राहदानी प्रकरणमा फाइल मगाएर अध्ययन गर्नुपर्छः सांसद थापा


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम थापाले राहदानी (पासपोर्ट) छपाइमा भएको अनियमितताको विषयमा समितिले तत्काल छानबिन थाल्नु पर्ने बताए ।
मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद थापाले राहदानी विभागको फाइल तत्काल समितिमा मगाएर अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले राहदानी छपाइको निर्णय प्रक्रियामा कसको के नियत थियो र यसले राज्यलाई कति क्षति पुर्यायो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए।
बैठकमा सांसद थापाले भने, “अहिले बजारमा चर्चामा रहेको पछिल्लो तात्तातो काण्ड भनेको राहदानी छपाइ हो । त्यो फाइल हामीले हेर्न मिल्ने हो कि होइन? यदि मिल्छ भने तत्काल मगाऔँ । कसको नियत के थियो, निर्णयहरू नीतिगत रूपमा गरिएका थिए कि नियतवश गरिएका थिए, त्यसले राज्यलाई कति हानि–नोक्सानी भयो भन्ने कुराको गहिरो अध्ययन जरुरी छ ।”
सांसद थापाले राहदानीको अभावले गर्दा वैदेशिक रोजगारीमा जाने र अन्य प्रयोजनका लागि बाहिर जानुपर्ने नागरिकहरूले ठुलो सास्ती भोगिरहेको उल्लेख गरे ।
“रेमिट्यान्सले चलेको देशमा नागरिकले पासपोर्ट नपाउने अवस्था सिर्जना हुनु दु:खद हो,” उनले भने, “यसले एकातिर सेवाग्राहीलाई समस्या भएको छ भने अर्कोतिर यो प्रक्रियामा संलग्नहरूको संलग्नतामाथि पनि प्रश्न उठेको छ ।”
लेखा समिति परम्परा धान्ने निकाय मात्र बन्न नहुने भन्दै थापाले प्रणालीभित्रै पसेर काम गर्नुपर्ने सुझाव दिए । उनले भने, “हामी समितिको संख्या पुर्याउन वा बैठक बस्न मात्र यहाँ आएका होइनौँ, हामी प्रणाली (सिस्टम) भित्रै छिर्नुपर्छ । बाहिर–बाहिर मात्रै छलफल गरेर हुँदैन, बीचमा हात हाल्नुपर्छ र यो आँट समितिले गर्नुपर्छ ।”
सांसद थापाले भ्रष्टाचारका पुराना फाइलहरू र हाल चर्चामा रहेका विषयहरूमाथि समितिले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने माग समेत गरे ।








प्रतिकृया दिनुहोस्