बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्न लुम्बिनी–वाराणसी ट्राभल मार्ट


भैरहवा– लुम्बिनी होटल संघले बुद्ध जन्मस्थलको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तारका लागि लुम्बिनी–वाराणसी ट्राभल मार्ट तथा ‘फ्याम ट्रिप’ आयोजना गरेको छ । सोमबारदेखि तीन दिनसम्म लुम्बिनीमा सञ्चालन हुने मार्टमा नेपाल र भारतका विभिन्न स्थानबाट ट्राभल तथा टुर अपरेटर सहभागी हुने कार्यक्रम छ ।
लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले नेपाल–भारतबीच धार्मिक एवं सांस्कृतिक पर्यटन सुदृढ तुल्याउने उद्देश्यले सोमबारटदेखि मार्ट आयोजना गरिएको हो । उनका अनुसार पहिलो दिन साँझ भारतबाट विभिन्न स्थानबाट आउने सहभागीलाई लुम्बिनीमा स्वागत गर्ने कार्यक्रम छ । मंगलबार बिहानैबाट बुद्धस्थल भ्रमण कार्यक्रम राखिएको छ । मंगलबार अपरान्हबाट लुम्बिनीमा बीटुबी कार्यक्रम गरिने भएको छ ।
कार्यक्रममा वाराणसी, दिल्ली, लखनउ तथा बोधगयाका गरेर २५ भन्दा धेरै साना–ठूला ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधि सहभागी रहनेछन् । पाहुनालाई बुधबार लुम्बिनीबाट बिदाई गरिनेछ । लुम्बिनीको अवलोकन गर्न तथा यहाँका होटल तथा पर्यटन व्यवसायीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न भारतबाट पर्यटन व्यवसायी लुम्बिनी आउन लागेको अध्यक्ष शर्माले बताए ।
‘लुम्बिनीका होटल, रेस्टुरेन्ट, ट्राभल व्यवसायी तथा समग्र पर्यटन क्षेत्रका लागि नयाँ बजार विस्तार गर्ने अत्यन्त महत्वपूर्ण अवसर हो,’ उनले भने, ‘अब लुम्बिनी एकजुट भएर अगाडि बढ्छ ।’
होटल संघका अनुसार व्यवसायीको आफ्नै पहलमा कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनीको प्रवर्द्धनका लागि आफैले पहल गरेर कार्यक्रम आयोजना गरिएको उनले बताए । लुम्बिनी होटल संघ नेपाल र यसका सदस्य होटलको पहल तथा आर्थिक सहयोगबाट ट्राभल मार्ट आयोजना गरिएको होटल संघले जनाएको छ । यसलाई सफल बनाउन केही सदस्य होटलले उदाहरणीय सहयोग प्रदान गरेको पनि संघले जनाएको छ ।
कार्यक्रमबाट सबैभन्दा ठूलो लाभ लुम्बिनीका होटल तथा पर्यटन व्यवसायीले प्राप्त गर्ने विश्वास संघले लिएको छ । बुद्ध जन्मस्थल विश्वकैं गन्तव्य भए पनि सरकारी तबरबाट प्रवद्र्धनका कार्यक्रम हुन सकेका छैनन । त्यसैले व्यवसायीले हातेमालो गरेर कार्यक्रम गरेको जनाएको छ । ‘यो कार्यक्रम मात्र होइन्, लुम्बिनीको पर्यटनको भविष्यसित जोडिएको अभियान हो,’ अध्यक्ष शर्माले भने, ‘नयाँ अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धको सुरुआत र यहाँका होटलको दीर्घकालीन व्यवसाय विस्तारको आधार निर्माण गर्न लागिएको हो ।’








प्रतिकृया दिनुहोस्