सिद्धार्थनगरः खेल पूर्वाधार विकाससँगै खेलाडी उत्पादन र प्रोत्साहनमा जोड


भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतियोगिता, खेल पूर्वाधार निर्माण तथा सहयोग, खेलाडी सम्मान तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवालाई खेलमार्फत अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने उद्देश्यसहित नगरपालिकाले वार्षिक बजेटमा यस्ता कार्यक्रम समेटेर निरन्तर लगानी गर्दै आएको छ ।
२०७९ मा अहिलेका जनप्रतिनिधि निर्वाचित भएपछि सिद्धार्थनगरले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा बताउँछन् । ‘क्रिकेट मात्रै होइन्, हरेक खेलकुदलाई समान ढंगले सहयोग गरिरहेको छ’, उनले भने, ‘यसका लागि नगर प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी धन्यवादको पात्र हुनुहुन्छ । अझै योजना बनाएर काम गर्नुपर्छ । यसका लागि हामीले हातेमालो गर्छौं ।’ उनले सिद्धार्थ रंगशालामा तारजाली लगाउने, पिच निर्माण, ग्राउण्डको खाल्डाखुल्डी पुर्न लगायतमा सिद्धार्थनगरको योगदान रहेको सुनाए । उनले खेलाडी उत्पादनका लागि भनेर नगरपालिकाले संचालन गरिरहेको वडाकपलाई थप व्यवस्थित गरी ड्युज बलबाट खेलाउनुपर्नेमा जोड दिए ।
नगरपालिकाले सिद्धार्थनगर–३, दरखसवामा मल्टी स्पोर्टस स्टेडिम निर्माण गरिरहेको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले यहाँ नगरपालिकाको स्वामित्वको जग्गा खोजविन गरी मैदानको ढाँचा तयार पारेका थिए । अहिले उक्त ठाउँमा स्टेडिम निर्माणका लागि ३ करोडमा ठेक्का लगाएर काम भइरहेको छ । ‘यहाँ क्रिकेट बाहेकका अन्य सबै खेल खेलाउन सक्ने गरी संरचना बनिरहेका छन्, यो बन्दा भैरहवाको खेलकुदको स्वरुप नै परिवर्तन हुने अपेक्षा छ’, नगरपालिकाका बरिष्ठ अधिकृत समेत रहेका सूचना अधिकारी देवप्रसाद ज्ञवाली भन्छन्, ‘उपमेयर कप, वडा कप, विभिन्न प्रतियोगिता गरी खेलाडी प्रोत्साहनका लागि सघाउने काम भइरहेका छन् ।’
पालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए । ‘नगरपालिकाले खेलकुदलाई स्वस्थ समाज निर्माण, युवाको क्षमता विकास र सामाजिक एकताको माध्यमका रुपमा अघि बढाउने नीति लिँदै वार्षिक बजेटमार्फत खेलकुदका विविध गतिविधिमा लगानी गर्दै आएको छ’, उनले भने ।
सिद्धार्थनगरले सञ्चालन गरेको प्रमुख कार्यक्रममध्ये वडा कप क्रिकेट प्रतियोगिता अर्को महत्वपूर्ण कडी हो । नगरभित्रका सबै वडाको सहभागितामा आयोजना गरिने प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ । प्रतियोगितामार्फत नयाँ खेलाडी पहिचान हुनुका साथै क्रिकेटप्रति युवाको आकर्षण अझ बढेको नगरपालिकाको विश्वास छ । यस्तै, भैरहवा कभर्ड हलको स्तरोन्नती गरी निरन्तर खेलकुद हुँदै आएको छ ।

नगर प्रमुख इश्तियाक अहमद खानले पालिकाले नगरमा हुने हरेक प्रतियोगिताको सम्पन्नता, प्रवद्र्धन र विकासका लागि आर्थिक सहयोग गर्दै आएको जनाए । ‘खेलले देशलाई चिनाउँछ, खेलाडी राष्ट्रका गहना हुन्’, उनले भने, ‘नगरभित्र सञ्चालन हुने प्रतियोगिताका लागि आर्थिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराएर थप व्यवस्थित र खेलाडी उत्पादनमा हाम्रो ध्यान गएको छ ।’ उनले आवश्यक खेल सामाग्री उपलब्ध गराउने कार्यसमेत गरिएको बताए । यसले स्थानीय स्तरका खेलकुद गतिविधिलाई निरन्तरता दिन र राष्ट्रब्यापी पहिचान गराउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।
‘हामीले सबैभन्दा महत्वपूर्ण गर्दै आएको काम भनेको पूर्व र अहिले खेलिरहेका खेलाडीहरुलाई सम्मान गर्दै आएका छौं’, उनले भने, ‘यसले खेलाडीलाई प्रोत्साहन मिलेको छ ।’ उनलका अनुसार खेलका माध्यमले राष्ट्रसँगै नगरलाई चिनाउने खेलाडीलाई अक्षयकोषमार्फत् हरेक वर्ष सम्मान गरिँदै आएको छ । नगरपालिकाले १० लाखको अक्षयकोष बनाएर हरेक वर्ष खेलडाीसहित अन्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।
नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा खेलकुद विकासका लागि छुट्टै बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटबाट वडा तथा नगरस्तरीय प्रतियोगिता, विद्यालय खेलकुद, विभिन्न खेल संघलाई सहयोग, खेलाडी प्रोत्साहन तथा सम्मान कार्यक्रम सञ्चालन गरिएको छ । ‘बजेटको रकम वर्षअनुसार फरक–फरक रहे पनि खेलकुद शीर्षकमा नियमित रुपमा बजेट विनियोजन गरिएको छ’, उनले भने, ‘आवश्यकता अनुसार बजेटलाई प्राथमिकीकरण गरिएको छ । फुटबल होस् की क्रिकेट अथवा तेक्वान्दो, सबै खेलकुद हाम्रो प्राथमिकतामा छन् ।’
विद्यालयस्तरमा खेलकुद संस्कृति विकास गर्ने उद्देश्यले विद्यालयस्तरीय खेलकुद प्रतियोगिता नियमित संचालन गरिएको छ । एथलेटिक्स, फुटबल, तेक्वान्दो, भलिबल, क्रिकेट लगायत विभिन्न विधामा प्रतियोगिता आयोजना गरी विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, अनुशासन र नेतृत्व विकास गर्ने प्रयास गरिएको छ । अधिकांश खेलकुद अन्य संघसंस्थाको सहकार्यमा भएका छन् । यसले संस्थागत विकास र सामूहिकताको भावनालाई उजार गरेको छ । सामूहिक विद्यालय कप प्रतियोगिता सञ्चालनमा समेत सहयोग गरेर योगदान दिँदै आएको पालिकाले जनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने प्रयास भएको पालिकाको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पालिकाले खेलकुदलाई केवल प्रतियोगितामा सीमित नराखी युवालाई सकारात्मक दिशातर्फ अभिमुख गराउने अभियानका रुपमा अघि बढाइएको जनाए । ‘नियमित बजेट, प्रतियोगिताको निरन्तरता, खेलाडी तथा पूर्व खेलाडी सम्मान, विद्यालय खेलकुद प्रवद्र्धन र विभिन्न खेल संघसँगको सहकार्यले नगरमा खेलकुद गतिविधि उल्लेखनीय रुपमा विस्तार भएको छ’, उनले भने, ‘आगामी दिनमा खेल पूर्वाधार विस्तार, दीर्घकालीन प्रशिक्षण कार्यक्रम र प्रतिभा पहिचानलाई थप प्रभावकारी बनाउन हामी लागि पर्नेछौं ।’ उनले अंकमै बजेट विनियोजन भन्दा पनि आवश्यकतालाई प्राथमिकीकरण गरिएको बताए ।
थापाका अनुसार सिद्धार्थनगर–३ मा ६० लाखमा तेक्वान्दोको भवन बनिरहेको छ । यस्तै, कभर्डहल व्यवस्थित गर्न लाखौं रुपैयाँ लगानी गरिएको छ । सिद्धार्थ रंगशालालाई हरेक वर्ष लाखौं रुपैयाँ छुट्याएर थप व्यवस्थित गरिएको छ । खेलकुदका तालिम गरिएका छन् । पूर्व र वर्तमान गरी हालसम्म १५ बढी खेलाडीलाई सम्मान गरिएको छ । ‘खेलकुदकै लागि हामीले हरेक वर्ष २ करोड रुपैयाँ माथि बटेज खर्चिंदै आएका छौं’, थापाले भने, ‘यसको परिणाम पनि राम्रो आएको छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद र सम्मानपत्र प्रदान गर्दै उनीहरुको योगदानको कदर गरिएको छ । यसले अन्य खेलाडीलाई समेत थप प्रेरणा मिलेको छ । यस्तै, खेलकुद क्षेत्रमा लामो समय योगदान दिएका पूर्व खेलाडी सम्मान कार्यक्रमसमेत सञ्चालन गरिएको छ । नगरको खेल इतिहास निर्माणमा योगदान पुर्याएका पूर्व खेलाडीलाई सम्मान गर्दै उनीहरुको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण तयार गरिएको छ । यसले खेलकुदको इतिहास संरक्षण र खेलाडीको मनोबल अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको छ ।

नगर उपप्रमुख उमा अधिकारीले खेल क्षेत्र आफूहरुको प्राथमिकतामा रहेको जनाइन् । उनले भनिन्, ‘पत्येक वर्ष ३–४ सय छात्रा विद्यार्थीहरुलाई आत्मारक्षा तालिम दिँदै आएका छौं । यसले उनीहरुलाई खेलकुदप्रति रुचि बढाएको छ, आफ्नो रक्षाका लागि दक्ष बनाउको छ भने आत्बल पनि बृद्धि गरेको छ ।’ उनका अनुसार सिद्धार्थनगरका सबै सामुदायिक विद्यालयहरुमा उक्त तालिम प्रदान गरिएको छ । नगरमा उपप्रमुख कराँते प्रतियोगिता निरन्तर भइरहेको छ । यसबाट कयौं खेलाडी उत्दान भएका छन् ।
‘नगर, जिल्ला, प्रदेशस्तरीय प्रतियोगिता, तालिम निरन्तर भएका छन्’, उनले भनिन्, ‘यसले खेलाडीलाई निरन्तरता दिन प्रोत्साहन मात्रै गरेको छैन । खेलाडी उत्पादन पनि भएका छन् । उनका अनुसार आगामी आर्थिक वर्ष उपप्रमुख महिला क्रिकेट कप र कपड्डी पनि गराउने तयारी गरिएको छ ।
खेल सामाग्री वितरण, प्रतियोगिता व्यवस्थापन, प्रशिक्षण कार्यक्रम तथा खेलाडीको क्षमता अभिवृद्धिमा नगरपालिकाले सहजीकरण गरिरहेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जान्हवी पाण्डेले नगरले खेलकुदलाई विशेष प्राथमिकता दिने गरेको जनाइन् । ‘खेलकुदका क्षेत्रमा धेरै कार्यक्रम भएका छन् । तर, सबै हाम्रो शाखाबाट मात्रै भएका छैनन्’, उनले भनिन्, ‘बजेट पनि खेलकुदकै लागि भनेर भन्दा पनि योजना अनुसार छनोट हुने गरेको छ । हाम्रो शाखाले राष्ट्रपति रनिङशिल्डलाई प्राथमिकता दिने गरेको छ ।’ उनले विगतका तीन वर्ष रनिङशिल्ड भए पनि चालु वर्षमा हुन नसकेको जनाइन् । आगामी वर्ष निरन्तर गर्ने उनको भनाई छ ।









लेखकको सम्वन्धमा