गौतमबुद्ध आई केयर सेन्टरद्वारा ५० जनाको निःशुल्क मोतियाबिन्दुको उपचार


भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियास्थित गौतमबुद्ध आई केयर सेन्टरले लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा ५० जना मोतियाबिन्दु विरामीको निःशुल्क शल्यक्रिया र उपचार सुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबारबाट उक्त शिबिर सुरु भएको हो । पहिलो दिन बिरामीको आँखा जाँच गरेर रोग पत्ता लगाउने काम गरिएको छ ।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको गौतमबुद्ध आई केयर सेन्टरले व्यवसायिक प्रतिष्ठान र सामाजिक संघसंस्थासित समन्वय गरेर मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया र उपचार थालेको हो । अस्पतालले स्थापनाकालदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधरणको आँखा जाँच र उपचार गर्दै आएको जनाएको छ ।
अस्पतालमा सञ्चालन भइरहेको शिबिरमा उपचार गराउन रुपन्देहीका विभिन्न स्थानबाट आँखा बिरामी आइरहेका छन् । अस्पतालका चिकित्सक अनादी खत्रीका अनुसार शिविरमा कयौं नागरिकको आँखा जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ । बाँकी बिरामीको असार २४ गतेभित्र उपचार गरिसक्ने उनले बताए । शिबिरमा शल्यक्रियासँगै औषधि पनि निःशुल्क उपलब्ध गराइएको छ ।
चिकित्सक खत्रीले शिबिरमा मकैंदेखि साग बेच्नेसम्मलाई प्राथमिकता दिइएको जानकारी गराए । शिबिरमा उपचारमा आउनेका लागि आवश्यक पर्ने रगत, चश्मा र प्रयोगशाला जाँच पनि निःशुल्क रुपमा भइरहेको उनले जनाए । यस क्रममा अत्याधुनिक मेसिनको प्रयोग गरेर बिना सुई र पट्टि उपचार गरिने उनले बताए । कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई पनि स्तरीय र सुविधा सम्पन्न सेवा प्रदान होस् भन्ने हेतुले शिविर आयोजना गरिएको उनको भनाई छ ।
अस्पतालका ओपीडी इन्चार्ज शुभमप्रताप चौधरीले शिबिरमा ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिने जनाए । अहिलेसम्म ४० जनाको आँखा जाँच गर्दा दुई जनाको पर्दामा समस्या देखिएको उनले बताए ।








प्रतिकृया दिनुहोस्