बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता


भैरहवा–स्थलमार्गबाट मुलुकमैं सर्वाधिक पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गरिएको छ । लामो समयदेखि बेलहिया बजार क्षेत्र व्यवस्थापन र सौन्दर्यकरणको माग गरेपनि सुनुवाई नभएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
दैनिक पर्यटक ओहोर दोहोर गर्ने नाका स्थलमा भद्रगोल ट्राफिक व्यवस्थापन, सडकमै मालवाहक सवारीका साधन पार्किङले कुरुप बनेको छ । उक्त क्षेत्रमा सीमा समेत मिचिएको भन्दैं स्थानीय बेलहिया गाँउ समाजले चिन्ता व्यक्त गरेको छ ।
सिद्धार्थनगर–१, मा सोमबार आयोजित नागरिक सुनुवाई कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रसाद अर्यालले अन्तर्राष्ट्रिय नाका भएकाले सबैको सहयोगले मात्र व्यवस्थापन गर्न सकिने बताए । विगतमा गरिएका निर्णय कार्यान्वयनका लागि सधै प्रहरीले डन्डा लगाउनु पर्ने बाध्यता हुन दुःखद भएको उनले बताए ।
सबै नागरिकले आफनो जिम्मेवारी बहन गर्ने हो भने समस्या नहुने उनको भनाई थियो । सीमाका विषयमा स्थानीय प्रहरी प्रशासनको युनिटले एक महिनाभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित छलफल गरेर समस्या हल गर्न पहल गर्ने बताए । त्यति हुँदा समेत समस्या समाधान नभएमा भारतीय समकक्षीसित छलफल गरिने उनले बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले अहिले देखिएको समस्या केबल बेलहियाको मात्र नभएको बताए । नेपालका महेन्द्रनगर, बिराटनगर, काँकडभिट्टा, नेपालगन्ज जस्ता ठूला नाकामा यस्तै समस्या रहेको बताए । ‘६ लेनको सडकमा जहाँ पायो त्यहीँ ठेला हुन्छन,’उनले भने, ‘पार्किङ गर्नका लागि सडक बनाइएको हैन ।’ आइसीपीको काम ९५ प्रतिशत सकिएको जनाउँदैं भारतले हस्तान्तरण गरेपछि सडकमा पार्किङको समस्या हल हुने उनले बताए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनक बहादुर शाहीले बेलहियाको समस्या समाधानका लागि सर्वपक्षीय समिति बनाउनु पर्नेमा जोड दिए । उक्त समितिले तीन दिनभित्र अध्ययन गरेर दिने सुझावका आधारमा समस्या हल हुन सक्ने बताए । ट्राफिक व्यवस्थापन लगायत सुरक्षा सित सरोकार भएका विषयमा सम्बन्धित निकायसित छलफल गरेर काम अगाडि बढाइने बताए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रतीमा कार्कीले हरसम्भव बेलहियाको ट्राफिक व्यवस्थापनका लागि लागि परेको बताइन् । मातहत युनिटसित समन्वय र सहकार्यमा ट्राफिक व्यवस्थापनको काम प्रभावकारी ढंगले गरिरहेको बताइन । सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर सुशील पौडेलले भारतले पनि सडक बिस्तार गरिरहेकाले भविष्यमा समस्या नआउने बताए । धेरै भार बोकेको गाडी सडकमा राख्ने गरिएकाले समस्या देखिएको बताए ।
सिद्धार्थनगर नगरपालिका–१, का वडाध्यक्ष उज्वल पोख्रेलले तीन महिनामा पूरा गर्ने वाचा गरेर पनि तीन वर्षसम्म सार्वजनिक शौचालयको काम नसकिएकाले समस्या भएको बताए । उनले तीन महिनाभित्र निर्माण पूरा गर्ने वाचा गर्ने प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पान्डेयको आलोचना गरे ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिब कृष्ण प्रसाद घिमिरे, पर्यटन व्यवसायी लगायतले नागरिक सुनुवाईका क्रममा उठेका विषयमा बेलहिया गाँउ समाजसित सहकार्य र छलफल गरेर अगाडि बढ्न सकेमा समस्या हल हुने बताए ।








लेखकको सम्वन्धमा