July 7, 2026, Tuesday
२०८३ असार २३ मंगलवार

लुम्बिनीको पर्यटन प्रवर्द्धनमा एक्लिएपछि जाग्दै पर्यटन व्यवसायी

Advertisement

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनका लागि केही समयदेखि बहस भइरहेको छ । रुपन्देहीमा सहरपिच्छे व्यवसायिक संघसंस्था गठन गर्नुभन्दा लुम्बिनीको नाममा एउटैं संस्था निर्माण गर्नेबारे बहस चलिरहेको छ । तर, यस्तो पहल सफल हुन सकेको छैन । अहिले रुपन्देहीमा बुटवल, सिद्धार्थनगर, लुम्बिनी, तिलोत्तमा, सैनामैनामा फरक–फरक संस्था क्रियाशील छन् ।

Advertisement

‘हाम्रा लागि लुम्बिनी नै मुख्य पर्यटकीय स्थल हो, लुम्बिनीलाई केन्द्रमा राखेर समग्र पर्यटन प्रवद्र्धनका काम गरिनुपर्छ,’ रुपन्देहीका अग्रज पर्यटन व्यवसायी गोपाल रानाले भने, ‘तर, लुम्बिनीलाई छाता बनाएर त्यसमुनी सबैं पर्यटन व्यवसायी गोलबद्ध हुने प्रयास सफल भइरहेको छैन ।’ सबै पर्यटन व्यवसायी एकजुट भएको खण्डमा मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एकीकृत पहल गर्न सकिने उनको भनाई छ । अहिले कायम रहेका संस्थाका प्रतिनिधिबीच सहमती हुन नसक्दा ढिलाई भएको उनले बताए ।

जिल्लामा नेपालीज होटलियर्स एशोसियन, सिद्धार्थ होटल संघ, लुम्बिनी होटल संघ, होटल व्यवसायी संघ र विभिन्न होटल तथा रेष्टुरेन्ट संघ छन् । सबै संस्थाले आ–आफ्नै किसिमले कार्यक्रम गरिरहेका छन् । पछिल्लो समय रुपन्देहीमा चार र पाँचतारे होटल सञ्चालनको लहर छ । क्यासिनो सहितका ठूला होटल सञ्चालन भइरहेका छन् । होटल व्यवसायमा लगानी ओइरिए पनि पर्यटन प्रवर्द्धन नहुँदा पाहुन अभाव भइरहेको व्यवसायी बताउँछन् । ‘अहिलेसम्म एकीकृत ढंगले व्यवसाय प्रव््द्धनको काम हुन सकेको छैन,’ लुम्बिनीमा रहेको होटल कासाईका प्रबन्धक प्रज्वल कार्कीले भने, ‘अब आफ्नै तर्फबाट पनि प्रवर्द्धनका काम जरुरी भएका छन् ।’

जिल्लास्थित स्थापित व्यवसायीका अनुसार लुम्बिनीलाई नै ब्राण्ड बनाएर समग्र पर्यटन प्रवर्द्धन आवश्यक छ । लुम्बिनीमा अहिले नयाँ र ठूला होटल सञ्चालन हुन थालेका छन् । त्यसपछि स्थानीय व्यवसायीले आफै प्रवर्द्धनका कार्यक्रम सुरु गरेका छन् । लुम्बिनी होटल संघले भारतका विभिन्न सहरबाट ट्राभल्स र टुर अपरेटर्स बोलाएर बुद्ध जन्मस्थलको प्रव््द्धनका लागि साझा कार्यक्रम आयोजना गरेका छन् ।

लुम्बिनी र बनारसबीच पर्यटन प्रवर्द्धन गर्दै यी क्षेत्रलाई थप पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले लुम्बिनीमा लुम्बिनी–बनारस बीटूबी ट्राभल मार्ट तथा फ्याम ट्रिप सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको अध्यात्मिकतालाई भारतको सांस्कृतिक राजधानी मानिने बनारससम्म जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको छ ।

कतैबाट कुनै सहयोग नलिएर लुम्बिनी होटल संघले आफ्नै पहलमा थालेको यो कार्यक्रममा भारतको बनारसका साथै दिल्ली, लखनउ र बोधगयाका ४० जना सानाठूला ट्राभल एण्ड टूर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियर सहभागी छन् । कार्यक्रममा लुम्बिनी र बनारसका ट्राभल एण्ड टूर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियरबीच छलफल, अन्तक्र्रिया र होटलका प्याकेज र सुविधाका बारेमा छलफल हुने लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले बताए । ‘दुवै ठाउँका होटलका प्याकेजहरू आदान–प्रदान हुन्छन्,’ उनले भने, ‘यसले जसलाई जहाँ सुविधा भयो, त्यही होटलमा पाहुना पठाउँछन् ।’

सोमबार मध्याह्नबाट सुरु भएको ट्राभल मार्ट बुधबार सकिनेछ । लुम्बिनीमा निजी स्तरबाट सञ्चालन भएको यो पहिलो ट्राभल मार्ट पनि हो । यसले लुम्बिनीको पर्यटन प्रव््द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाल–भारतबीच धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न थप सहयोग हुने लुम्बिनी होटल संघका सल्लाहकार खिम श्रेष्ठले बताए । कतै कुनै सहयोग नदिई स्वःस्फूर्त रूपमा लुम्बिनीकै होटल व्यवसायीले आफ्नो होटलमा बास र खानाको प्रबन्ध गरी पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरिएको उनले बताए । लुम्बिनीमा चारतारेदेखि बजेट फ्रेन्डली ८३ वटा होटल र रेस्टुरेन्ट छन् ।