बेचिएका नेपाली चेलीहरुको उद्धार गर्न बिशेष अभियान संचालन गर्न सांसद पौडेलको माग


भैरहवा–प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले भारतका विभिन्न सहरहरूमा बेचिएका नेपाली चेलीहरूको तत्काल उद्धारका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले भारतमा बेचिएका नेपाली सवै महिला तथा युवतीको खोज तथा उद्धार गरि उनीहरुको सुरक्षित स्वदेश फिर्ती र पुनस्र्थापनाको प्रभावकारी व्यवस्था गर्न माग गरेकी हुन् । भारतस्थित नेपाली दूतावास, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गरी भारतमा बेचिएका र जोखिममा रहेका नेपाली चेलीहरूको खोज र उद्धारका लागि तत्काल विशेष अभियान सञ्चालन गर्नु पर्ने बताएकी छन् ।
उनले हालै नुवाकोटका दुई नाबालिकाको भारतको कोलकातास्थित सोनागाछीबाट उद्धार गरिएको पीडादायी र हृदयविदारक घटनापनि संसद् समक्ष राखिन् । नेपाली चेलीहरूलाई प्रलोभनमा पारी बेच्ने अपराधमा संलग्न दलाल र गिरोहलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिलाउनु पर्ने मागपनि उनले गरीन् ।
उनका अनुसार, नुवाकोटका १४–१५ बर्षका दुई नेपाली किशोरी भारतको कलकत्तास्थित सोनागाछीमा बेचिएका अवस्थामा फेला परे । दुई वर्षसम्म कोठामा थुनेर, औषधि र हर्मोन प्रयोग गरी पीडा सहन बाध्य बनाइएका ती बालिकाहरूलाई नेपाली राजदूतावास र मानव बेच बिखन बिरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ को सहयोगमा उद्धार गरी नेपाल ल्याइएको छ ।
‘यो घटना त केवल एउटा प्रतिनिधि उदाहरण मात्र हो र मानव बेचबिखनको भित्री अवस्था अझ भयावह छ’ संसद मार्फत् सरकारको ध्यानाकर्षण गराउदै उनले भनिन्, ‘यो विषय केवल मानव बेचबिखन मात्र नभई सम्पूर्ण नेपाली समाज, मानवता र राज्यकै संवेदनामाथिको ठुलो चुनौती हो ।’
उद्धार गरिएका ती बालिकाहरूले दिएको जानकारी उद्धृत गर्दै उनले भारतको दिल्ली, मुम्बई, कलकत्ता, पुने लगायतका भारतीय सहरहरूमा अझै पनि थुप्रै नेपाली किशोरीहरू नरकजस्तो जीवन बाँच्न बाध्य रहेको उनले जनाइन् । उद्धार गरिएका चेलीहरूको सुरक्षित स्वदेश फिर्ती मात्र नभई उनीहरूको शिक्षा, स्वास्थ्य, मनोसामाजिक उपचार र सम्मानजनक पुनर्जीवन सुनिश्चित गरिनु पर्ने माग उनको थियो । ‘अब कुनै पनि नेपाली चेली बेचिन नपरोस्, कुनै आमाबुबाले आफ्नी छोरीको खबर खोज्दै रुन नपरोस्’, उनले भनिन्, ‘यसतर्फ सरकारको गम्भीर र तत्काल ध्यानाकर्षण गराउन चाहन्छु ।’








प्रतिकृया दिनुहोस्