पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित


भैरहवा- बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित हात पारेको छ । खुकुरीले बुटवल राइनोजमाथि ९ विकेटको सानदार जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरमध्ये २२ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा जम्मा ७२ रन बनायो । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ९ ओभर बलिङ गर्दै २ मेडनसहित जम्मा ३४ रन खर्चेर महत्वपूर्ण ९ विकेट लिए । उनी प्यलेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ समेत प्राप्त गरे । यस्तै, अजय चौहानले १ विकेट लिन सफल भए ।
बुटवल राइनोजका उत्तम थापा मगरले १७ र सुशान्त शाक्यले १० रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
लुम्बिनी खुकुरीले ९ ओभर ४ बलमा १ विकेट गुमाएर ७३ रन बनाउँदै सहजै जित निकाल्यो । उसका लागि समीर अली मुसलमानले ६ चौका र २ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै, अजय चौहानले नटआउट १७ रन बनाए । बुटवल राइनोजका सुमित थापाले १ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।








प्रतिकृया दिनुहोस्