रूपन्देहीका पालिकामा रास्वपाको नयाँ नेतृत्व, आइतबार जिल्ला अधिवेशन


भैरहवा– नयाँ नेतृत्व चयन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीका १६ मध्ये बिहीबारसम्म १४ पालिका अधिवेशन पूरा गरेको छ । ती पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । रास्वपा संगठन विभाग प्रमुख ज्ञानेन्द्र पाण्डेले १४ मध्ये ६ स्थानीय तहमा निर्विरोध र ९ वटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको बताए ।
यसअघि जिल्ला सह–सचिव रहेका पाण्डे संगठन विभाग प्रमुख थिए । यसपटक आफूले जिल्ला सचिवमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । उनका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको अधिवेशन हुन बाँकी छ । मर्चवारी, सम्मरीमाई, मायादेवी, शुद्धोधन, सियारी गाउँपालिका र सैनामैना नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, देवदह नगरपालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ । ओमसतिया, कञ्चन, कोटहीमाई, रोहिणी र गैडहवा गाउँपालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएको छ ।
रास्वपा जिल्ला कोषाध्यक्ष रचना क्षेत्रीले पनि लामो समय संगठन विस्तारमा काम गरेको जनाउँदैं अब जिल्ला उपसभापतिमा उम्मेदवार बन्ने निर्णय गरेको बताइन् । रास्वपाको जिल्ला अधिवेशन आइतबार मणिग्राममा आयोजना हुँदैछ । सिद्धार्थनगर जस्तो जिल्लाको केन्द्रमा संगठन विस्तार गरेर पार्टीलाई अहिलको अवस्थामा पुर्याउन भूमिका खेलेको जनाउँदै उनले उपसभापतिमा उम्मेदवारी दिने बताइन् । ‘नागरिकका सुखदुःखसित घुलमिल भएकी छुँ,’ उनले भनिन्, ‘अहिलेसम्म पीडितको आवाज बने । अव नेतृत्व गर्ने बेला भयो ।’
जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको संगठन प्रमुख पाण्डेले बताए । ‘पार्टीलाई यहाँसम्म ल्याइयो,’ पाण्डेले भने, ‘विभिन्न दलबाट आएका साथीहरुलाई समेटेर अगाडि बढनु पर्ने छ । जिल्ला अधिवेशनमा पनि सबैलाई समेटेर जानु पर्नेछ ।’ अधिकांश स्थानीय तहमा निर्वाचनबाट नयाँ नेतृत्वमा आएको उनले बताए । ‘सबै दलमा रूपन्देही नेताका लागि उर्वर भूमि हो,’ उनले भने, ‘त्यो समस्या हाम्रोमा पनि उस्तै छ, त्यसैले धेरै स्थानमा सर्वसम्मतको प्रयास गर्दा पनि सकिएन, निर्वाचनबाटै नेतृत्व चयन गरेका छौं ।’
निर्वाचन भएका केही स्थानमा सभापतिका लागि मात्र, केहीमा पदाधिकारीका लागि र धेरैमा सदस्यसहित निर्वाचनबाट नयाँ समितिहरु गठन भएको उनले बताए । आइतबारसम्ममा लुम्बिनी सांस्कृतिक नगरपालिकाको पनि अधिवेशन गरेर सोमबार जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको रास्वपाले जनाएको छ ।








प्रतिकृया दिनुहोस्