अघिल्लो सरकारले अगाडि सारेका कार्यक्रमलाई सम्पन्न नगरी बीचमै छाड्नु राम्रो कुरा होइन,’ उनले भने, ‘स्थापनाकालदेखि सञ्चालनमा रहेका धेरै कार्यक्रमलाई निरन्तरताका साथ अघि बढाएका छौं । नयाँ सोच र दृष्टिकोणका कार्यक्रम पनि समावेश गरेका छौं ।’ उनले लुम्बिनी प्रदेशको समृद्धि, आर्थिक उन्नति र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै सभामा प्रस्तुत गरिएका कार्यक्रम बजेटमार्फत कार्यान्वयन गरिने विश्वास दिलाए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थापना कालदेखि अघि सारेका नीति तथा कार्यक्रमले अहिले भुइँतहमा सकारात्मक परिणाम दिन थालेको बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३६ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान १४ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको उनले जानकारी दिए ।

प्रदेश स्थापना भएदेखि हालसम्म ३ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसमध्ये २ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको उनले जनाए। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४० प्रतिशत वित्तीय प्रगति हासिल भएको र यो अन्य प्रदेशको तुलनामा उच्च रहेको उनको भनाई छ ।

खानेपानी क्षेत्रमा ३ हजार ७ सय ९१ वटा प्रणाली सञ्चालनमा आएको, १६ लाखभन्दा बढी नागरिक लाभान्वित भएको तथा २ लाख ७७ हजारभन्दा बढी धारा जडान गरिएको जानकारी उनले दिए । आगामी वर्ष ८० प्रतिशतभन्दा बढी प्रगति भएका सबै खानेपानी आयोजना सम्पन्न गरिने उनले बताए ।

सडक पूर्वाधारतर्फ हालसम्म ७ सय ७० किलोमिटर नयाँ ट्र्याक खोलिएको, १ हजार ३ सय ६३ किलोमिटर सडक कालोपत्रे गरिएको तथा २ सय ६ वटा सडक पुल र ७० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मुख्यमन्त्री आचार्यले जानकारी दिए । कृषि क्षेत्रमा ३३ वटा खाद्यान्न बिउ भण्डारण गृह, १७ वटा शीत भण्डार र १०२ वटा बजार पूर्वाधार निर्माण गरिएको उल्लेख गर्दै उनले ८ हजारभन्दा बढी साना सिँचाइ आयोजना सम्पन्न हुँदा ६ हजार ४० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको बताए ।

स्वास्थ्य क्षेत्रमा नवजात शिशु मृत्युदर प्रतिहजार २२ बाट घटेर १६ मा झरेको तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ४० बाट घटेर २९ मा पुगेको जानकारी उनले दिए । शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको, स्मार्ट विद्यालय, नमुना विद्यालय तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएका कारण विद्यालय उपस्थितिदर ९१ प्रतिशतभन्दा माथि पुगेको उनले जनाए ।

वन तथा वातावरण क्षेत्रमा ९ सय १८ हेक्टरमा वृक्षारोपण, ९९ लाख बिरुवा उत्पादन तथा वितरण गरिएको जानकारी दिँदै उनले ऊर्जा क्षेत्रमा ९८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको जानकारी दिए । उद्योग तथा पर्यटन क्षेत्रमा ६ हजारभन्दा बढी उद्योग र ३ हजारभन्दा बढी वाणिज्य फर्म दर्ता भएको तथा १९ अर्ब रुपैयाँ बराबरको लगानी भित्रिएको जानकारी उनले दिए । मुख्यमन्त्री आचार्यले आगामी बजेटमा आयोजना बैंकमा समावेश भएका योजना मात्रै समेटिने स्पष्ट पार्दै विकास बजेट छर्ने प्रवृत्ति अन्त्य गरिने बताए । गौरवका आयोजना, बहुवर्षीय योजना, रणनीतिक सडक तथा उत्पादनमुखी क्षेत्रमा बजेट केन्द्रित गरिने उनको भनाइ थियो ।