कथाः आत्महत्या


म लामो समयदेखि यो कुरा सोचिरहेको थिएँ, तर हिम्मत जुटाउन सकिरहेको थिइनँ । त्यो दिन मैले एउटा कठोर निर्णय लिएँ । अरू कुनै उपाय सम्भव लागेन । त्यो ठाउँको सबैभन्दा अग्लो भवन नजिकैको एउटा शपिङमल थियो ।
साँझ म त्यसैको छतमा गएँ । शुरूमा त त्यहाँको सुरक्षा गार्डले मलाई जान दिएन, तर पछि फोटो खिच्न जाने हो भनी फकाएपछि उसले जान दियो । म छतको छेउमा गएँ र तल हेर्दै गर्दा मेरा खुट्टाहरू काम्न थाले । मैले जुटाएको सारा हिम्मत हावामा उडेर गयो । धेरै दिनदेखिको त्यो सनक अचानक गायब भयो ।
‘अब त म फर्कन्छु’ भनेर सोच्दै थिएँ, अचानक पछाडिबाट गार्ड जोडले कराए, ‘ए ! ए भाइ, के गर्न लागेको ? चाँडै त्यो छेउबाट तल झर !’
म निकै आत्तिएँ । यत्तिकैमा सबैतिर एकैछिन अन्धकार छायो । म बेहोश भएँ जस्तो लाग्यो । केही क्षणपछि असह्य पीडा भयो, तर त्यो केही बेरमै हराएर गयो ।
मलाई होश आयो । शरीरमा कुनै चोट थिएन । म सकुशल थिएँ । हातखुट्टा जस्ताको त्यस्तै थिए । मानिसहरू मलाई नै हेरिरहेका थिए । उनीहरूले बोलेको कुरा मैले सुनिरहेको थिएँ । त्यहाँ प्रहरी पनि आएको रहेछ । अनि म उभिएको ठाउँमा रगत पनि थियो । मलाई अचम्म लाग्यो, किनकि मलाई कुनै चोट लागेको थिएन, तर पनि त्यहाँ रगत थियो ।
मैले प्रहरीको गाडीतिर हेरेँ, कसैको लाश लगिँदै थियो । हतार-हतार त्यहाँ पुगेँ । त्यो त मै थिएँ । मैले सबैको अनुहारमा हेरेँ, केही प्रश्न सोधेँ, तर कसैले पनि मलाई सुनेनन् ।
‘कस्तो कायर रहेछ !’ एक जना मानिसले भन्दै थियो । उसले मनमा सोचेको कुरा पनि मैले सुनिरहेको थिएँ । मेरो मृत्यु भइसकेको रहेछ । म जोडले रुन खोजेँ, तर रुनै सकिनँ । पीडा मात्र महसूस भइरहेको थियो । आँसुको एक थोपा पनि झरेन । भावनाहरू मात्र बाँकी थिए तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । त्यसैले, पूरै शरीरलाई आगोमा राखेर पोलेको जस्तो अनुभव हुँदै थियो ।
म जोडले कराएँ, ‘सुन्नुस् त ! कोही त मेरो आवाज सुन ! म कायर होइन, म कायर होइन । मात्र मेरो समय थिएन, म हारिसकेको थिएँ ।’
म चिच्याउँदै थिएँ, तर पनि कसैले सुनेको जस्तो लागेन । यत्तिकैमा एक जना बूढा मानिस मेरो छेउमा आए । उनले मेरो टाउकोमा हात राखेर सुम्सुम्याए र भने, ‘के भयो बाबु, किन यति पीडामा छौ ? किन रोएको ? किन कराएको ?’
म डराएर पर गएँ । ती बूढा मेरै नजिक आए । ‘भूत ! भूत ! भूत !’ म अझ भाग्दै गएँ । ती बूढा म सँगसँगै भाग्न थाले । केही बेरपछि मैले हार मानेँ र एक ठाउँमा बसेँ । ती बूढा मेरै नजिक आए ।
‘किन भागेको बाबु ? तिमी र म त उस्तै हौँ, होइन र ? किन डराएको ?’ मेरै नजिक बसेर ती बूढा मलाई सम्झाउन थाले । ‘यहाँ आएपछि सबै बराबर हुन्छन्, कसैसँग भाग्नु पर्दैन, मात्र आफ्नो कर्मसँग भाग्नुपर्छ । तिमी पनि आत्मा, म पनि आत्मा, अनि किन डराउनु ? बरु, यस्तो अल्पायुमै कसरी यहाँ आइपुग्यौ ?’
बल्ल म केही शान्त भएँ । ‘मेरै कर्मले आएँ, मेरै सोचले आएँ बा । कस्तो कायर रहेछु ! सास छउन्जेल केही त गर्न सकिन्थ्यो नि ! नसके पनि कोशिश गरेकोमा आत्मसन्तुष्टि त हुन्थ्यो नि ! बेकारमा प्रयासका खुड्किला नै नचढी अनेक सम्भावनाको विरासत बिसर्जन गरेँ ।’
म भन्दै गएँ, ‘सबै कुरा पुगेकै थियो । म श्वेतालाई औधी नै प्रेम गर्थेँ । श्वेता मेरी श्रीमतीको नाम हो । दुई वर्षको प्रेमपछि हामीले विवाह गरेका थियौँ । सबै जना खुशी नै थिए । परिवारको सहमतिमा गरिएको विवाह थियो । सबै राम्रै चलिरहेको थियो । श्वेता र म निकै खुशी थियौँ । हामी कोटेश्वरमा कोठा लिएर बसेका थियौँ । मेरो जागीर एउटा राम्रो बैंकमा थियो र तलब पनि राम्रो थियो । श्वेता इन्जिनियरिङको अन्तिम वर्षमा थिइन् । एक दिन श्वेताले स्नातक सकेपछि थप पढाइका लागि विदेश जाने कुरा गरिन् । मैले हुँदैन भनेँ । बरु यतै बसेर केही गर्न भनेँ । तर उसले जिद्दी गर्न थालिन् । त्यस दिनदेखि हामीबीच बोलचाल कम हुन थाल्यो । सधैँ झगडा हुन थाल्यो र एक दिन त उनले डिभोर्स नै मागिन् । म अलमलमा परें । मैले केही सोच्न सकिनँ । टोलाएरै हुन्छ भनेँ । हामीबीच डिभोर्स हुने भयो । मलाई रातदिन छटपटी हुन थाल्यो । सोच्ने शक्ति नै हराउन थाल्यो । खान मन नलाग्ने र राम्ररी निद्रा नलाग्ने हुन थाल्यो । मैले कोठामा जानै छोडिदिएँ । अनि मनमा आत्महत्याको सोच आउन थाल्यो । त्यसैले त्यो मलमा गएको । अहिले तपाईंसँग छु । भोलि हाम्रो डिभोर्सको अन्तिम प्रक्रिया छ ।’
बूढाले सबै कुरा सुने र टाउकोमा हात राख्दै भने, ‘धत् लाटा ! यस्तो गर्न हुन्थ्यो त ? आफ्नो घरको बारेमा सोच त ! अनि आफ्ना बा, आमा, दाजु, बहिनी सबैको हालत के होला ? तिमी त स्वार्थी भयौ है बाबु ! अनि तिम्रो उमेर कति हो ?’
‘२९ वर्ष,’ मैले लामो सुस्केरासँगै भनेँ ।
‘मलाई हेर, उमेर भएको भए अझै बाँच्थेँ । घरमा दुई छोरा थिए, अनि नातिनातिनाहरू पनि थिए । कस्तो रमाइलो थियो ! हो, शरीरले दुःख दिए पनि त्यो खुसीले मेरो दुखाइ सबै निको पार्थ्यो । कहिलेकाहीँ झगडा पनि हुन्थ्यो, तर ती कुरा सम्झेर पछि मजाले हाँसिन्थ्यो । तर के गर्नु, भगवानले बोलाइहाले मलाई,’ बूढाले दुःख मान्दै भने ।
मलाई एकपटक घर जाने विचार आयो ।
‘बा, घर जान के गर्ने ? अब त आत्मा भइयो, उड्न पनि सकिन्छ त ?’ मैले बूढालाई सोधेँ ।
‘हाहा, सकिन्छ, नसकिने त होइन, तर त्यसको एउटा विधि छ,’ बूढाले मलाई सबै कुरा सिकाए ।
म सरर उडेर घर पुगेँ । घर पुगेपछि त मलाई थेग्नै नसकिने पीडा भयो । बा रोइरहेका थिए । आमा मूर्छा पर्नुभएको थियो । श्वेता पनि त्यहीँ थिइन् । उनी त झन् असह्य पीडामा थिइन् । सबै दोष आफ्नै हो भन्दै रोइरहेकी थिइन् । मलाई सारै नराम्रो लाग्यो । उनलाई सम्हाल्ने थिएँ तर म त्यो पनि गर्न असमर्थ थिएँ ।
‘मैले गर्दा कति धेरै जनाले दुःख पाउनु पऱ्यो । धिक्कार छ मलाई !’ मलाई आत्मग्लानि भयो ।
‘देख्यौ तिमीले कति जनाको खुशी खोस्यौ !’ ती बूढा पनि मेरै पछि आएका रहेछन् ।
केही बेरमा मेरो लाश ल्याइयो र त्यहाँ राखियो । अनि घाट लैजाने तयारी भयो । त्यो दृश्य अति नै दर्दनाक थियो । छोराले काँध दिने ठाउँमा बाले काँध दिँदै थिए । केही समयपछि लाश घाट पुग्यो । दाजुले दागबत्ती दिए । मेरो शरीर आगोले पोल्न थाल्यो । मेरो आत्मा पनि पोलेको अनुभव हुन थाल्यो ।
‘के भयो बा यस्तो ? मेरो त पूरै आत्मा नै पोल्दै छ त ! असह्य पीडा हुन थाल्यो ।’ मैले छटपटाउँदै ती बूढालाई सोधेँ ।
‘यो त तिम्रो कर्मको फल हो । सबैलाई रुवाएर, कुनै राम्रो कर्म नगरी भगवानको सुन्दर कल्पना, तिम्रो जीवन, तुच्छ सम्झेर फालेकाले यस्तो हुँदैछ । यो त अब सहनु नै पर्छ । यो त शुरूवात मात्र हो ।’
ती बूढाले मेरो कुकृत्यप्रति व्यङ्ग्य गर्दै भने, ‘हेर मलाई त केही भएन । मलाई त हरेक सुविधा पनि मिल्छ यस लोकमा । म त केही दिन घुम्न आएको हो यो ठाउँमा, नत्र त स्वर्गमा छ घर त मेरो । आफ्नो जीवनसँग सङ्घर्ष गरेर राम्रो काम गर्नेले यस्तो पीडा सहनु पर्दैन । तर तिमीले त अब तिम्रो लागि पहिला छुट्याएर राखेको जीवन नसकिँदासम्म यस्तै पीडाहरू सहनुपर्छ ।’ बूढा जोडले हाँसे र त्यहाँबाट गायब भए ।
‘ए बा, कता गएको ? मलाई एक्लै छोडेर, अब कोसँग बोल्ने, कोसँग पीडा बाँड्ने ? ए बा, ए बा ? ? ! !’ ती बूढाले मेरो कुरा सुनेनन् । मलाई अझै पोल्दै थियो । पूरै आत्मा भत्भती हुँदै थियो ।
‘एकपटक मात्र फर्किन पाए हुन्थ्यो’ भनेर सोच्न थालेँ, तर त्यो असम्भव थियो । मलाई सबैका अनुहार झल्झली याद आउन थाले । आफैँदेखि ग्लानि महसूस हुन थाल्यो । शरीर त पसिना-पसिना हुन थाल्यो । बेसरी तातो अनुभव हुन थाल्यो । एक्कासि हातको औँला खरानी नै भएजस्तो भयो । ‘ऐया… !’ म जोडले कराएँ ।
म ओछ्यानमा थिएँ । झ्यालका सबै पर्दा साथीले खोलेको रहेछ । घाम पूरै ओछ्यानमा परेको थियो । गर्मीको महिना थियो । ‘चिया खाँदैनस् ? अनि अदालत पनि त जानु छ ।’ विवेकले मेरो हातमा चियाको गिलास थमायो ।
विवेक मेरो सहकर्मी मित्र थियो । हामी सँगै काम गर्थ्यौं र मिल्ने साथी पनि थियौँ ।
‘चियाको गिलासले काम गऱ्यो । अघिदेखि के-के गरेर उठाउने प्रयास गर्दै थिएँ । तातो चियाको गिलास हातमा राखिदिएँ, अनि उठिस् ।’ टाउको रन्थनिएर दुख्दै थियो ।
‘विवेक तँ पनि यहाँ ! किन गरिस् यार यो उमेरमा आत्महत्या ? म त यहाँ पश्चात्तापमा पिल्सिएछु ।’
मेरो कुरा सकिन नपाउँदै विवेकले मलाई भन्यो, ‘हैन, के कुरा गर्छ यो ! चाँडो उठ । के आत्महत्या, आत्महत्या गर्छ ! रातभरि पनि के-के बोलिरहेको थियो, सुत्न दिएन । के भयो, श्वेतासँग कुरा मिल्छ भने एकचोटि कुरा गर । यसरी इगो लिएर घर चल्दैन ।’
‘म जिउँदै छु विवेक ?’ मैले झट्ट ओछ्यानबाट उठ्दै भनेँ ।
विवेक अलमलमा पऱ्यो । मैले लामो सास फेरेँ, भगवानलाई धन्यवाद दिएँ र आफ्नो कोठातिर गएँ ।
श्वेताले ढोका खोलिन् । उनी तयार भइसकेकी थिइन् । उनको अनुहार मलिन थियो । यो सबैको कारण मैले आफैँलाई सोचेँ ।
‘श्वेता, मलाई माफ गर । मेरो इगोले गर्दा हामीबीच कत्रो ठूलो खाडल पऱ्यो । मैले तिमीलाई बुझ्न सकिनँ । हाम्रो सम्बन्धले गर्दा पूरै परिवारलाई दुःख भयो । आइ एम सरी !’ मैले केही पनि ढिला नगरी उनीसँग माफी मागेँ ।
श्वेता रुन थालिन् । ‘होइन, तिमी मलाई माफ गर । मैले भन्न मात्र नसकेकी हुँ । मेरो जिद्दीको लागि कति धेरैको मन दुखाएँ । मलाई तिमीसँग बोल्न छोडेदेखि सधैँ एक्लोपनको महसूस भयो । मैले भन्न मात्र नसकेकी हुँ । माफी त मैले माग्नुपर्थ्यो । सरी, हाउ डु आइ एक्स्प्लेन हाउ मच आइ लभ यु ।’ श्वेता पनि त्यही पश्चात्तापमा थिइन् ।
उनी दौडेर मेरोतर्फ आइन् र मलाई जोडले अँगाल्दै रुन थालिन् ।
म बाँचेर आएको थिएँ, वा भनौँ त्यो मेरो नयाँ जन्म थियो जस्तो लाग्दै थियो । अबदेखि समस्यासँग कहिल्यै नहार्ने वाचा गरेँ त्यस दिन ।
पछि मैले त्यो सपनाको बारेमा श्वेतालाई पनि भनेँ । हामीबीच पछि पनि झगडा हुन्थे तर मैले ती सबैलाई नराम्रो सपना भनेर बिर्सिदिन्थेँ । जीवन जितेर संसारमा आएको मानिसले सामान्य समस्यासँग किन हारोस् र ! –sahityapost








प्रतिकृया दिनुहोस्