July 5, 2026, Sunday
२०८३ असार २१ आईतवार

प्रदेश सभा बैठकमा लुम्बिनी सरकारको बजेटको आलोचना, मन्त्री कार्की र खत्रीको राजीनामा माग

Advertisement

भैरहवा– मन्त्रीले नै आफ्नो निर्वाचन क्षेत्र र पालिकामा बजेट केन्द्रित गरेको भन्दै सत्ता र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुको विरोधले अवरुद्ध लुम्बिनी प्रदेश सभा बैठक आइतबारबाट सुरु भएको छ । असार १ गते बजेट प्रस्तुत भएपछि बैठक नियमित हुन सकेको थिएन । दलहरुबीच सैद्धान्तिक सहमती भएपछि बैठक सुरु भएको हो । तर, बैठकमा बजेटमा मनपरी गरिएको भन्दै सांसदहरुले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रीको राजीनामा माग गरेका छन् ।

Advertisement

सत्तारुढ दलकै कारण लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा किचलो अझै कायम छ । विपक्षीसँगै सत्ता पक्षकै सांसदले बजेट पुनर्लेखन गर्न माग गरेपछि पारित हुनुपर्ने बजेट असार १ गतेपछि अलपत्र थियो । यो बीचमा असार ९ गते बैठक बसे पनि अबरुद्ध भएपछि सर्यो । यसपछि पटक–पटक आह्वना भए पनि प्रदेशसभा बैठक बस्न सकेन । आइतबार बसेको बैठकमा पनि प्रदेश सभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की र भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीको राजनीनामा माग गरेका छन् ।

बैठकको सुरुमै प्रतिपक्ष दलको विरोधपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । सुरुमै प्रतिपक्षका सांसद इन्द्रजित थारुले बजेट विभेदकारी भएको भन्दै यसलाई स्वीकारेर जान नसकिने बताए । यसपछि सत्ता र प्रतिपक्षबीच बैठक बसेको थियो ।

मुख्यमन्त्री चेतनारायाण आचार्यले बैठकमा बजेटमा छुटेका योजना समावेस गर्ने प्रतिबद्धता जनाएपछि बैठक पुनः सुरु भयो । उनले छुटेका योजनालाई विभिन्न शीर्षकबा सम्बोधन गर्ने र बहुवर्षीय लैजाने जनाए ।

पुनः बसेको बैठकमा छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यले सरकारको आलोचना गरेका छन् । लामो समय बजेटमाथिको छलफल रोकिनु र बल्लतल्ल सुरु भएको बैठकमा पनि मन्त्रीको राजीनामा माग भएपछि लुम्बिनी सरकारको बजेटको किचलो छताछुल्ल भएको छ । सरकारले आगामी वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । आइतबारबाट बजेटमाथिको छलफल त प्रारम्भ भएको छ । तर, मन्त्रीद्वय कार्की र खत्रीको बजेटमाथिको रजगजबारे सत्ता पक्षकै सांसद असन्तुष्ट छन् ।

प्रतिपक्ष झनै आक्रमक बनिरहेका छन् । बैठक सुरु भए पनि सरकार र मन्त्रीलाई प्रदेशसभा सदस्यहरुले घोचपेच गरिरहेका छन् । सत्ता पक्षकै सांसद भोजप्रसाद श्रेष्ठ, नीमा गिरी, विष्णुप्रसाद पन्थीले पनि बजेटप्रति असन्तुष्टि जनाउँदै आलोचना गरे । प्रतिपक्षकी सांसद तारा थापाले मन्त्री कार्की र खत्रीको राजीनामै मागिन् ।

सत्ता पक्ष र प्रतिपक्षी दलहरु नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले बजेट असन्तुलित, नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता र सिद्धान्तसँग मेल नखाने गरी आएको भन्दै आलोचना गरिरहेका छन् । लुम्बिनीमा नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपालको संयुक्त सरकार छ । बजेट आउनुभन्दा केही समय अघि मात्रै एमालेबाट सरकारमा सहभागी मन्त्री परिवर्तन भएका थिए ।

लुम्बिनीमा पूर्वसहमती अनुसार नेपाली काँग्रेसले मुख्यमन्त्री आफूले पाउनुपर्ने माग गरिरहेको छ । यही बेला बजेटमा मन्त्रीहरुले मनपरी गरेपछि काँग्रेसलाई थप बल पुगिरहेको छ । लुम्बिनी सरकारले दीर्घकालीन योजना भन्दा टुक्रे योजनालाई प्राथमिकता दिँदा विगतमा पनि सांसदहरुले बजेटमा असन्तुष्टि जनाउँदै आएका थिए । यसपटक पनि त्यसले निरन्तरता पाएको छ ।