बर्डफ्लुको त्रासबीच भैरहवाका सडकमा असरल्ल कुखुराका प्वाँख


भैरहवा– सिरसिरे बतासबीच सिद्धार्थनगर नगरपालिका–६, स्थित चिल्ड्रेन पार्क रोडमा मर्निङवाक गर्ने ओहोरदोहोर गरिरहेका थिए । कसैले हातमा लौरा समाएका थिए । कोही लामा–लामा पाइला चालेर हिंडिरहेका थिए । कोही आफ्नै तालमा मस्त थिए । उक्त सडकमा मंगलबार बिहान साढे ५ बजे एक व्यक्ति नाक थुनेर हिंडिरहेका थिए ।
सडकको पश्चिमी किनारबाट यात्रा गरिरहेका ती व्यक्तिको अनुहारमा आक्रोश र डर थियो । सडकमै फोहोर देखेपछि उनको दिमाग तातिएको भान हुन्थ्यो । सिद्धार्थनगर–६, स्थित पौवा होटलको दक्षिण पूर्वी र रुपन्देहीका पाका नेता सर्वेन्द्रनाथ शुक्लाको घरको उत्तर पश्चिम कुनामा केही महिनादेखि फोहोरको थुप्रो देखिन्छ । मंगलबारको दृश्य अलिक फरक थियो । अरु दिन प्लाष्टिकको पोकोमा हुने फोहोर मंगलरबार असरल्ल थियो ।
‘कुखुराका प्वाँख र अरु अंग पोको पारेर फालेका रहेछन्,’ मर्निङ वाकमा भेटिएका ती व्यक्तिले भने, ‘यस्तो बर्डफ्लुको त्रास छ । सबैतिर कुखुरा मरिरहेका छन् । भैरहवाको मध्य भागमा यसरी असरल्ल कुुखुराका प्वाँख लगायत फोहोर फ्याँकिनु लापरबाही हो । यसबाट संक्रमण फैलिएमा को जिम्मेवार हुन्छ ?’ दुई वटा कागले फोहोर उधिनिरहेका थिए । प्लाष्टिकमा प्वाल पारेर ठुण चलाइरहेका थिए । ती पंक्षी यति मग्न थिए कि बटुवा नजिक पुग्दा समेत उडेनन् ।
स्थानीय बासिन्दाले पनि नियमित त्यहीँ स्थानमा फोहोर फ्याँक्ने गरिएकोमा आक्रोश पोखे । त्यसै पनि सिद्धार्थनगरको फोहोर संकलन प्रभावकारी छैन । कुहिने र नकुहिने फोहोर संकलनका लागि सातामा एक दिन नगरपालिकाको ट्याक्टर घर–घर पुग्न थालेको छ । यस्तो बेला सहरका खाली र सुनसान स्थानमा यसरी फोहोर फ्याँक्ने गरिएको छ ।

‘नाम चलेको पौवा होटलको पर्खाल बाहिर फोहोर जम्मा हुन्छ,’ एक स्थानीयले भने, ‘वरिपरिका घरबाट त्यही फोहोर फाल्ने गरिएको छ । होटलबाट निस्किने फोहोर होटल आफैले व्यवस्थापन गरेको छ । तर, नियमन नहुँदा स्थानीयले सडकमै फोहोर फालिरहेका छन् । झन रुपन्देहीका पुराना नेता शुक्लाको आँगन बाहिरपट्टि दुर्गन्ध फैलिएको छ ।’
वडा र नगरपालिकासित फोहोर फ्याँक्ने मानिस पत्ता लगाएर कारबाही गर्न माग गरे पनि सुनुवाई नभएको स्थानीय बासिन्दाले दुखेसो पोखे । आसपास बस्ती र पार्टी प्यालेस छन् । फोहोर फ्याँक्ने गरिएको स्थान फुटपाट हो । त्यहीँ मार्ग भएर दिनहुँ सयौं व्यक्ति ओहोरदोहोर गर्छन् । सवारी साधन गुड्छन् । तर, आधा सडकभरि फिँजिएको सडक उठाउने र सफा गर्ने विषयमा कोही चिन्तित देखिँदैन । ‘बटुवाले नाक थुन्नुपर्ने अवस्था छिट्टैं अन्त्य होस्,’ अर्का स्थानीयले भने, ‘सिद्धार्थ नगरपालिका होइन, फोहोर पालिका बन्दै छ ।’








प्रतिकृया दिनुहोस्