थारु भाषामा पठनपाठन हुने गरि दाङमा विद्यालय सञ्चालन


दाङ– आधारभूत तहसम्म थारु मातृभाषामा पठनपाठन हुने गरि दाङ जिल्लामा पहिलोपटक एक विद्यालय सञ्चालनमा ल्याइएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियास्थित थारु मातृ भाषिक आधारभूत बिद्यालयलाई थारु भाषामा पठन पाठन हुने गरि सञ्चालनमा ल्याइएको हो ।
उक्त बिद्यालयमा शिशु कक्षादेखि कक्षा ४ सम्म थारू भाषामै अध्यापन सुरु गरिएको छ । विद्यालयका प्रधानाध्यापक किरण चौधरीले विद्यालयमा अध्ययनरत ७१ जना विद्यार्थीमध्ये ६७ जना थारू समुदायको रहेको बताए । उनका अनुसार, स्थानीय बालबालिकालाई मातृभाषामै शिक्षा दिने उद्देश्यले विद्यालयमा थारू भाषाबाट पठनपाठन सञ्चालन गरिएको हो ।
थारू भाषामा विद्यालय सञ्चालनका लागि स्थानीय रोहित चौधरीले पहल गरेका हुन् । तीन वर्षअघि विद्यालय सञ्चालनको अनुमति माग गर्दै उनले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएका थिए ।
उनले दिएको निवेदनमाथि उपमहानगरपालिकाको ४७ औँ कार्यपालिका बैठकले दक्षिण कुरहरियामा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले थारू राजा दङ्गीशरणको ऐतिहासिक विरासतसँग जोडिएको क्षेत्र भएकाले थारू भाषा, संस्कृति र पहिचान संरक्षणका लागि विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको बताए । विद्यालयलाई गुठीको अवधारणा अनुसार सञ्चालन गर्न उपमहानगरपालिकाले अनुमति दिएको हो । पालिकाको तर्फबाट स्वयंसेवक शिक्षकको व्यवस्था गरिने जानकारी नगरप्रमुख खड्काले दिए ।
विद्यालयमा हाल आठ जना शिक्षकशिक्षिका र एक जना कार्यालय सहयोगी कार्यरत छन् । उनहिरु सवैजना थारू समुदायका हुन् । थारू मातृभाषिक विद्यालय सञ्चालनका अभियन्ता रोहित चौधरीले विद्यालय वरपर करिब चार सय घरधुरी चौधरी समुदायको बसोबास रहेकाले मातृभाषामा शिक्षा दिनु अझ प्रभावकारी हुने बताएका छन् ।








प्रतिकृया दिनुहोस्