December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

स्याउको दशौं दाना र विना मूल्यको अक्सिजन

डा. नम्रता पाण्डे

Advertisement

सिकारको लागि एउटा सिकारी जंगल छिरे, तर तीन दिनसम्म उनले कुनै जनावर सिकार गर्न सकेनन्। जंगलभित्र निकै कुदे, कहिँकतै कुनै जनावर भेटिनु त के, खानका लागि कन्दमूल र फलफूल पनि भेटेनन्।

भोकले उनको प्राणपखेरु उड्न लागिसकेको थियो। अब त शरीर नै रहन्न कि भन्ने निराशामा उनी पुगिसकेका थिए।

तेस्रो दिन साँझतिर जंगलको एउटा छेउमा स्याउको रूख देखे। रूखमा चढेर १० दाना स्याउ टिपे। एक दाना स्याउ जब उनले खाए, प्राण फिर्ता भएको महसुस गरे। अहो भावले भरिए, एक दाना स्याउले आफ्नो प्राण बचाएकोमा धन्यधन्य भए।

पहिलो, एक दाना स्याउमै आफ्नो जीवन देखे। भगवान, अस्तित्व, परमात्मा सबै एक दाना स्याउमै अनुभूति गरे। दोस्रो, तेस्रो दाना पनि खाए। अब उनको भोक मेटियो, खुसी भए।

जब छैठौं दाना हातमा लिए, उनले टोकेर फ्याँके। अब मिठास र रस केही बाँकी देखेनन्। किनकी उनी अघासकेका थिए। एकएक गर्दै दशौं दानामा आइपुग्दा उनमा सिकायत भाव नै आयो। फालिदिए बाँकी स्याउलाई भुईँमा फाले र आफ्नो बाटो लागे।

यस्तो बोध कथा ती सिकारीको जीवनमा मात्र होइन, हाम्रो जीवनमा पनि धेरैपटक आएको छ। आजको कोरोना कहरमा एउटा सानो मद्दत पनि पहिलो एक दाना स्याउमा रहेको महत्त्व जस्तै जीवनदायिनी व्यक्ति र वस्तु बन्न सक्दछन्। 

आवश्यक पर्दा प्राण नै बचाउने चीज र व्यक्ति काम निप्टिएपछि बेकाम भएका छन्।

अर्थशास्त्रमा यसलाई सीमान्त उपयोगिता नियम भनिन्छ भने मानव जीवनमा यसलाई कृतज्ञता कम हुँदैजानु भनिन्छ। जीवन सधैँ अर्थशास्त्रले चल्दैन, बरू कृतज्ञताले मात्र पनि चल्न सक्छ।

जीवनमा दशौं दाना स्याउको परिस्थिति नआओस्। गल्ति दशौं दाना स्याउमा होइन, व्यक्तिको स्वभावमा भर पर्दछ। स्याउको स्वाद र गुण त उत्ति नै हुन्छ-जति पहिलो दानामा थियो, त्यति नै दशौं दानामा पनि। तर, व्यक्तिले बिर्सन्छ त्यसको महत्व।

यतिबेला जीवनको एक दिनका लागि पनि अस्तित्वलाई धन्यवाद व्यक्त गर्ने समय आएको छ। किसानले तयार गरेका खाद्यवस्तु, तरकारी, दूध र दहीप्रति धन्यवाद भाव प्रकट हुन्छ। के यो कृतज्ञता, सन्तोष र जीवन मूल्य एकनासको सन्तुलनमा राख्न नसकिने हो र?

अहिलेको समयले मानिसलाई सिकाएको छ-जे पनि जीवनमा मिलेको छ, त्यसप्रति धन्यवादमा जिउने कि जे नमिल्ला जस्तो छ-त्यसको लागि तनावमा जिउने?

अहिले सिटामोल र अक्सिजनको महत्त्व उत्तिकै हुने समय छ। सामाजिक दूरी र सुरक्षाका उपाय, कसैले जे पनि मद्दत गर्न सक्दछ-त्यसप्रति अहोभाव स्वयं प्रकट हुने समय आएको छ।

जीवन अजर र अमर त छैन, तर बाँचुञ्जेल स्वयम् र अरूको लागि के गर्न सकिन्छ? संयम र विवेकशील हुने समय आएको छ। धेरै ठूलो कुरामा सजगता अपनाउनु पनि पर्दैन। सानातिना कुरामा समझ विकास हुनासाथ अनुशासन कायम हुन्छ।

आफ्नै संयमित जीवनशैलीको परीक्षा घडी पनि बनेर आएको छ कोरोना कहर।

आइसीयुमा रूवाबासी

एकजना ७३ वर्षीय व्यक्तिलाई कोरोनाले धेरै असर गर्‍यो। उनलाई छोराछोरीले अस्पताल पुर्‍याए। अक्सिजनसहित आइसीयुमा राखियो र उनको स्वास्थ्यमा सुधार आयो। परिवारजन खुसी भए, बुबा बाँच्ने हुनुभयो भनेर सबैमा खुसी छायो।

वृद्ध भने छाती पिटिपिटी रुन थाले। डाक्टरहरू आश्चर्यमा परे र भने, ‘बुबा तपाईं अब खतरामुक्त हुनुहुन्छ। अब तपाईंले जीवन पाउनुभएको छ, तपाईं त हाँस्नुपर्ने, किन रुनु भएको छ?’

बुबाले डाक्टरको अनुहारमा हेरे र भने, ‘डाक्टरसाब! आज मलाई जीवनप्रति पछुतो लागेको छ। मलाई अस्पतालको उपचार खर्च तिर्नु परेर कुनै दु:ख लागेको होइन। तर, जीवनको ७२ वर्षसम्म अस्तित्वले विना मूल्य दिएको अक्सिजनले मेरो जीवन चल्यो। एकदिन, कुनै क्षण मैले अस्तित्वलाई धन्यवाद दिन सकिनँ, त्यो होस मलाई आएन। आज अस्पतालको शय्यामा दिनको १० हजार रुपैयाँ मूल्य तिरेर पाएको अक्सिजनले मेरो जीवनको महत्त्व देखायो।’

वृद्ध बोल्दै गए, ‘धिक्कार छ मलाई! मेरा ७२ वर्ष विना धन्यवादको भावमा व्यर्थ बितेछ। मैले अस्तित्वलाई के मूल्य दिन सकेँ? मैले त धन्यवाद भावसमेत दिन जानिनँ।’

वृद्धका आँसु थामिएनन्, उनको भावनात्मक सत्यता देखेर र सुनेर वरपर रहेका डाक्टरहरू एवम्‌ परिवारलाई समेत संवेदनशील बनायो।

हामीमा हुने धन्यवाद भाव सबैभन्दा ठूलो औषधि हो आफ्नै लागि। केही जरूरी छैन अस्तित्वमा सबै चिज पाउनुपर्छ भन्ने। त्यो पनि एक-एक दिनको जीवन पाउनु, प्रकृतिको अक्सिजन उसको कृपाबाट ग्रहण गर्न पाउनु-यो जत्तिकै महत्वपूर्ण उपहार के होला जीवनमा?

अहोभाव भाव जत्तिकै ठूलो रोग प्रतिरोधात्मक शक्ति अरू हुनै सक्दैन। अहोभावमा जिउने कलालाई नबिर्सौं। अहोभावले डरलाई समेत परास्त गर्न सक्दछ। डर र अहोभाव सँगै रहन सक्दैनन्। त्यसैले, के रोज्ने? रोजाइ हाम्रो हातमा छ।

त्यसैले त ओशो भन्नुहुन्छ-तिम्रा समस्याको गणना गर्न छोड, तिमीले जीवनमा के पाएका छौ-त्यसको गणना गर।

धन्यवाद जत्तिको ठूलो प्रार्थना अरू छैन। त्यसैले सबैप्रति धन्यवाद व्यक्त गर, प्रत्येक दिन गर, प्रत्येक क्षण धन्यवादले भरिनुपर्छ। जति पाएका छौ-जीवनमा त्यसप्रति तिमी धन्यवादले भरिन सक्यौ भने त्यति नै तिम्रो जीवनमा आशिष बर्सिन थाल्नेछ।

भगवानका स्वरूप

जाडो र हिउँ परेको महिना थियो। सेनाको एउटा जत्था अर्को जत्थालाई पालो दिन शहरबाट पहाडी बस्तीतिर जाँदै थिए। उनीहरू पुगेपछि त्यहाँ कार्यरत सैनिकहरू शहर फर्कने पालो थियो। १५ जनाको जत्था आफ्नो बाटो लाग्यो। जति बाटो काट्दै जान्थे-त्यति नै हिउँको चिसो सिरेटाले असहज बनाइरहेको थियो।

थर्मसको तातो पानी पनि सकिइसकेको थियो, थकान थियो। उनीहरू सबैको मनमा एउटा ठूलो चाहना थियो-एक कप तातो कफी। एक आपसमा कुराकानी गर्दै गइरहेका थिए। बाटोमा कतै कफी पाउने पसल भेट्न पाए प्राण आउने थियो।

साँझ पर्न लाग्दा एउटा झुपडी देखियो। बाटो छेउमा भएकोले पक्कै यसमा कफी पाउनुपर्छ भन्ने अनुमान गरे सबैले। नजिक पुगेर हेर्दा पसलमा ताल्चा लागेको थियो सबैको साहस र शक्ति नै हराएको महसुस भयो।

मेजरलाई आफ्ना कर्मचारीप्रति दया जाग्यो। उनले पसलको ताल्चा फोडे। भित्र छिरे, अलि तातो पनि महसुस भयो। छेउमा कफी बनाउने सामान, आगो बाल्ने चुलो सबै थियो।

उनीहरूले आगो बाले, पानी उमाले, कफी बनाए र थोरै बिस्कुट पनि भेटे। सबैले कफी र बिस्कुट खाए। धेरै राहत महसुस गरे, शरीरमा शक्ति आएको महसुस गरे। उनीहरूको शरीरमा शक्ति त आयो, तर फेरि सबै एक अर्कामा मुखामुख गर्न थाले। हामीले यो काम चोरी त गरेनौँ?

गरिबको झुपडी फोरेर उसको सामान प्रयोग गरेर आफूले सुख प्राप्त गर्नु राम्रो काम हो त? मेजरले सबैको अनुहारमा हेरे र भने, ति’मीहरू चिन्ता नलेऊ।’

उनले हजारका ५ वटा नोट चिनीको बट्टाभित्र राखिदिए र ढोका बन्द गरे। फुटेको भएपनि ढोकामा ताल्चा अड्काएर छोडे।

उनीहरू रातभर हिँडे र भोलिपल्ट साँझ आफ्नो अड्डामा पुगे। त्यहाँका साथीहरूलाई पालो दिए, त्यहाँका कर्मचारी फर्किए, उनीहरू त्यहाँको जिम्मेवारी सम्हाल्न थाले।

तीन महिनापछि उनीहरूको त्यहाँबाट फर्किने पालो आयो। फर्किने क्रममा बाटोमा रहेको त्यही कफी पसलमा उनीहरू रोकिए। कफी बनाउन लगाए, कफी र बिस्कुट खाए। मेजरले ती वृद्ध पसलेलाई सोधे, ‘हालखबर कस्तो छ? यस्तो दुर्गम ठाउँमा पनि कफी पसल खोलेर सेवा गर्नुभएको छ। दिनचर्या अरू कस्तो छ?’

वृद्धले खुसी हुँदै बताउन थाले, ‘बाबु ३ महिना अघिसम्म मेरो अवस्था दयनीय थियो, एकदिन गाउँको घरमा रहेको मेरो छोरो अचानक बिरामी भयो र उसलाई भेट्न भनेर पसल बन्द गरेर म घर गएँ। साथमा २० रुपैयाँ मात्र थियो। इष्टमित्रसँग सापटी मागेर औषधि गरेँ। छोरो ठीक भएको एक हप्तापछि यहाँ आएँ। किनकी, अलिअलि कफी बेचेर भएपनि साहुको ऋण तिर्नैपर्‍यो भनेर।

यहाँ आउदा ढोकाको ताला फोरिएको रहेछ। मेरो सबै साहस हरायो, दुखी भएँ। अलिअलि भएको सामान पनि त चोरी भयो होला भन्ने सोच्दै भित्र छिरेँ। साहब! हँजुरले पत्याउनु हुन्न। मेरो ढोकाको ताला त भगवानले पो फोरेका रहेछन्।

मेजरले भने, ‘भगवानमा मलाई विश्वास छैन।’

उनले मेजरको काँधमा हात राख्दै भने, ‘साहेब म हजुरलाई प्रमाण नै दिन्छु। जब म फोरिएको ताला खोलेर निराश हुँदै भित्र पसेको थिएँ, चिनीको बट्टाभित्र ५ वटा हजारका नोट रहेछन्। छोराको औषधि गरेको पैसा तिर्नसक्ने हैसियत नभएको म, त्यो पैसा देखेर आश्चर्यमा परेँ। भगवानले नराखी दिएको भए कसले गर्‍यो त मेरो उद्दार? त्यसपछि मैले ऋण पनि तिरेँ र पसलमा सामान पनि थपेँ। अहिले हिँड्डुल गर्ने बटुवाले पनि कफीसँग बिस्कुट, पाउरोटी रोजेर खान पाउँछन्। यो सब मेरो भगवानको देन हो।’

मेजरका आँखा रसाए, उनका कर्मचारीहरू पनि मनमनै धन्य भए।

कफी र बिस्कुटको पैसा तिरेर मेजरले भने, ‘ल तिम्रो भगवानलाई पनि आशिष दिनु है!’

कोरोनाको यो महामारीमा हामीमध्ये धेरै कसै न कसैको भगवान हुन सक्नेछौँ। कहाँनेर कुन अवस्थामा हामीले कसैलाई गरेको सहयोग उसको जीवनमा कति महत्त्व राख्दो रहेछ भन्ने कुरा समयले बताउँछ। मौका पाउँदा सहयोग गर्ने अवसर गुमाउनु हुँदैन।

हाम्रो जिम्मेवारी कहाँ र कसलाई भन्दा पनि हामी मार्फत अस्तित्वले कसरी काम गराउँछ-त्यो उसले नै तय गरेको हुन्छ। हाम्रो सहजता, इमान्दारीता र करूणाभाव नै कसैको लागि भगवान बनेर प्रकट हुन सक्दछ। यस्ता धेरै क्षण र अवसर हामी सबैको जीवनमा आएका हुन सक्छन्। यो नै जीवनको सुन्दर पक्ष हो। आफूलाई लाभ मिल्ने काम मात्र गर्नु कुन ठूलो र नौलो कुरा भयो र? बहुजन हिताय, बहुजन सुखायको भावले सकेको सहयोगमा हात बढाउनु मानवीयताको ज्वलन्त उदाहरण नै हो।

आत्मार्थ जीवलोके स्वयंको न जिवती मानव

परम् परोपकारार्थ यो जिवती स जिवती

यो जीवलोकमा आफ्नो लागि नजिउने को छ र? तर, जो परोपकारको लागि पनि जिउँछ-उसले सच्चा जीवन जिउँछ। साभारः थाहाखबर डटकमबाट