June 5, 2026, Friday
२०८३ जेष्ठ २२ शुक्रबार

वन तथा वातावरण संरक्षण साझा दायित्वः मुख्यमन्त्री आचार्य

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताएका छन् । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने जनाएका हुन् ।

Advertisement

उनले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै जानु तथा फोहोरमैला र प्रदूषणको मात्रा बढ्नु वातावरणीय असन्तुलनका प्रमुख कारण भएको बताए । मुख्यमन्त्री आचार्यले वातावरणीय चुनौतीहरूको सामना गर्न प्रदेश सरकारले अनुकूलनका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । जलवायु परिवर्तनको प्रत्यक्ष असर रैथाने कृषि र खाद्य सुरक्षामा परिरहेको उल्लेख गर्दै उहाँले वन तथा वातावरण संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार पानीका मुहानहरूको संरक्षण, व्यापक वृक्षारोपण, प्राकृतिक जलभण्डारणका लागि संरक्षण पोखरी निर्माण तथा वातावरणमैत्री जीवनशैलीको प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता हो । यी क्षेत्रमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको पनि उनले बताए । मुख्यमन्त्री आचार्यले सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानमा नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले वातावरणमैत्री व्यवहार अपनाई प्रकृति संरक्षणमा योगदान दिन सम्पूर्ण प्रदेशवासीलाई अपिल गरे ।

विश्व वातावरण दिवसले प्रकृति र मानव जीवनबीचको सन्तुलनको महत्व बुझ्न तथा पृथ्वीको सुरक्षाका लागि सामूहिक रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबैमा शुभकामना व्यक्त गरेका छन् ।