ट्याक्सी चालक


ट्राफिक जाममा परे सञ्जय आचार्य । उनको कार एउटा ट्याक्सीको ठीक पछाडिपट्टि खडा थियो । उनको दृष्टि ट्याक्सीको सिसामा पर्यो । त्यहाँ लेखिएको थियो— म यो जिन्दगीमा किन आएँ ? एकसरो कात्रोका लागि म मिहिनेत गर्दै छु ।
टयाक्सी पछिल्तिर लेखिएका यी शब्दलहर सञ्जयलाई निकै घत पर्यो ।
जाम खुलेर अलिक अगाडि पुगेपछि सञ्जयले ट्याक्सी चालकलाई रोके । केही भलाकुसारी गरे । अनि उनको फोन नम्बर लिए ।
सञ्जयले आफ्नो कार्यालयको ठेगाना बताए । र, भेट्न आउन आग्रह गरे ।
ट्याक्सी चालक एकछिन छक्क परे ।
भोलिपल्टै टयाक्सी चालक टेकबहादुर मगर सञ्जयको कार्यालयमा आइपुगे । दुवैको भेट भयो ।
“टयाक्सीको सिसामा यस्तो ध्रुवसत्य हरफ लेख्न के कुराले प्रेरित गर्यो ?” सञ्जयले जिज्ञासा राखे ।
सञ्जयको कुरा सुनेर टेकबहादुर केहीबेर घोरिए । अनि आफ्नो जीवनको यथार्थ बेलिविस्तार लगाउन थाले ।
टेकबहादुर नुवाकोटको एउटा सानो गाउँमा जन्मिए । विपन्न मगर परिवारमा । उनी सानैदेखि अभावसँग जुध्दै हुर्किएका रहेछन् भन्ने उनको कथाले उजागर गर्दै थियो ।
टेकबहादुरका बाबु बितिसकेका थिए । उनी ५/६ वर्षको हुँदै उनी सानिमाकहाँ बस्न थाले ।
उनकी आमा टेकबहादुरलाई आफ्नी कान्छी बहिनीको जिम्मा लगाएर काम गर्न भनेर कुवेत गइन् । त्यसपछि उनी फर्किनन् ।
टेकबहादुर सानीआमाको घरघरायसी काममा सहयोग गर्न थाले— गाईबस्तु हेर्ने, दाउरा ल्याउने र खेतीमा सहयोग गर्ने ।
उनी विद्यालय त जान्थे । तर, पढाइमा खासै रुचि भएन उनको । मनमा आमाको अभाव, स्मृतिमा आमाको धुमिल अनुहार, अन्योल भविष्य र आर्थिक अभावले गर्दा उनको ध्यान पढाइमा केन्द्रित हुनै सकेन ।
उनले जेनतेन ५/६ कक्षासम्म मात्र पढे ।
उमेर बढ्दै गयो । गाउँमा अवसरको अभाव थियो । बेरोजगार टेकबहादुरलाई त्यसले घोचिरह्यो ।
केही सीप जान्ने चाहनामा उनले साथीहरूसँग मिलेर मोटरसाइकल सिके । पछि बालसखा सन्तोषको संगतले कार चलाउन पनि जाने ।
उनी सानिमासँगै थिए । बेरोजगार र आर्थिक रूपमा विपन्न भए पनि उनको नजिकै गाउँकी युवतीसँग बिहे भयो ।
बिहेपछि टेकबहादुरलाई लाग्योे— अब जीवनमा स्थायित्व आउनेछ ।
बिहेपछिका सुरुआती दिन रमाइलो गरी नै बिते । तर, बेरोजगारी र सानी आमाको तजबिजमा चल्नुपर्ने अवस्थाले उनको जीवनमा हलचल पैदा गर्यो ।
घरको खर्च पनि धान्न नसक्दा उनी र उनकी श्रीमतीबीच मनमुटाव बढ्न थाल्यो । झैझगडाले दैनिक घरमा कोकोहोलो मच्चिन थाल्यो ।
एकदिन टेकबहादुरकी श्रीमती पनि पतिलाई छाडेर हिँडिन् ।
पत्नी बिछोडले टेकबहादुरलाई एक्लो बनायो । फलतः उनको मनमा निराशाको कालो बादल मडारिएर आयो । अब के गर्ने ? यसले उनलाई पिरोलिरह्यो ।
टेकबहादुरको विषयमा काठमाडौंमा रहेका उनका बालसखा सन्तोषले थाहा पाए । उनले साथीलाई राजधानी बोलाए ।
सन्तोष काठमाडौंमा ट्याक्सी चलाउने काम गर्थे । साथीलाई भरथेग हुन्छ भनेरै टेकबहादुरलाई उनले काठमाडौं बोलाएका थिए ।
सन्तोषका ट्याक्सी साहुको सामाखुसीमा ग्यारेज थियो । साहुले एउटा टहरो बनाएका थिए, जहाँ ट्याक्सी चालक बस्थे ।
टेकबहादुर काठमाडौं आएपछि सन्तोषले साहुसँग परिचय गराइदिए । गाडी हाँक्न जानेकाण्ले ट्याक्सी मिलाइदिन सहयोग पनि गरे ।
उप्रान्त, टेकबहादुर पनि साहुको ट्याक्सी चलाउन थाले । उनी ट्याक्सी चालक भए ।
केही दिन त दुवै सँगै बसे । पछि टेकबहादुर टहरोमै एउटा अर्को कोठा पाए । उनी त्यहीँ बस्न थाले ।
टेकबहादुर दिनभर यात्रुलाई गन्तव्यमा पुर्याउँथे । र, राति थकित भएर टहरामा फर्किन्थे ।
सन्तोषकी श्रीमतीले खाना बनाउँथिन् । टेकबहादुर एक्लै भएकाले खाना सन्तोषकोमा नै खान्थे । सन्तोषलाई भार नपरोस् भनेर टेकबहादुरले खाना खर्च सहयोग गर्दै आएका थिए ।
जीविकोपार्जनका लागि ट्याक्सी चलाउँदै हिँडेका टेकबहादुरले भिन्नभिन्न यात्रुका भिन्नभिन्न विचार सुन्दै, मनन गर्दै गए ।
उनको ट्याक्सीमा बस्ने अनेकानेक यात्रुका कुराले उनको सोच बदलिँदै गयो । उनी कम बोल्थे र ट्याक्सीमा चढ्ने यात्रुका कुरा बढी सुन्थे ।
ट्याक्सीमा हरेक दिन नयाँनयाँ मानिस चढ्थे । कोही प्रेमको उन्मादमा रमिएका त कोही बिछोडले विरक्तिएका । कोही आमाको उपचारका लागि हतारिँदै गरेका त कोही आँखामा चिन्ता र मनमा आशा बोकेका ।
कोही मुहारमा हर्ष र हतारको मिश्रण बोकेर सुत्केरी भेट्न जाँदै गरेका । कोही बिरामी आफन्तलाई अन्तिमपटक भेट्न जाँदै गरेका त कोही आफन्तको चिता जलाएर आर्यघाटबाट फर्किरहेका ।
कोही मनमा श्रद्धा र भक्तिभाव लिएर पशुपतिनाथ दर्शन गर्न आएका हुन्थे त कोही विवाहमा झिलिमिली पहिरनमा उत्साहित भएर जाँदै गरेका पनि भेटिन्थे । कोही मनमा डर र सपना बोकेर पहिलोपटक विदेश जान लागेका पनि उनले नभेटेको होइन ।
युवावस्था विदेशमा बिताएर बर्सौंपछि रित्तो झोला भिरेर फर्किएका पनि भेटिए त कोही तनाव मनमा लिएर परीक्षा दिन जाँदै गरेका यात्रु पनि उनको ट्याक्सीमा चढे ।
प्रत्येक दिन नयाँ यात्रु, नयाँ कथाव्यथा । कति कथा उनको व्यथाजस्तै थिए । तथापि, अनेक आवरणमा बेरिएका यात्रुलाई गन्तव्यसम्म पुर्याउनु टेकबहादुरको कर्तव्य थियो । उनले आफ्नो कर्तव्यपालन निरन्तर गरिरहे ।
यात्रुको कथामा अनेक परिस्थिति उनी टुक्राटुक्रामा भेट्थे । यसरी मानव जीवनका अनेक आयाम टेकबहादुरको नजरमा पर्दै आएका थिए ।
एवंरीतले हरेक यात्रुको कथा उनको मनमा संग्रृहीत हुन थाल्यो, जसरी पुस्तकालयमा किताबहरू संग्रृहीत हुन्छन् ।
उनको ट्याक्सी केवल गन्तव्यमा पुर्याउने साधन मात्र थिएन, यात्रुहरूको जीवनको ऐना पनि थियो, जसमा चालक टेकबहादुर आफ्नै प्रतिबिम्ब देख्थे— कहिले पीडामा, कहिले आशामा, कहिले मौनतामा ।
टेकबहादुरको ट्याक्सी जीवनका भावनात्मक मोड पार गर्ने पुल बनेको थियो । समयसँगै यात्रुको कुराकानीले टेकबहादुरको जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन हुुन थाल्यो ।
यात्रुको भावना सुन्दै उनले महसुस गरे— दुःख त सबैको जीवनमा हुने रहेछ । तर, त्यसलाई आत्मसात् गर्ने तरिका फरकफरक हुने रहेछ । सबैको जीवनमा केही न केही अधुरोपन हुने नै रहेछ ।
टेकबहादुर सोच्न थाले— म दिनरात मिहिनेत गर्छु कसका लागि ? मेरो त परिवार पनि छैन । भविष्य कस्तो छ, थाहा छैन । आमा फर्केर नआउनु, पत्नीले छाडेर जानु, बेरोजगारी र चरम विपन्नता, यी सबले जीवनको पाठ पढाएको उनले अनुभूत गरे ।
टेकबहादुर सोच्न थाले— यो दौडधुप, यो संघर्ष केका लागि ? केवल एउटा कात्रोका लागि ? यो मिहिनेत केवल एकसरो कात्रोका लागि नै त हो ।
मनमा उब्जिएका यस्ता अनुत्तरित प्रश्नका कारण उनले आफूले चलाउने ट्याक्सीको सिसामा नै लेख्न लगाए– म यो जिन्दगीमा किन आएँ ? एकसरो कात्रोका लागि मिहिनेत गर्दै छु ।
ट्याक्सीको पछाडि सिसामा लेखिएको यो वाक्य उनको जीवनको दर्शन नै बन्यो, जसले उनको पीडा, संघर्ष र खोजलाई प्रतिबिम्बित गथ्र्यो ।
उनले बुझ्दै गए— जीवनको अर्थ कात्रोमा होइन । बरु, हरेक दिनको संघर्ष, हरेक कथाको सिकाइ र हरेक पलको अनुभवमा छ ।
सायद जीवन त्यो यात्रा हो जसले हरेक मोडमा केही न केही सिकाउँछ ।
एउटा ट्याक्सी चालकको यस्ता कुरा सुनेर सञ्जय छक्क परे । उनलाई लाग्यो, यो कथा एउटा चालकको मात्र होइन, हामी सबैको हो ।
सञ्जय सोच्न थाले— किताबको पढाइले भन्दा पनि जिन्दगीको भोगाइले मान्छेलाई अनगिन्ती पाठ सिकाउने रहेछ । –baahrakhari








प्रतिकृया दिनुहोस्