July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

इन्धन महंगो भएपछि मर्कामा किसान

Advertisement

भैरहवा – पेट्रोलियम पदार्थका मूल्यबृद्धिले रुपन्देहीमा खेतीपाती गरेर जीवन निर्वाह गर्ने किसान मारमा परेका छन् । इन्धनको मूल्य बढेपछि कृषिमा आधुनिक उपकरणको प्रयोग खर्चिलो बनेको छ । यस्तो बेला पम्पसेट चलाएर पानी तान्ने अवस्था नरहेको किसान बताउँछन् । जेठ लाग्न थालेकाले ग्रामीण क्षेत्रका किसान बर्खे धान रोपाईंका लागि बियाड राख्न थालेका छन् । ग्रामीण क्षेत्रमा पम्पसेटबाट पानी तानेर धानको बीउ राखिरहेका छन् ।

Advertisement

रुपन्देहीको कोटइमाई–५, का रामवचन यादवले डिजेल महंगिएपछि खेतपानी गर्न सक्ने अवस्था नरहेको बताए । यसपाली बैशाखमा वर्षा भएको छ । गत वर्षझैं जेठ–असारमा सुक्खा लाग्ने चिन्ता उनलाई छ । ‘जेठमा पानी परेन भने त्यही पम्पसेट चलाएर खेती गर्ने हो,’ उनले भने, ‘हामी गरिब किसानसित डिजेल किन्ने पैसा पनि छैन । ऋण खोजेर काम चलाउनु पर्छ ।’ गत वर्षपनि रोपाईं गर्ने बेला पानी नपरेर दुःख पाएको उनले बताए ।

सिंचाईको लागि नहर र विद्युत लाइन नपुगेका ठाउँमा किसानले पम्पसेट चलाएर सिंचाई गर्छन् । डिजेलको मूल्य वृद्धिले यस्ता किसान चिन्तित छन् । डिजेलको मूल्य बढेकाले यसपाली गहुँ भित्र्याउने बेला पनि धेरै खर्च गर्नु परेको मर्चवारी–७ का मेघनाथ गुप्ताले बताए । ‘प्रति बिघा गहुँ काटेको ८ हजार रुपैयाँका दरले मेसिन धनीलाई तिरियो,’ उनले भने, ‘अब रोपाईंको सिजन नजिकिँदै छ र डिजेलको मूल्य नघट्ने हो भने किसानलाई धेरै मर्का पर्ने देखिन्छ ।’ पछिल्लो पटक कृषिमा जनशक्ति भन्दा उपकरणको प्रयोग गर्दा खर्च बढेको उनले बताए ।

व्यवसायिक किसानले बाह्रैमास खेतीपाती गर्छन् । धान, मकै, गहुँ, उखु र तरकारी खेतीका लागि पम्पसेट चलाउनु पर्छ । पम्पसेट चलाउन डिजेल नभई हुँदैंन । पछिल्लो समय सिंचाईमा धेरै खर्च भइरहेको किसान बताउँछन् । इन्धनको मूल्यवृद्धिले खेतबाट बाली भित्र्याउने काम मात्र नभएर ढुवानी खर्चमा वृद्धि भएको छ । जसको बोझ उपभोक्ताको भान्सासम्म पुग्ने देखिन्छ । रुपन्देहीका मायादेवी, सियारी, शुद्धोधन गाउँपालिकामा बाह्रैंमास तरकारी खेती गरिन्छ । कोटइमाई, मर्चवारीमाई र सम्मरीमाई गाउँपालिकामा धान, गहुँ, तोरी र तरकारी खेती हुने गरेको छ ।