June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

सिद्धार्थनगर सिटी हस्पिटलमा बीमाबाहक विरामीका लागि विशेष सहुलियत कार्यक्रम

Advertisement

भैरहवा– विभिन्न अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको सेवा लिन बेहोर्नुपर्ने झन्झट र शल्यक्रियाका लागि महिनौँसम्म कुर्नुपर्ने बाध्यतालाई अन्त्य गर्र्न भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले विशेष सहुलियत कार्यक्रम घोषणा गरेको छ ।

Advertisement

अस्पतालले आगामी असार ७ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्डवाहकहरूका लागि बीमा बोर्डले नै निर्धारण गरेको सस्तो शुल्कमा अन्तर्राष्ट्रियस्तरको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो । हाल सरकारी तथा अन्य अस्पतालहरूमा बीमा मार्फत् शल्यक्रिया गराउन दुईदेखि तीन महिनासम्म पालो पर्खिनुपर्ने अवस्था छ । छिटो सेवा लिनका लागि भुक्तानी प्रक्रियामा जाँदा निजी अस्पतालसरह महँगो शुल्क तिर्नुपर्ने हुँदा सर्वसाधारणमाथि ठूलो आर्थिक भार थपिने गरेको यतार्थता अर्कोतर्फ छ ।

बिरामीहरूको यही मर्कालाई मध्यनजर गर्दै सिद्धार्थनगर सिटी हस्पिटलले बीमा कार्ड भएका बिरामीहरूलाई आवश्यक परेको २४ देखि ४८ घण्टाभित्रै शल्यक्रिया सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

अस्पतालका अनुसार यस योजना अन्तर्गत ओपीडी सेवा मात्र ५० रुपैयाँ र जनरल बेड शुल्क दैनिक २ सय रुपैयाँ तोकिएको छ । पित्तथैलीको पत्थरी, एपेन्डिसाइटिस, मिर्गौलाको पत्थरी, हर्निया, पाइल्स, ढाडको समस्या लगायतका विभिन्न शल्यक्रियाहरू बीमा बोर्डले तोकेकै सहुलियत दरमा गरिने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । पौडेलका अनुसार अत्याधुनिक उपकरण तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा सञ्चालित यस अस्पतालले न्युरोसर्जरी, ट्रमा, क्याथ ल्याब (मुटुरोग उपचार), डायलाइसिस, आईसीयू, सीसीयू र स्पाइन सर्जरी जस्ता जटिल एवं विशिष्टिकृत सेवाहरू प्रदान गर्दै आएको छ ।

बीमाका बिरामीहरूले लामो लाइन बस्नुपर्ने र धेरै समयसम्म अस्पतालमा प्रशासनिक अलमल बेहोर्नुपर्ने समस्या समाधानका लागि अस्पतालले विशेष तयारी गरेको हो । ‘सेवालाई छिटोछरितो र पारदर्शी बनाउन अस्पताल परिसरमा छुट्टै काउन्टर, बिरामीलाई सहजीकरण गर्न समन्वय अधिकृत र आधुनिक डिजिटल बिलिङ प्रणालीको व्यवस्था गरिएको छ’, पौडेलले भने, ‘यसबाट बीमित बिरामीहरूले विनाकुनै झन्झट, गुणस्तरीय र सुलभ सेवा पाउने छन् ।’

यसअघि अस्पतालले गत वैशाख १६ गतेदेखि सञ्चालनमा ल्याएको सुलभ स्वास्थ्य कार्यक्रमप्रति पनि बिरामीहरूको आकर्षण बढेको छ । व्यापारिक नाफाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरको प्रविधि र स्वास्थ्य सेवा स्थानीय सर्वसाधारणको सहज पहुँचमा पुर्याउने मुख्य उद्देश्यका साथ यो नयाँ बीमा सहुलियत कार्यक्रम सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष डा.सुबोध पाण्डेले बताए ।

‘यसले आम विरामीलाई निकै सहजता प्रदान गर्नेछ’, उनले भने, ‘भैरहवाको मुख्य बजार क्षेत्रमा रहेको सिटी अस्पतालबाटै यो सेवा पाउँदा धेरै भन्दा धेरै लाभान्वित हुने हाम्रो विश्वास छ ।’ निजी क्षेत्रबाट संचालित यो अस्पतालले विगतदेखि नै गुणस्तरीय रुपमा सर्वसुलभ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डका उपकरणहरु समेत छन् । यहाँ नेपाली, भारतीय र तेस्रो मुलुकका विरामी पनि उपचारमा आउने गरेका छन् ।