July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बुटवल–बेलहिया खण्डमा माइक्रोबसको ‘दादागिरी’ !

Advertisement

भैरहवा– मुलुकका अड्डा अदालतमा अख्तियार हनन् गरेर दुःख दिने परम्परा कायमै छ । वर्तमान सरकारले यस्ता बेथिति अन्त्यका लागि पहल गरिरहेको छ । तर, अड्डा अदालत सुधारले मात्र सर्वसाधरणका दुःख समाप्त हुँदैनन् । यहाँको सडकमा पनि उस्तै ज्यादती र अत्याचार छ । कहिलेकाहीँ नागरिकले पनि सोच्दा हुन, कहिले र कतिसम्म यसरी अत्याचार सहिरहनु ?

Advertisement

बुटवल–बेलहिया खण्डमा चार दिन अघिको एउटा घटनाले माइक्रो बसको दादागिरी प्रस्ट्याउँछ । सिद्धार्थनगर–८ का बासिन्दा दीपज्योति श्रेष्ठ बुटवलबाट भैरहवा फर्किरहेका थिए । मोटरसाइकलमा यात्रा गरिरहेका उनी तिलोत्तममाको मणिग्राम चोकमा आइपुग्दा ट्राफिक लाइटमा रातो बत्ती बलेकाले धेरै गाडी रोकिएका थिए । उनी पनि बीचको लेनमा पुग्नका लागि मोटरसाइकललाई दिशा दिइरहेका थिए । त्यहीबेला बुटवलबाट तिव्र गतिमा माइक्रो बस आयो ।

सबै जना हरियो बत्ती बल्ने प्रतीक्षामा थिए । उक्त माइक्रोबसका चालकलाई ट्राफिक लाइटको वास्ता थिएन । उनले बस हुत्याउँदैं श्रेष्ठको नजिक ल्याए । सबै गाडी रोकिएकाले श्रेष्ठ पनि हतार थिएनन् । त्यही बेला कुच्ला झैं माइक्रोबस छेउमै आएपछि उनी अत्तालिए । ‘माइक्रोबसका चालकले उल्टै मलाई ठक्कर दिएर भैरहवा पुर्याउँछु अनि थाहा पाउलास् भनी धम्क्याए,’ श्रेष्ठले भने, ‘उनको व्यवहार देखेर म छक्क परेँ । त्यतिबेला रातो बत्ती बलेका कारण कुनै जोखिम थिएन ।’

श्रेष्ठका अनुसार उक्त बस भन्दा पहिल्यैं मणिग्राम चोकमा अर्को माइक्रोबस रोकिएको थियो । पछि मात्र आइपुगेको बस त्यसरी हुत्तिदैं अगाडि आउला भन्ने आफूले मेसो नपाएको उनले बताए । ‘ड्राइभरले मुखै छाडेर गाली गर्यो,’ उनले भने, ‘हैन यो कस्तो दादागिरी हो । सडकमा यात्रा गर्न पनि नपाउनु ।’

यो त एउटा घटना मात्र हो । बुटवल–बेलहिया खण्डमा सञ्चालन हुने बस कहाँ र कतिखेर रोक्छन् पत्तैं हुँदैन । करिब दुई महिना अघि मणिग्रामबाट फर्किरहेका भैरहवाका व्यवसायीको पनि राति बसले झुक्याएपछि सडक किनारको बारमा ठोक्किएर ज्यान गएको थियो ।

सडक दायाँबायाँ बस स्टप छन् । तर, यी माइक्रोबस कहिल्यैं बस स्टपमा रोकिँदैनन् । जहाँ मान्छे देख्यो, त्यही झ्याप्प ब्रेक लगाएर रोक्दा अन्य सवारीका साधन जोखिममा पर्ने गरेका छन् । यिनलाई जेब्राक्रसको पनि वास्ता हुँदैंन । रोक्न पाए पुग्यो । ‘जहाँ पायो त्यही रोक्ने गरेकाले सर्वसाधरणको ज्यान जोखिममा परिरहेको छ,’ भैरहवाको बुद्ध चोकमा भेटिएकी एक यात्रुले भनिन्, ‘यिनलाई कुनै रोकतोक पनि रहेनछ ।’

नेपाल प्रहरीका एक अवकाश प्राप्त उच्च अधिकारीले बिहीबार साँझ पब्लिक कुरासित कुराकानी गर्दै सरकारले ट्राफिक क्षेत्रको बेथिति अन्त्यका लागि सिघ्र पहल गर्नु पर्ने बताए । ‘सरकाले सडकमा भद्रागोल ट्राफिक व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने, ‘हैन भने बस चालकको दादागिरी कायम रहन्छ ।’

बुटवल–भैरहवा सञ्चालन हुने बसका चालक र कर्मचारीको बोलि व्यवहार पनि सभ्य नरहेको यात्रुको गुनासो छ । जे मनमा लाग्यो, त्यही बोल्ने र जहाँ मन लाग्यो त्यही रोक्ने गरेका छन् । यसले सार्वजनिक यातायातप्रति सर्वसाधरणको मोह भंग भइरहेको छ ।