May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मानव अधिकार संरक्षण गर्न आयोग सधैं चनाखो हुनुपर्छः मुख्यमन्त्री आचार्य

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताएका छन् ।

Advertisement

राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानव अधिकार आयोगको रहेको बताए ।

उनले मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दिए । उनले समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने बताए ।

भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकारले सार्वजनिक नगरे आयोग आफैंले सार्वजनिक गरेर राज्यमाथि न्याय गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले फरक राजनीतिक विचार राखेकै आधारमा व्यक्तिगत सम्पत्तिहरु खरानी बन्नु र सरकारी संरचनामा ठूलो क्षति पुग्नु दुःखद भएको बताए । सरकारले नसकेको अवस्थामा आयोगले प्रतिवेदन सार्वजनिक गर्ने आँट गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

उनले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकको मानव अधिकार हनन गर्नु गम्भीर विषय भएको उल्लेख गरे । होल्डिङ सेन्टरको अवस्थाबारे पनि मानव अधिकार आयोगले अनुगमन गर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले दृष्टिकोण र सोचकै समस्या कारण मानव अधिकार हननका घटना भइरहेको बताए । उनले आत्मसमिक्षा आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकार हनन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष जीतकुमारी बेल्वासे (सुशिला), सेवाग्राही केशव पोख्रेललगायतले मन्तव्य राखेका थिए ।

आयोगले लुम्बिनी प्रदेशमा ५० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ । यस अवधिमा १७ वटा विषयमा अनुगमन तथा ७ वटा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका राजनारायण कोहारको स्वागतमा भएको कार्यक्रममा सहजीकरण अधिकृत अजितकुमार ठाकुरले गरेका थिए ।